४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन सय ८ बिरामीलाई घरैमा औषधि

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेका विभिन्न प्रकृतिका ३०८ बिरामीलाई औषधि घरैमा लगेर वितरण गरेको छ । जारी ‘लकडाउन’का कारण औषधि लिन जान नपाउँदा समस्यामा परेका गाउँपालिकाभित्रका विभिन्न खालका दिर्घ रोगीलाई गाउँपालिकाले आवश्यक औषधि खरिद गरेर ल्याएर घरैमा पुर्‍याएर वितरण गरेको हो ।

ब्लड प्रेसर, सुगर, यूरिक एसिड, मुटु रोग, ग्याँस्ट्रिक, अल्सर, पिसाव पोल्ने लगायतका समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीका लागि १ लाख ५ हजार बराबरको औषधि ल्याएर निःशुल्क वितरण गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

स्थानीय स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयं सेविकामार्फत सिफारिस भएर आएको बिरामीको नाम, औषधिको नाम र मात्राका आधारमा बिरामीलाई १५ दिन पुग्ने औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ‘लकडाउन’का कारण औषधि लिन जान नपाउँदा अधिकांश बिरामीको औषधि सकिन लागेको अवस्थामा गाउँपालिका आफैले औषधि ल्याइदिएको हो । ल्याइएको औषधि स्वास्थ्यकर्मीमार्फत बैसाख १२ गतेदेखि घर–घरमा पुगेर वितरण गर्न थालिएको थियो ।

नियमित औषधि सेवन गरिरहेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा ८० जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा ३३ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा ११ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा ६७ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा ३७ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा २५ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा ५५ जना बिरामीलाई निःशुल्क औषधि उपलव्ध गराइएको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैको ध्यान केन्द्रित भइरहेको अवस्थामा रुघाखोकी, झाडापखाला, ज्वरो लगायतका मौसमी महामारी फैलिने खतरा पनि उत्तिकै भएको भन्दै स्वास्थ्य संस्थालाई ५ लाख बराबरको जगेडा औषधि खरिद गरेर प्रदान गरेको गाउँपालिकाले पुनः नियमित औषधि सेवन गरिरहेका सर्वसाधारणलाई निःशुल्क औषधि ल्याइदिएको हो ।

‘अहिले हाम्रो ध्यान कोरोना भाइरसतर्फ मात्रै केन्द्रित भइरहेको छ । यो बेला अन्य रोगसँग जुधिरहेका बिरामीलाई बिर्सनु हुन्न,’ अध्यक्ष राईले भने, ‘औषधि लिन जान नपाएका बिरामीलाई तत्कालका लागि १५ दिन पुग्ने औषधि ल्याएर वितरण गरेका छौँ ।’

प्रकाशित: १९ वैशाख २०७७ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App