सुर्खेत- कोरोना संक्रमण रोक्नका लागि भइरहेको बन्दाबन्दी (लकडाउन) उल्लंघन गरेर सडक निर्माणको काममा प्रयोग गरिएका निर्माणका साधनहरुलाई प्रहरीले मंगलबार बेलुका नियन्त्रणमा लिएको छ । मुलपानी–फलाटे–रानीघाट सडक निर्माणमा प्रयोग गरिएका दुई वटा स्काभेटर, दुई वटा जेसिवी, दुई वटा टिप्पर र एक बोलेरो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
‘लकडाउनको उल्लंघन गरेर सडक निर्माणको काम गरिरहेको पाइएपछि प्रयोग गरिएका साधनहरु नियन्त्रणमा लिएका हौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले भने, ‘नियन्त्रणमा लिएका साधनहरु बाङ्गेसिमल प्रहरी चौकीमा राखेका छौं ।’ रायमाझीका अनुसार सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका छैनन् ।
स्थानीयका अनुसार व्यवसायी रामबहादुर सिंजालीले मुलपानी–रानीघाट सडकको काम गरिरहेका छन् । प्रहरीका अनुसार एउटै ठाउँमा २०–२५ जना कामदारहरु जम्मा भएर विना सुरक्षा सावधानी सडक निर्माणको काम गरिरहेका थिए । स्थानीयको सूचनाका आधारमा प्रहरी पुग्दा केही कामदारहरु त्यहाँबाट भागेका थिए । निर्माण व्यवसायीले सडक निर्माणका क्रममा उत्खनन गरिएका ढुंगाहरु अन्य व्यापारिक प्रयोजनमा पनि प्रयोग गर्ने गरेको पाइएको छ ।
प्रकाशित: १७ वैशाख २०७७ १६:४० बुधबार