५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

रोल्पा फर्किएका बाल मजदुर भन्छन्ः ‘फेरि ईट्टाभट्टा जान नपरोस्’

ईट्टाभट्टाबाट फर्केर क्वारेन्टाईनमा बसेका मानदेव र सर्मिला। फोटो: दिनेश/नागरिक

रोल्पा - रोल्पा नगरपालिका ९ होमाका १५ वर्षिय मानदेब बुढा दुई वर्ष अगाडीबाट काठमाण्डौको ईट्टाभट्टा जान थालेका हुन्। उमेर सानै भएपपनि उनले त्यहाँ ईट्टा बनाउने काम गर्थे। दिनमा एक हजार देखि पन्ध्र सय सम्म ईट्टा बनाउने उनले मासिक दश पन्ध्र हजारसम्म कमाउने गरेका थिए। 

कक्षा ६ पढ्दा पढ्दै बिद्यालय छोडेका मानदेवका बुवा आमा पनि बहिनीलाई बिवाहित दिदीकोमा छोडेर उपत्यकातिर ईट्टा बोक्ने काम गर्छन्। 

कोरोना संक्रमणको त्राससंगै देश लकडाउनमा गएपछि करिब एक महिना ईट्टाभट्टाको झ्याउलीमा बिताएका उनका परिवार बुधवार रोल्पा पुगेका हुन्। सदरमुकाम लिवाङ नजिकै बालमन्दिरमा बनाइएको क्वारेन्टाईनमा रहेका उनी अहिले पढाई छोडेकोमा पश्चाताप गर्छन्। ‘अब त काम पाए यतै बस्ने हो। कोरोनाले लास्टै दुख दियो।’ मानदेब भन्छन् ‘उतिबेला पढ्नु पर्छ पनि कसैले भनेन अनि पैसा कमाउने लोभमा गइयो। ईट्टा पार्न गइयो।’

बालमन्दिर कै क्वारेन्टाइनमा रोल्पा नगरपालिका ९ होमा कै १८ वर्षिया शर्मिला बुढा पनि छिन्। ९ कक्षा पढ्दा पढ्दै सिन्धुलीको ईट्टाभट्टामा लागेकि उनी पनि कोरोना संकटले लखेटिएकि पात्र हुन्। बुवा सानैमा बितेकि सर्मिला गत वर्षदेखि ईट्टाभट्टा जान थालेकी हुन्। ईट्टाभट्टाको झ्याउलीलाई घर बनाएर बसेकी उनले दिनमा एक हजारदेखि १५ सय सम्म ईट्टा बोक्ने गर्थिन्। दैनिक पाचँ सात सय कमाउने गरेको उनले बताइन्।

अर्काको ठाउँमा मजदुरी गर्न अति कठिन हुने भन्दै शर्मिला पाएसम्म यतै मजदुरी गर्ने सोचमा छिन्। ‘हामीले गर्ने मजदुरी हो। यहाँ काम पाइदैन। हाम्रो काम त सबै डोजरले गरिदिन्छ।’ घरछेउँमा हुने निर्माणको काम बिभिन्न स्वार्थका कारण डोजरका हातमा परेपछि रोल्पालीहरु बाहिरी जिल्ला भौतारीने गरेका हुन्। ‘उमेर छ। पाए त जस्तो काम पनि गर्न सकिन्छ। सके सम्म अब ईट्टाभट्टा जान नपरोस भन्ने चाहाना छ।’

आफू भन्दा पनि साना बालबालिकाहरु ईट्टाभट्टामा मजदुरीमा लागेको देखेका मानदेव र शर्मिला यति बेला दिक्क छन्। ‘मान्छे त सबै उस्तै हो नि। कसैका छोरा छोरीले मजाले खान पढ्न पाउने हामी भने बच्चाबाटै मजदुरी गर्नु पर्ने।’ शर्मिलाको आक्रोस थियो ‘चुनाव बेला समानता अनि रोजगारीका कुरा गरे अहिले आएर पक्षपात सुरु भइसक्यो। राम्रो स्कुलमा पढ्न नपाए पनि खान लाउन पाए त को जान्थ्यो र ईट्टाभट्टा ?’  

ईट्टाभट्टाको मजदुरीले कमाएको केहि पैसाको मोबाइल र कपडा किनेका मानदेव र शर्मिला जस्ता सयौ बालबालिका मजदुरीको खोजिमा बिद्यालय छोडेर बाहिरि जिल्ला जाने गर्दछन्। अहिले रोल्पाका अधिकांश क्वारेन्टाइनमा दर्जनौ बालबालिका छन्। मजदुरीमा गएका कति बालबालिका रोल्पा भित्रिए भन्ने आधिकारीक तथ्याङ्क कोहि कसै संग नभए पनि सयौ बालबालिका रोल्पा भित्रिएको स्थानीयहरु बताउछन्। 

‘दैनिक दर्जनौ बालबालिका जिल्ला भित्रिएका छन्। ठ्याक्कै कति आए भन्ने छैन तर धेरै छन्।’ रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले भने ‘अब सबै स्थानीय तहले नीति कार्यक्रममा बालबालिकाको अध्ययन र बेरोजगारी अन्त्यका सवालमा बिशेष ध्यान दिनु पर्छ।’ उनले रोजगारीका लागि मजदुरी गर्न ठूलो संख्यामा रोल्पाली बाहिर गएको देखिएकाले अब रोजगारीका सवालमा काम गर्नै पर्ने बताए।

रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले पनि अबका दिनमा बालबालिकालाई बिद्यालय पठाउने र टिकाउने बिषयमा थप चासो दिने भन्दै उनिहरुलाई बाल श्रममा पठाउनबाट रोक्ने कार्यक्रमहरु संचालन गरिने बताए। ‘धेरै बालालिका बिद्यालय छोडेर मजदुरीका लागि जाने गरेको पाइयो।

अबका दिनमा उनिहरुलाई सहज पठनपाठका लागि योजना तयार गर्ने छौ।’ केसीले भने ‘बालबालिका मात्र नभएर उनका अभिभावकलाई पनि जिल्ला मै रोजगारी सृजना हुने गरी काम गर्नेछौ।’

प्रकाशित: १४ वैशाख २०७७ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App