जनकपुरधाम- विहानैदेखि एसी र पंखाको हावामा काम गर्ने उनी यतिखेर ३५ डिग्रीको तापक्रममा कोदालो चलाउँदै छन्। विहान उठ्नासाथ नित्यकर्म गरेर दिउँसो घाममा समेत उखु ताम्ने र एक घण्टा आराम नगर्दै बेलुका समेत खेतमै बिताउने उनको दैनिकी भइसकेको छ। चिसो कोठाभित्रै काम गर्ने उनी चर्को घाममा पसिना बगाउँदा समेत एकदमै हर्षित नै देखिन्छन्।
‘अहिले गोडमेल भएन भने उखु बर्बादै हुन्छ। सबै लागनी डुब्छ। लकडाउनमा मजदुर पाइएको छैन। त्यसैले आफै दिनभर काम गरिरहेको छु,’उनले भने। उनी हुन् वटेश्वर गाउँपालिका–१ चित्रपुरका स्वास्थ्यकर्मी जागृत कुशवाहा। पोलिक्लिनिक संचालन गरी वैदेशिक रोजगारीमा जाने युवकको मेडिकल जाँच गर्ने उनी लकडाउनपछि खेतीपातीमै दिन बिताइ रहेका छन्।
काठमाडौँमा व्यवसाय गर्दै आएका धनुषाको वटेश्वर गाउँपालिका-१ का सन्तोष सिंह यतिखेर दिनभर उनी खेतमै बिताउँछन्। पढाइ लेखाइको क्रममा १० पास गरेदेखि नै घरबाहिरै बस्दै आएका उनी ७ वर्षयता मुस्किलले घरमा १ सातासम्म बिताउँथे। तर कोरोना भाइरस संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेपछि चैत १० गते नै घर आइपुगेका उनी परिवारसहित दिनभर खेतीपातीमा ब्यस्त छन्। यसअघि कहिल्यै खेतमा काम नगेका उनी लगातर एक सातादेखि गहुँ काट्नमा ब्यस्त छन्।
‘दिनभरी समय बिताउन गाह्रो भएको छ। गहुँ पाकेर खेतमा झर्न थाल्यो। मजदुर पाइरहेको छैन,’ उनले भने, ‘यहाँ काम पनि हुन्छ दिन पनि बित्दो रहेछ।’ उनीसँगै कहिल्यै खेतमा काम नगर्ने उनका दाजुभाइ समेत दिनभर खेतमा गहुँ काट्नमै ब्यस्त छन् यतिखेर।
जसोतसो केही जनमजदुरको सहारामा करिब एक बिघा खेतमा लगाएको गहुँ काटेर, थरेसरमा कुटाएर घर भित्र्याइसकेका उनी खेतमा लागेको बाँकी गहुँ भित्र्याउन लागिपरेका छन्। लकडाउनमा पारिवारिक सदस्यसँग भेटघाट र सँगै बस्नु उनले अवसरको रुपमा लिइ रहेका छन्।
शिक्षक सुशील कुशवाहालाई समेत पाकिसकेको गहुँ भित्रयाउन भ्यान नभ्याइ छ अहिले। शिक्षणमै दिनभर बिताउने उनी लकडाउनको अवधिमा खेतीपातीमै बिताइ रहेका छन्। ‘घरमा बसेर बोर भइसके। गहुँ पाकेर खेतमै झर्न लागेको छ। धेरै काम गर्न नसकेपनि विहान बेलुका गर्दा आफ्नो काम आफैले पनि गर्न सकिन्छ,’ कुशवाहाले भने। जनकपुरमै डेरा लिएर सामुदायिक विद्यालयमा पढाउने उनी किसानको छोरोले खेतीबाट भागे विस्तारै ठूलै संकट आउन सक्ने भन्दै खेतीमा लाग्न छिमेकीहरुलाई समेत आग्रह गर्दै आएका छन्। ‘राम्ररी टेक्निक बुझेर खेती गर्ने हो भने ५ कट्ठा खेतमै पनि वर्षको ५ लाख भन्दा बढी रुपैयाँ कमाउन सकिन्छ। यो विदेश जानुभन्दा कयौँ गुण राम्रो हो,’ उनले थपे।
धनुषाको बटेश्वर गाउँपालिका-२ का किसान रामेश्वर महतो ३ कठ्ठा खेतमा परोर रोपेका छन्। केही दिनपछि परोर फल्ने भएकाले गोडमेल गर्न, खाद्य मल हाल्ने तथा औषधि छर्किने काममा उनी ब्यस्त छन्। त्यसैले महतोका परिवारलाई खासै लकडाउन जस्तो लागेको छैन। खेतबारीको काममा मज्जाले समय बितेको छ। ‘आफ्नै खेतबारीको काममा मज्जाले समय बित्छ। सरकारले पनि खेतबारीको काम गर्न छुट दिएको छ। कोरोनाबाट बच्न हामी सजग र सचेत भइ घर र खेतबारीको काम गरिरहेका छौं। बाहिर घुमफिर र बाहिरी व्यक्तिको सम्पर्कमा गएका छैनौँ,’ उनले भने।
सहरी क्षेत्र सुनसान देखिएपनि ग्रामिण भेगका प्रायः सर्वसाधारण आफ्नै खेतबारी र घरायसी कामकाजमा ब्यस्त छन्। उनीहरुसचेत र संयम समेत छन्। खेत पुग्दा समेत अधिकांश ग्रामीण भेगका सर्वसाधारण तथा किसान मास्क लगाएर हिड्छन्। कहिल्यै साबुन प्रयोग नगर्ने ग्रामीन भेगका धेरैजसोले साबुन पानीले हात धुने र बाहिर निस्किदा मास्क लगाउने दैनिकी बनाइसकेका छन्।
यद्यपि ग्रामीण भेगकमै केही ठाउँहरुमा मासिनहरु एकठाउँमा भेला भएर तासजुवा खेल्ने, भीडभाड लगाउने र हाटबजारमा समाजिक दुरीको खयार नगरी जथाभावी समान बेच्ने र किन्ने गरेको देखिएको छ।
प्रकाशित: ५ वैशाख २०७७ ०२:०० शुक्रबार