२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रोल्पामा मात्रै ३० प्रतिशत क्वारेन्टाइनमा

रोल्पा- सरकारी तथ्याङ अनुसार बिहीबार देशै भरका क्वारेन्टाइनमा २३ हजार ३ सय ३६ जना बसिरहेका छन् । देशै भरको संख्या हेर्दा रोल्पामा मात्रै निकै धेरै क्वारेन्टाइनमा रहेका छन् । बुधवार रोल्पाका दर्जनौ विद्यालयमा ६ हजार ९ सय २२ जना क्वारेन्टाइनमा छन् । यो संख्या करिब ३० प्रतिशत हुन आउछ । त्यसो त १ हजार बढि रोल्पालीहरु क्वारेन्टाइन बसेर घर फर्किएका छन् । यो संख्या निकै ठूलो हो र यसले कति रोल्पालीहरु कामको खोजीमा बाहिरी जिल्ला जान्छन् भनेर पनि देखाएको छ ।

त्रिबेणी गाउँपालिकामा रहेका २६ स्थानका क्वारेन्टाइनमा १ हजार ३ सय ९४ जना छन् । त्यस्तै रोल्पा नगरपालिकामा ७ सय ६२ जना, रुन्टीगढी गाउँपालिकामा १ हजार ६ सय ८९ जना, सुनिलस्मृती गाउँपालिकामा १ सय ७० जना र सुनछहरी गाउँपालिकामा ५ सय ७५ जना क्वारेन्टाइनमा छन् । जिल्ला प्रसाशन कार्यालयको सरकारी तथ्याङ अनुसार माडी गाउँपालिकामा १ हजार १ सय ७ जना, गंगादेवमा २ सय ६४ जना, परिबर्तनमा ६ सय ३८ जना, लुङग्रीमा २ सय ६३ र थवाङमा १ सय ४६ जना क्वारेन्टाइनमा छन् ।

देश मै सबै भन्दा धेरै क्वारेन्टाइनमा बसेकाहरुको जिल्ला रोल्पामा कोरोना परीक्षण भने सुस्त गतिमा रहेको छ । अहिले सम्म २ सय ९८ जनालाई र्‍यापिड टेस्ट गरिएको भए पनि किट अभाबमा अहिले जाँच बन्द गरिएको छ । बाहिरी जिल्लामा मजदुरी गर्न गएकोको ठूलो सख्या जिल्ला भित्रिएपछि यहाँका क्वारेन्टाइनहरु भरिएका हुन । केन्द्र र प्रदेश सरकारले जिल्लामा कोरोना रोकथाम र नियन्त्रणका लागि खासै भुमिका नखेलेको यहाँका जनप्रतिनिधिको गुनासो रहदै आएको छ ।

अहिले स्थानीय सरकारहरुलाई क्वारेन्टाइन ब्यवस्थापन मै भ्याई नभ्याई भएको छ । उनीहरुले करिब हजारलाई बस्ने खानेको सहज ब्यवस्था गरिदिएका छन । चरम गरिबि छिचोल्न भारत र देश भित्रकै बिभिन्न ईट्टाभट्टामा मजदुरीका लागि गएका मजदुरहरु यतिबेला स्थानिय सरकार संग खुसी भने भएका छन । ‘खर्च ब्यवस्थापनमा निकै गाह्रो भएको छ । उनीहरुलाई आरडिटी गर्न पाइएको छैन जसले समस्या झनै थपिएको हो ।’ रोल्पा नगरपालिका प्रमुख पुर्ण केसीले भने ‘मापदण्ड अनुसार गर्न सकिएको छैन ।’

क्वारेन्टाइनमा चाप परेपछि स्थानीय तहहरुलाई महिला, पुरुष, बृद्ध र बालबालिकाका लागि अलग अलग ब्यवस्थानमा निकै चुनौती थपिएको हो । ‘ब्यबस्थापमा समस्या छ । बिशेष गरि बसाई ब्यवस्थापन मै समस्या हो । आकलन गरिएको भन्दा तिन गुणा आउनु भयो ।’ त्रिबेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बताए । उता रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा पनि संख्या धेरै भएकाले समस्या परेको बताउछन  । ‘आरडिटी परिक्षण किट पनि आएन । बसाई ब्यवस्थापन गर्नै कठिन छ । बिस्तारै होम क्वारेन्टाइनमा पठाउने गर्ने सोचमा छौ ।’

 

प्रकाशित: १९ वैशाख २०७७ ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App