सर्लाही - -यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी)मा पोजेटिभ रिपोर्ट देखिएका सर्लाही धनकौलका १४ वर्षीय किशोरको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ। टेकु अस्पतालमा गरिएको स्वाब परिक्षणबाट किशोरमा कोरोना भाईरस नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।
भारतको दिल्लीबाट चैत २३ गते गाउँ छिर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएर धनकौल गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा बसिरहेका ती किशोरलाई गत शुक्रबार आरडीटीमा पोजेटिभ देखिएको थियो।
उनीसँगै क्वारेन्टाईनमा रहेका अर्का व्यक्तिलाई भने नेगेटिभ देखिएपनि सोही साँझ दुवैजनालाई थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको थियो। जनकपुर र काठमाडौंको टेकु अस्पतालमै उनको स्वाब पठाएर परीक्षण गरिएको र नेगेटिभ नतिजा आएको प्रजिअ जिसीले जानकारी दिए। ं
सर्लाहीमा आईतबारसम्म ९७ जनाको आरडीटी गरिएको र जसमध्ये ९६ जनाको नेगेटिभ आएको छ। जिल्ला स्थित विभिन्न स्थानीय तहमा बनाईएको क्वारेन्टाईन एवं होम क्वारेन्टाईनमा बसेकाहरुको आरडीटी भईरहेको प्रजिअ जिसीले जानकारी दिए।
प्रकाशित: ७ वैशाख २०७७ १२:३२ आइतबार