२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

राजमार्गमा रोकिएका पैदलयात्रुको उद्धार

दमौली - पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा रोकिएका पैदलयात्रीलाई प्रहरीले आइतबार उद्धार गरेको छ। 

गोरखा, लमजुङलगायत विभिन्न ठाउँमा काम गर्ने सर्वसाधारण हिँडेरै घर जान आँबुखैरेनी आइपुगेपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीले उनीहरुलाई उद्धार गरेर पठाएको हो। सरकारले राजमार्गमा रोकिएका र अलपत्र परेकाहरुलाई उद्धार गर्न निर्देशन दिएपछि हिँडेर घर जान लागेका ४६ जनालाई उद्धार गरी घर पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए। 

सल्यान र बर्दिया घर भएका उनीहरुलाई आँबुखैरेनी गाउँपालिकाको समन्वयमा सवारी साधन खोजेर घर पठाइएको सुवेदीले बताए। सरकारको निर्देशनसँगै हिँडेर गन्तव्यतर्फ जान लागेका र अलपत्र परेकालाई घर पठाएका छौ, उनले भने, उनीहरु विभिन्न जिल्लामा काम गर्ने मजदूर रहेको पाइएको छ। उनका अनुसार उद्धार गरिएका सबैको विवरण राखिएको छ। 

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले बन्दाबन्दी घोषणा गरेपछि गुजारा चलाउन गाह्रो भएकाले हिँडेरै घरतर्फ जान लागेको सल्यानका अनिल बोहोराले बताए। पैदलयात्रुलाई आँबुखैरेनीस्थित सिद्धि गणेश टोल सुधार समिति र मिलन युवा समाजले पानी, चिउरा, बिस्कुट, काँक्रोलगायत खाजा सामग्री उपलब्ध गराएको थियो। रासस

प्रकाशित: ८ वैशाख २०७७ ०९:५५ सोमबार

पैदलयात्री उद्धार गाउँपालिका