५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुलीमा खाद्यान्न, तरकारी र फलफूल आयातमा प्रतिबन्ध

सिन्धुलीको एक खाद्यान्न पसलमा गाडीबाट सामान झार्नुअगाडी खाद्यान्नको गाडीमा भाइरस नाशक स्प्रे गरिदै । तस्बिर : अनिल/नागरिक

सिन्धुली- सिन्धुलीमा खाद्यान्न र तरकारी आयातमा रोक लगाइएको छ। रौतहटमा एक जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै खाद्यान्न तथा तरकारी ढुवानी गर्दा कोरोनाको जोखिम हुने भन्दै जिल्लाबासी त्रसित बनेपछि खाद्यान्न र तरकारी आयातमा समेत रोक लगाइएको छ।

यस जिल्लामा कोरोना भाइरसको उच्च जोखिम रोकथाम तथा नियन्त्रणका लागि हाल तराईका जिल्लाहरुबाट यस जिल्लाको प्रयोजनका लागि भइरहेको फलफूल माछा मासु अण्डा कुखुरा र हरियो तरकारी ढुवानी सात दिनका लागि प्रतिबन्ध लगाउने निर्णय भएको छ, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले भने, खाद्यन्नको ढुवानी पनि सात दिनलाई प्रतिवन्ध लगाएका छौ। उनले जिल्लालाई आवश्यक पर्ने खाद्यान्न तत्कालका लागि स्टक भएको बताए।

मंगलबार राति १२ बजेदेखि बैशाख ९ गते राति १२ बजेसम्म बाहिरी जिल्लाबाट यस जिल्लाको प्रयोजनका लागि सामाग्रहीहरु ढुवानी बन्द गरिएको छ, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेले भने, ढुवानी तथा ओसारपसार नगर्नु हुन जिल्लाका सम्पूर्ण खाद्यान्न पसलहरुलाई समेत आग्रह गरेका छौ। कोरोनाको त्रासकै कारण जिल्लाभित्र सञ्चालित खाद्यान्न, फलफूल दूध तथा तरकारीका पसलहरु समेत बिहान ६ बजेदेखि ९ बजेसम्म दिनको एकपटकमात्रै सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।

विश्वभर फैलिएको कोरोना भाइरस पछिल्लो समय नेपालका विभिन्न स्थानमा देखिन थालेपछि त्यसबाट सिन्धुलीका स्थानीय त्रसित बनेका छन्। उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र बैदारले सिन्धुलीमा तत्कालका लागि खाद्यान्न स्टक भएकाले एक साता बन्द गर्दैमा समस्या नपर्ने बताए। उनले सामाजिक सञ्जालमार्फत ढुवानी रोक्नका लागि सुझाव मागेका थिए। अधिकांशले बन्द गर्नुपर्ने सुझाएपछि तत्कालै जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय बैठक बसी तराईसहित बाहिरी जिल्लाबाट आयात बन्द गरिएको हो।

जिल्ला प्रशासन कार्यालयले चोक तथा सडकमा भिडभाड नगर्न समेत आग्रह गरेको छ। जिल्लाका क्रियाशिल राजनीतिक दलको अहम भुमिका हुने भएकाले सबै राजनीतिक दलहरुले भातृसंगठनका कार्यकर्ताहरुलाई मनोरञ्जन तथा जम्काभेट गर्ने कार्य गर्न नदिन सबैले आ आफ्नो ठाँउमा नेपाल सरकारको लकडाउनको निर्देशन पूर्ण पालना गर्न निर्देशन दिने समेत निर्णय गरेको प्रजिअ पाण्डेले बताए।
 
 

प्रकाशित: २ वैशाख २०७७ ०९:४२ मंगलबार

सिन्धुली खाद्यान्न आयात