१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पाँच दशक अघिको त्यो जंगली क्वारेन्टाइन !

बिफरबाट संक्रमित भएर भारतबाट गाउँ फर्किएका डिगबहादुर खड्का । तस्बिर सौजन्य : कपिलराज घिमिरे

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका केही स्थानलाई अहिले खोलीगैरा नामले चिन्ने गरिन्छ। त्यी ठाउँको नाम खोलीगैरा रहनुका पछाडि बिक्रम संबत् २०२१ सालमा महामारीका रुपमा फैलिएको कारण बिफर रहेको स्थानीय बताउँछन्। बिफरले गाउँ नै सोत्तर बनाएपछि भोजपुर र ओखलढुंगाबाट बोलाइएका दुई जना बैद्यले संक्रमित बिरामीलाई गाउँ नजिकै पानीको श्रोत भएको जंगलमा लगेर खोली राखेर (अरुको सम्पर्कबाट टाढा राखेर गरिने उपचार पद्धति) उपचार गरेका स्थानीय बृद्धबृद्धा बताउँछन्।

गाउँबाट अरुको सम्पर्कबाट टाढा खोलीमा राखेर २१ दिनसम्म उपचार गरेर बिरामी निको भएर फर्केपछि त्यी स्थानको नाम नै खोलीगैरा रहेको चिसापानी माबिका शिक्षक कपिलराज घिमिरे बताउँछन्। ‘उसबेला बिफर लागेका बिरामीलाई ४०/४५ जनाको एउटा समूह बनाएर खोलीमा राखिएको रहेछ। खोली भनेको हालको क्वारेन्टाइन जस्तै नै हो,’ शिक्षक घिमिरेले भने, ‘गाउँलेलाई खोलीमा राखेकाले ठाउँको नाम नै खोलीगैरा रहन गएको हो।’

उसबेला चिसापानीका डिगबहादुर खड्का र रामबहादुर खड्का १८/१९ वर्षका थिए। भारतीय लाहुरे बन्ने सपना बोकेर खड्काद्धय भारतको घुमपहाड पुगे। घुमपहाडमा बिफरको महामारी फैलिएको थियो। खड्काद्धयको लाहुरे बन्ने सपना पूरा भएन, बरु बिफरको बिरामी भएर फर्के। उनीहरुमार्फत भित्रिएको बिफर परिवार हुँदै गाउँभरी फैलियो। बिफरका कारण दुई महिनाभित्रै परिवारका चार जना सदस्य गुमाउनु परेको ७४ वर्षीय डिगबहादुर बताउँछन्।

चिसापानी बजारबाट करिब दुई किलोमिटर पश्चिममा पर्ने मालबासेमा बस्नेत परिवारको बसोबास थियो। त्यसमध्ये हुनेखानेमा दरिएका चतुरमान बस्नेतका बाबु अनकान्छा भनिने बस्नेतको मृत्यु भयो, त्यसको भोलीपल्ट उसकै घरमा काम गर्ने कामदारको मृत्यु भयो। केही महिनामै गाउँभरीमा करिब ४०/४२ जनाको मृत्यु भएपछि गाउँका अगुवा एबं बुद्धिजिवीले उपचारका लागि बैद्य बोलाउने निर्णय गरे र भोजपुरको घोरेटारबाट एक जना र ओखलढुंगाको रुम्जटारबाट एक जना बैद्य ल्याइए।

तिनै वैद्यले गाउँलेलाई पाँच समूह बनाएर फरक–फरक स्थानमा खोली राखेका थिए। बिफरबाट बच्न ६ वर्षको उमेरमा स्याउलाले बारेर बनाइएको खोली बसेको चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए। ‘६ वर्षको उमेरमा मलाई पनि खोलीमा लगेर राखिएको थियो, कति दिन बसेँे भन्ने चाँही बिर्से,’ श्रेष्ठले भने, ‘पात्लेका स्याउलाले बारेर कोठै–कोठा बनाएर खोली बनाइएको थियो। चौंरमा बनाइएको त्यो खोली क्याम्पजस्तै देखिन्थ्यो।’

एक पटक लागेको बिफर निको भएपछि पुनः नलाग्ने मान्यता अनुसार गाउँका अन्य स्वस्थ व्यक्तिलाई पनि खोलीमा भारतबाट संक्रमित भएर फर्किएका डिगबहादुर र रामबहादुरको संसर्गमा राखेर बिफर सारेर उपचार गरिएको थियो। उसबेला तीन हप्तासम्म खोलीमा राखेर बैद्यको निगरानीमा उपचार गरेपछि गाउँलेलाई घर फर्काइएको थियो। उसबेलाको महामारीका कारण एक गाउँबाट अर्को गाउँमा जान रोक लगाइएको थियो। चिसापानीमा बिफर बचाएर बाँचेका स्थानीय अझै छन्। उनीहरुको अनुहार बिफरले बिग्रेको देखिन्छ।

हाल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’ चिसापानीका स्थानीयले पाँच दशकअघि नै भोगेको शिक्षक घिमिरेले बताए। ‘बिफर निर्मूल पार्न गाउँलेलाई खोली राखिएको थियो, लकडाउन गरिएको थियो,’ घिमिरेले भने, ‘अहिलेको कोरोनाबाट बच्ने पनि क्वारेन्टाइनमा बसेर लकडाउनको पालना गरेरै हो।’ भारतबाट संक्रमित भएर फर्किएकामध्ये रामबहादुरको मृत्यु भइसकेको छ।
 

प्रकाशित: ३० चैत्र २०७६ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App