भक्तपुर- अनियन्त्रित आवतजावत बढेपछि महानगरीय प्रहरी बृत जगाती भक्तपुरले बुधबारदेखि राजमार्ग भएर आवतजावत गर्ने यात्रुहरुको व्यक्तिगत विवरण पनि राख्न सुरु गर्ने भएको छ । अहिलेसम्म गाडीको नम्वर मात्रै लिने गरेको बृत्तले बुधबारदेखि राजमार्ग भएर सवारीसाधनबाट आवतजावत गर्ने प्रत्येक यात्रुहरुको नाम, ठेगाना, आवतजावत गर्ने ठाउँंलगायतका सम्पूर्ण विवरण लिई मात्रै छाडने भएको छ । भक्तपुर प्रवेशको मुख्य नाकाको रुपमा रहेको बृत्त अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगाती बस स्टप नजिक रहेको छ ।
बृत्तका डीएसपी चक्रराज जोशीले अनियन्त्रित रुपमा आवातजावत बढेपछि बृत्तले आन्तरिक रुपमा यस्तो तथ्यांक लिन सुरु गर्न लागेको जनाए । ‘यसले यो राजमार्ग भएर आवतजावत गर्नेहरुमध्ये कोही कोभिड-१९ बाट संक्रमित भएको पाइए ट्रेसिङ गर्न सजिलो होस् भन्ने हाम्रो उद्देश्य हो, डीएपी जोशीले नागरिकसँंग भने, ‘कोभिड-१९ को संक्रमणका हिसावले काठमाडौं उपत्यका अहिलेसम्म सुरक्षित देखिएकोले पनि काठमाडौं आउने बढेका छ र यसलाई पनि ख्याल राखी हामीले आवतजावतमा कडाई गर्न लागेका हौं ।’
बृत्तले राजमार्ग भएर आवतजावतका लागि सरकारी निर्देशन अनुसार अति आवश्यक सवारीसाधनलाई मात्रै छुट दिँदै आएको छ । एम्वुलेन्स, दमकल, खानेपानी, दूध, खाद्यान्नलगायतका सवारीसाधनलाई मात्रै आवतजावतमा छुट दिँदै आएको छ । साथै पास भएका केही निजी सवारीसाधनहरुलाई पनि आवतजावतमा बृत्तले छुट दिँदै आएको छ ।
लडकडाउन कायम भएसँंगै अहिले भक्तपुरबाट काठमाडौंको कोटेश्वरसम्म पुग्न दर्जन बढी स्थानहरुमा अस्थायी चेकजाँंच हुन्छ । काभ्रे र भक्तपुरको सिमानाको रुपमा रहेको अरनिको राजमार्ग अन्तर्गतको साँंगा, नंखेल, जगाती, सूर्यविनायक, सल्लाघारी, राधेराधे, मध्यपुर थिमि, गठाघर, कौशलटार, जडिवुटीलगायतका बस स्टपैपिच्छे चेकजाँंच हुने गरेको छ । यहाँंबाट काठमाडौं आवतजावत हुने सवारीसाधनमा संक्रमणको सम्भावनाबाट जोगिन सवारीसाधनमासमेत स्यानिटाइजर गर्ने गरिएको छ ।
भक्तपुरको जगाती क्षेत्र भक्तपुरबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधन चेकजाँंच हुने मुख्य नाका हो । यहाँंबाट आवतजावत गर्ने सवारीसाधनहरुको संख्या अत्याधिक रहेको छ । मिनेटैपिच्छे यहांबाट सवारीसाधनहरु आवतजावत भइरहेका हुन्छन् । तर लकडाउनको समयमा यहाँंबाट आवतजावत हुने सवारीको संख्या ह्वात्तै घटेको छ ।
प्रकाशित: १६ वैशाख २०७७ १४:०० मंगलबार