८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

लकडाउनमा असिनाले थपेको पीडा : न ओत न खानेकुरा

जनकपुरधाम- चारैतर्फ छेउबाट काठको खम्बाले ठड्याएको पूरानो घर । माथि टुटेफुटेको छानो । घरभित्रबाट माथि हेर्दा छानोमा प्लालै प्वाल परेको छ । केही दिन यता दिनहुँ पानी पर्दा छानो चुहेर लत्ताकपडा र सरसमान भिजेर गन्हाइ रहेको छ । घरमा अन्नपात छैन । झट्ट हेर्दा यो घरमा मानिस बसिरहेको पत्यारै लाग्दैन । तर कुनै बिकल्प नहुँदा अझै त्यहि घरमा बस्न बाध्य छन् वटेश्वर गाउँपालिका–१ चित्रपुरका राजकुमार महतो ।

वैशाखमा घरीघरी हावाहुरीसँगै आउने बर्षाले राजकुमार आतिन्छन् । छोराछोरी डरले कराउँछन् । अनि जसोतसो उनीहरुलाई सम्हाल्दै त्यही प्लालैप्वालको छानो भएको घरमा कसरी रात कट्ने चिन्तामा डुब्छन् राजकुमार र उनको पत्नी कलादेवी । यस्तै बेलामा उनको घरमा साँझ बिहान के खाने, के लाउने सम्मको अवस्था छैन । घरको छानो मर्मत गर्नु राजकुमारको लागि आकाशको फल आँखा तरी मर भन्ने उखान जस्तै हो ।    

लकडाउनमा कामधन्धा बन्द भएपछि ऋण काढेर छाँक जसोतसो टारेकै थिए उनी तर वैशाख १२ गते दिउँसो हावाहुरीसँगै परेको असिनाले उनको घरको छानो (खपडा) फुटेपछि न ओत लाग्ने ठाउँ नहुँदा उनको चैन खोसिएको छ । ‘३६ प्रतिशले ऋण काढेर किनेको चामल मुस्किलले अब २/३ दिन चल्छ । पैसा छैन । अब कसैले ऋण दिन पनि मानेको छैन । के खाने हामी ?,’ ढाकी बुनेर गुजारा गर्दै उनले दुखेसो पोख्दै भने, ‘बर्षाको पानी सबै घरमै पसिरहेको छ । बस्ने सुत्ने ठाउँ छैन । रातमा बर्षा भएपछि बच्चाहरु कराउन थाल्छन्, प्लास्टिक ओढेर पनि बस्ने स्थिती छैन ।’ हावाहुरी आउँदा घर खस्ने डरले खाटमुनि सुतेर ज्यान जोगाएको राजकुमारकी पत्नी कलादेवीले सुनाइन् ।

‘खान त पुगेकै छैन । घर कहाँबाट बनाउने ? सरकारले त्रिपाल बाँड्ने सुनेको थिएँ तर त्यो पनि पाइन । कहाँ जाने अब हामी,’ उनले गुनसो पोखिन्, ‘राहतमा पाएको चामल खाने लायक नै थिएन । अब घरमा भएको खानेकुरा सकेपछि कसरी बाँच्ने यहीँ सोचेर बसेको छु ।’ उनीजस्तै आपतमी परेकी स्थानीय सुमित्रा देवीको घर समेत जोडले हावा चले कतिखेर ढल्ने ठेगानै छैन । छेउछाउमा खम्बाले अडक्याएर जसोतसो ४ जना बालबच्चा र श्रीमानसहित एउटै कोठामा गुजारा गर्दै आएकी उनको घरको समेत खपडा फुटेपछि विजोग भएको छ ।

मजदुरी गरी गुजारा गर्दै आएका उनको श्रीमान लकडाउनपछि कामधन्धा बन्द हुँदा खानेकुरा उपाय गर्न पैसाकै खोजीमा भौतारिदै छन् । ‘सरसमान सबै बर्बाद भयो । टुटेकै घरमा जसोतसो बाँचेकै थिए तर अहिले घरमा खानेकुरा छैन । टालीको उपाय कसरी गर्ने ?,’ सुमित्राले सुनाइन्, ‘खानेकुराको व्यवस्था गर्न काम खोज्दै श्रीमान श्रीपुर पुग्नु भएको छ । राहतमा पाएको खानेकुरा पनि सकिएको छ । अब कुनै व्यवस्था नभए भोकै बस्नुपर्ला ।’

बर्षा हुनासाथ बालबच्चा लिएर छिमेकीको घर लुक्न जानुपर्ने बाध्यता रहेको उनले सुनाइन् । लकडाउनमा खानै नपुग्ने र असिनापानीले ओत नै लाग्न गाह्रो हुने यी दुई परिवार प्रतिनिधिका पात्र मात्र हुन् । वडाध्यक्ष शैलेन्द्र महतोका अनुसार असिनापानीले वडामा ४ सय ४० घरको खपडा फुटेको छ । पैसा भएका केही व्यक्ति खपडा वा जस्तापाताले घर छाएपनि गरिब परिवार अझै पानीमै भिजेर बस्नुपर्ने बाध्यता छ ।

समस्याबारे गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतलाई पटक पटक जानकारी गराउदा राहतका लागि आश्वासन दिएको वडाध्यक्ष महतोले बताए । ‘जस्ता बाँड्ने निर्णय भएको छ । पहिलो चरणमा माटोको घर भएका परिवारलाई र दोस्रो चरणमा इट्टाको घर भएका व्यक्तिलाई राहत दिने कुरा भएको छ ।

प्रक्रियाअघि बढिसकेको छ,’ उनले भने । तर असिना पानी परेको एक साता वितिसक्दा समेत राहत तथा क्षतिपुर्ती नपाउँदा स्थानीयहरु आक्रोशित छन् । ‘राहतका लागि कतिदिन खुला आकाशमै बस्नुपर्ने ? कतिदिन अझै बर्षाकै पानीमा भिजेर बाँच्नुपर्ने ? हामीले ऋण काढेर जसोतसो छानो मर्मत गरायौँ तर गरिब परिवार कतिदिन यसैगरी बाँच्ने ?,’ स्थानीय गणिता महतोले आक्रोश पोखिन् ।

पूर्वमन्त्री रघुवीर महासेठ, प्रदेश २ का आन्तरिक मामिला तथा कानुनराज्यमन्त्री सरोजसिंह कुश्वाहा, प्रदेश सांसद, गाउँपालिका अध्यक्ष लगायतका नेताहरु अनुगमन गरेर गएको एक सातापछि समेत केही राहत नपाउदा असिनाले सबैभन्दा बढी क्षति भएको वडा नम्बर १ का गरिब तथा विपन्न परिवार निराश भएका छन् ।

तर गाउँपालिकाका अर्को वडामा समेत क्षति भएकाले संघीय सरकारबाटै अनुदान पाउने आशमा रहेकाले ढिलाई भएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले बताए । ‘गृहमन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन कोषबाट राहत क्षतिपुर्ती उपलब्ध गराउने प्रयासमा छौँ । त्यताबाट नभए हामी सक्नेजति गाउँपालिकाबाटै व्यवस्था गर्छौ,’ उनले भने ।

प्रकाशित: २० वैशाख २०७७ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App