२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

‘लकडाउन’ले अड्कियो मलेसियामै शव

मलेसियामा ज्यान गुमाएका खोटाङका कुलबहादुर खत्री । तस्बिर : नागरिक

खोटाङ– ‘लकडाउन’का कारण मलेसियामा एक नेपालीको शव अड्किएको छ। कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का कारण अन्र्तराष्ट्रिय उडान नहुँदा खोटाङको साकेला गाउँपालिका–३ खिदिमा कोक्राका कुलबहादुर खत्रीको शव मलेसियामै अड्किएको हो। गत चैत २५ गते ज्यान गुमाएका खत्रीको शव ‘लकडाउन’का कारण मलेसियाकै कुवाला पिला अस्पतालमा राखिएको मलेसियामै रहेका उनका भतिजा तिलाबहादुर खत्रीले जानकारी दिए।

खत्री प्लान्टेसनको कामका लागि राज ओभरसिज प्रालि काठमाण्डौंबाट तीन वर्षअघि मलेसिया पुगेका थिए। पेटालिङ जया सेलाङगोरस्थित साइम डार्बी प्लान्टेसन बिरहाड कम्पनीमा काम गर्नेक्रममा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको बताइएको छ। बसिरहेको कोठाबाट केही समयका लागि भनेर बाहिर निस्किएका खत्री नहरमा मोटरसाइकलसँगै डुबिरहेको अवस्थामा फेला परेका थिए। उनले मोबाइल भने कोठामै छाडेर गएको उनका साथीहरुले बताएका छन्।

फेसबुक अनलाईनमा देखेर बोलाउन जवाफ नआएको र फोन गर्दा अरुले नै फोन उठाएर घटनाका बारेमा जानकारी दिएको आफन्तले बताएका छन्। कतारमा दुई वर्ष बिताएका खत्री पुनः मलेसिया पुगेका थिए। ‘मृत्युको कारण खुलेको छैन। कम्पनीले व्यक्तिगत कामका लागि बाहिर जाँदा दुर्घटना भएको भनेको छ,’ तिलाबहादुरले भने, ‘जताततै लकडाउन भएकाले शव नेपाल पठाउन समस्या भइरहेको छ।’

मृतक खत्रीका श्रीमतीसहित पाँच छोरी र दुई छोरा छन्। मेनपावर कम्पनीले शव ल्याउनका लागि बैसाख ३ गते अगाडि केही गर्न नसकिने जवाफ दिएको खत्रीले बताए।
 

प्रकाशित: ३० चैत्र २०७६ १०:२६ आइतबार

लकडाउन शव मलेसिया