२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

चेपाङ गाउँमा खाद्य संकट : न काम, न माम

धादिङको गजुरी गाउँपालिका वडा नं ३ चिलाउखर्कका चेपाङ समुदाय ।

धादिङ- स्याउलाले बारेको झुप्रो घर । यस्तै स–साना झुप्रो भित्र ओत लागिरहेका १२ जनासम्मको परिवार । घरभित्र अन्नपातको नाममा एक बोरा पिठो बाहेक अरु केही देखिन्न । अलि हुने खाने घरमा २०/२५ झुत्ता मकै झुण्डिएको देखिन्छ, यस्तै अवस्था छ, धादिङको गजुरी गाउँपालिका वडा नं ३ चिलाउने खर्कका चेपाङ समुदायको । आफ्नो पाखो बारीमा फलेका अन्नहरु मध्ये अहिले मकै मात्र बाँकी छ, त्यही मकैको खोले बनाएर यहाँका चेपाङ समुदायले बिहान बेलुकाको छाक टारिरहेको कृष्णबहादुर चेपाङले बताए ।

विश्वव्यापी रुपमा फैलिएको काेरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन देश लकडाउनमा छ । जसको प्रभाव चेपाङ समुदायमा पनि परेको छ । आफूले उब्जनी गरेको खाद्यान्नले ४ महिनासम्म खान पुर्‍याउने र बाँकी समय ज्यालामजदुरी गरेर छाकटार्ने चेपाङ समुदायहरुमा अहिले न काम न मामको अवस्था सिर्जना भएको चेपाङले बताए । ‘आफ्नो पाखो बारीमा भएको उब्जनी पनि सकियो, अहिले काम गर्न पनि पाएका छैनौ’, चेपाङले भने, ‘यो समयमा चेपाङ समुदायमा हरेक वर्ष खाद्य संकट पर्ने गर्छ, यो वर्ष त झन्, खाद्यन्न जोहो गर्न पनि सकिएन ।’

महाभारत पहाड क्षेत्रमा बसोबास गर्ने अधिकांश चेपाङ समुदायका घरहरुमा यतिबेला खाद्यान्न संकट देखिएको छ । यो समस्या चिलाउने खर्कका चेपाङहरुको प्रतिनिधि समस्या हो । महाभारत पहाड क्षेत्रमा बसोबास गर्ने अधिर्काश चेपाङ समुदायका घरहरुमा यतिबेला खाद्यान्न संकट देखिएको छ । चेपाङहरुको धेरै थोरै पाखोबारी सबैैको छ तर भदौ महिनातिर नै भित्रिएको मकै र दशैपछि भित्र्याएको कोदो पनि सकिसकेको छ ।

दैनिक ज्यालादारीमा काम गर्न सक्नेले पनि काम गर्न पाएका छैनन् । आफ्नो पाखो बारीमा भएको उब्जनी पनि सकिएको र काम गर्न पनि नपाएकाले भोकभोकै पर्न थालेको चेपाङले बताए । ‘पहिलेपहिले जंगली कन्दमुल, गिठ्ठा भ्याकुर, सिस्नु खाएर पेट भर्ने गथ्यो’, उनले भने, ‘अहिले ज्याला मजदुरी गरेर छाक टार्ने गरेको भएपनि लकडाउनले पहिलेकै अवस्थामा पुर्‍याउने भयो ।’ खानेकुरा नहुँदा बालबालिका, वृद्धवृद्धा तथा सुत्केरी महिलाहरु समस्यामा परेका छन् ।

पाखोबारीमा भएको उब्जनीले ४ महिनापनि खान पुग्दैन । बाँकी महिना ज्याला मदजुरी गरी किनेर खाने चेपाङहरुमा लकडाउनका कारण बजार क्षेत्रमा काम गर्न जान नपाउदा भोकै पो मरिने हो कि भन्ने चिन्ता थपिएको चिलाउनेका स्थानीय अस्मिता चेपाङले बताइन् । ‘पाखो बारीमा उब्जनी भएको मकै, कोदो पनि सकियो, काम गर्न बजार झर्न पाएका छैनौँ,’ उनले भनिन्, ‘अहिले त काम पनि बन्द छ, अब घरमा अन्न सकिएपछि के खाने हो, अत्यासमा छौँ ।’

गजुरी गाउँपालिकाले यस्तै समस्यामा परेका परिवारहरुको लागि भनेर खाद्यान्न वितरण गर्नको लागि फुड बैक संचालन गरेको छ । लकडाउनकै कारण गाउँपालिकाभित्र रहेका कसैलाई पनि भोकै मर्न नदिने गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए । ‘लकडाउन र कोरोना संक्रमणका कारण अहिलेको भन्दा भयावह स्थिति आउन सक्छ भन्ने हिसाबले हामीले खाद्यान्न संकलन तथा जोगावटको काम गरिहेका छौँ,’ अध्यक्ष बस्नेतले भने, ‘चुलो नै बल्न छाडेको परिवारलाई पहिलो प्राथमिकतामा राखेर खाद्यान्न वितरण भइरहेको छ ।’

फागुन महिनादेखि असारसम्म अधिकांश चेपाङ गाउँ बस्तीमा अनिकाल लाग्छ । यो बीचमा काम गर्नसक्नेहरु दैनिक ज्यालामजदुरी गरेर जसोतसो आफ्नो प्राण धानिरहेका हुन्छन् तर यस वर्ष खाद्यान्न संकट सुरु हुनै थालेपछि देशभर भएको लकडाउनले सबैभन्दा बढी मार यी विपन्न चेपाङहरुमा परेको छ । यता बेनिघाट रोराङ गाउँपालिकाको बुस्रबाङका चेपाङहरुले भने वडा मार्फत चामल, नुन, तेल लगायतका सामग्रीहरु पाएको बुस्रबाङका सुमिलाल चेपाङले बताए ।

चेपाङ समुदायमा देखिने खाद्यान्न संकट प्रत्येक वर्ष दोहोरिने समस्या हो । यस वर्ष लकडाउनले गर्दा थप जटिल बनाएको छ । गाउँपालिकाले पनि तत्कालिन विपतको अवस्थामा राहत वितरण गर्ने मात्रै नभइ चेपाङहरुमा हरेक वर्ष देखिने खाद्यान्न संकटको निवारण गर्नको लागि गाउँपालिकाले दिर्घकालिन योजना बनाउनु पर्ने आवश्यकता रहेको खाद्य अधिकारकर्मीहरुको भनाई छ ।

 

प्रकाशित: ९ वैशाख २०७७ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App