१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नगरपालिकाद्वारा निःशुल्क बीउ वितरण

भक्तपुर - भक्तपुर नगरपालिकाले नगरका पाँच हजार ९०९ कृषकलाई खुमल–११ ताइचीन जातको धानको बीउ वितरण गरेको छ। कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनलाई ध्यानमा राख्दै नगरपालिकाले नगरका १ देखि १० सम्मका सबै वडा कार्यालयमार्फत प्रतिपरिवार दुई केजी ५०० ग्राम अर्थात् एक पाथी धान निःशुल्क वितरण गरेको हो। भक्तपुर नगरपालिकाका विभिन्न वडाले स्थानीय स्वयंसेवक परिचालन गर्दै वडा कार्यालय र घरदैलो गरी कृषक परिवारलाई धानको बीउ वितरण गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। 

त्यसैगरी जिल्लाको चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा मकै, भटमास, धान, कोदो, फापरलगायतको बीउ वितरण शुरु गरकोे छ। लकडाउनका बेलामा कृषकलाई सहजरूपमा बीउ उपलब्ध गराउने लक्ष्यका साथ नगरपालिकाले सबै किसानका लागि वडा नं १ देखि ९ सम्मका सबै वडा कार्यालयबाट कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण शुरु गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। नगरपालिकाले पहिलो चरणमा मनकामना–३ जातको मकै र भटमासको बीउ वितरण शुरु गरेको छ।

बीउ वितरणका लागि नगरपालिकाले एक हजार १०० किलो मकै प्रतिकिलो १३० रुपैयाँ मा खरिद गरेर ल्याएको र किसानलाई ५० प्रतिशत अनुदानमा मकै र भटमासको बीउ वितरण गर्न शुरु गरेको नगरप्रमुख मिश्रले जानकारी दिए। नगरपालिकाले दोस्रो चरणमा धानको बीउ वितरण गर्ने भएको छ। यसका लागि खुमल–१० र खुमलटार ताइचिन–२४२ जातको १० टन धानको बीउ यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिने नगरप्रमुख मिश्रले जानकारी दिए।

प्रतिकिलो १०० रुपैयाँमा खरिद गरेको धान किसानलाई प्रतिकिलो  ५० रुपैयाँमा वितरण गरिने भएको छ भने दलित, जनजाति तथा लक्षित वर्गलाई कोदोको बीउ २०० किलो र फापरको बीउ २०० किलो निःशुल्क वितरण गर्ने भएको छ। रासस

प्रकाशित: १२ वैशाख २०७७ २२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App