७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

रसुवामा लकडाउनको कारण रोकिएका विकास निर्माणका आयोजना सञ्चालनमा ल्याइने

रसुवा- रसुवामा लकडाउनको कारण रोकिएका विकास निर्माणका आयोजनाहरू सञ्चालनमा ल्याइने भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणको प्रमुख रणनीति लकडाउन अर्थात बन्दाबन्दीलाई पूर्ण कार्यान्वयन गरेर आयोजनाहरू सञ्चालनमा ल्याउन लागिएको हो ।

जिल्लास्तरमा सञ्चालित राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका आयोजनाहरू र अत्यावश्यक वस्तु तथा सेवाजन्य उद्योग कलकारखानाहरू स्वस्थ्य सम्बन्धी प्रोटोकलको पूर्ण कार्यान्वयन गरेर सञ्चालनमा ल्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । जिल्ला विपद् व्यवस्थापन समिति रसुवाको मंगलबार बसेको बैठकले जिल्लास्थित सञ्चालित विकास निर्माणका योजना र अत्यावश्यक वस्तु तथा सेवा उत्पादन तथा वितरण गर्ने उद्योग सञ्चालन सम्बन्धी जिल्लास्तरीय मापदण्ड २०७७ पारित गरेको छ ।

जिल्लाभित्र सञ्चालित विकास निर्माण आयोजना तथा योजना निर्माण कार्य सञ्चालन र मालसामान ढुवानी व्यवस्थापनका लागि तयार गरिएको मापदण्ड सर्वसम्मतले पारित भएसँगै विकास निर्माणको काम गर्ने बाटो खुलेको हो । उक्त मापदण्ड अनुसार लकडाउनको समयमा सञ्चालन हुने संघीय सरकार, प्रदेश सरकारबाट लकडाउनको समयमा पनि आयोजना सञ्चालनका लागि लेखि आएका र अन्य अत्यावश्यक विगतदेखि सञ्चालनमा रहेका आयोजनाहरू सञ्चालनमा ल्याइने छ ।

यसैगरी वर्षातको समयअघि सम्पन्न गर्नुपर्ने भनि सम्बन्धित स्थानीय सरकारले तोकेका विगतदेखि सञ्चालनमा रहेका र रोकिएका आयोजना सञ्चालन हुने छन् । यसका साथै विपद् व्यवस्थापनका लागि जरुरी देखिएका र विगतदेखि निरन्तर सञ्चालन भइरहेका आयोजना सञ्चालन गर्न पाइने छ । आयोजना, योजना तथा उद्योग सञ्चालन गर्न तथा यसका लागि आवश्यक पर्ने सामग्री ढुवानीका लागि भने विभिन्न सर्त राखिएको छ ।

योजनास्थल भएको सम्बन्धित स्थानीय तहले योजना सञ्चालनका लागि स्वीकृति दिनुपर्ने, दैनिक एकआपसमा सम्पर्कमा आउनुपर्ने कर्मचारी तथा कामदारलाई क्याम्प व्यवस्थापन गरी आयोजनास्थलमा नै राखिएको र स्वास्थ्य सम्बन्धी मादण्ड पालना गरेको हुनुपर्ने छ । निर्माण सामग्री आयात गर्दा नजिकैको स्थानबाट ल्याउनुपर्ने, आफ्नै सवारी साधनको प्रयोग गर्नुपर्ने, जिल्ला बाहिरबाट सामग्री ल्याउँदा २४ घण्टासम्म राखेर डिसइन्फेक्सन गरेर मात्र आवागमन गर्ने, आयोजनास्थलमा सोही दिन अनलोड गरेर फर्कने व्यवस्था गर्नुपर्ने छ ।

यसैगरी कार्यस्थलमा कार्यरत कामदारहरू अत्यावश्यक बाहेक अन्य अवस्थामा सवारी साधन वा पैदलबाट समेत ओहोरदोहोर गर्न पाउने छैनन् । मालसामान ढुवानी गर्ने सवारी चालक र सहयोगीसमेतलाई जिल्ला प्रवेश विन्दु बेत्रावतीको हेल्थ डेक्सबाट ट्राभल हिष्ट्री कार्ड उपलब्ध गराइने छ ।

 

प्रकाशित: १७ वैशाख २०७७ ०५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App