५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

भीमदत्तनगर - शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो। कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो।  

कोरोना भाइरसको सङ्क्रमण सन्त्रासपछि भारतबाट सुदूरपश्चिम प्रदेशमा मात्रै डेढ लाख नागरिक भित्रिएको अनुमान छ।  सुदूरपश्चिम प्रदेशमा पनि खासगरी सात पहाडी जिल्लाको रोजगारीको प्रमुख गन्तव्य नै भारत हो।  नेपाल र भारतमा सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहँदा दार्चुलाको सीमावर्ती बजार धारचुलादेखि कञ्चनपुरको सीमावर्ती भारतीय वनबासा बजारसम्म नेपाली मजदूर रोकिएका छन्। 

भारतमा सङ्क्रमण देखिएपछि सुदूरपश्चिमकै ठूलो नाका गड्डाचौकीबाट सबैभन्दा बढी करिब ७० हजारको सङ्ख्यामा नेपाली घर फर्किएको तथ्याङ्क छ। त्यसैगरी भारतबाट बढी मजदूर तथा यात्रु भित्रिनेमध्येको अर्को ठूलो नाका हो कैलालीको त्रिनगर भन्सार नाका।  चैत ११ गते लकडाउनका बेला सीमानाकामा रोकिएका यात्रुहरू त्यहाँ प्रवेश पाउनुपर्ने भन्दै आन्दोलनमै उत्रिए।  कैलालीको त्रिनगर र खङ्क्रौला नाकाबाट ४६ हजार नागरिक भारतबाट आएको कोभिड–१९ कैलालीका सम्पर्क व्यक्ति जयसिंह भण्डारीले बताए। 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले सुदूरपश्चिम सङ्क्रमणको उच्च जोखिममा रहे पनि नियन्त्रणका लागि प्रयासरत रहेको बताए।सङ्ख्यात्मकरूपमा सङ्क्रमित बढी देखिएकाले पनि यसको जोखिम बढेर आयो, धनगढीमा महिलामाथि स्थानीय सङ्क्रमण देखिनुलाई झन जोखिम मानिएको छ। उनले ती महिलामा दोस्रो चरणको सङ्क्रमण देखिएको बताए।तेस्रो चरणमा देखिएपछि महामारीकै रुपमा फैलिने सम्भावना हुन्छ, उनले भने, यसको सबैभन्दा राम्रो उपाय भनेकै घरभित्र सुरक्षित बस्ने नै हो। 

त्यसैगरी यहाँका क्वारेन्टाइनमा बसेका नागरिकको स्वाब सङ्कलनका लागि स्वास्थ्य मन्त्रालयले चिकित्सकसहित सात जनाको टोली सुदूरपश्चिम पठाउन लागेको जानकारी दिए।  भारतबाट कैलालीको लम्की र कञ्चनपुरका दुईमा सङ्क्रमण देखिएपछि सुदूरपश्चिममा त्रास अझ बढेको पाइन्छ। भारतमा विभिन्न शहरमा महामारी फैलिएपछि लाखौँको सङ्ख्यामा सर्वसाधारण घर फर्के, अवस्थीले भने, लकडाउनको तयारी हुँदै गर्दा सीमाबाट ठूलो सङ्ख्यामा आए पनि तिनको रेकर्ड राख्न सकिएन।  उनका अनुसार चैत ११ गते नाकामा थुप्रेकामध्येबाटै एक युवकमा सङ्क्रमण देखियो।  अब सङ्क्रमित बढे स्वास्थ्य सामग्री अभाव हुने अवस्था छ भन्दै उनले सङ्क्रमणलाई गम्भीररूपमा लिन सुदूरपश्चिमेली नागरिकसित आग्रहसमेत गरे।

चार जना सङ्क्रमित भइसकेको सुदूरपश्चिममा धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ भने बैतडी र डोटीमा पनि परीक्षणका लागि आवश्यक मेशिन उपकरण जडानको तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ।  सुदूरपश्चिम सङ्क्रमणको जोखिममा रहेको भन्दै सङ्घीय सरकारले पनि कैलाली र कञ्चनपुरमा कोरोना भाइरस परीक्षणका लागि र्‍यापिड टेस्टिङ कीट प्रयोग गर्ने निर्णय गरेको छ।  यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना सङ्क्रमण नियन्त्रणका लागि उपचार र आवश्यक व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने बताएका छन्। आइतबार मुख्यमन्त्री भट्टले क्वारेन्टाइन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्थापन, कालोबजारी नियन्त्रण, खाद्यान्न आपूर्ति यहाँका विषयगत मन्त्रीलाई जिम्मेवारी दिएर अघि बढिरहेको जानकारी दिए।

उनले प्रदेश सरकारले रु ४० करोडको कोष स्थापना गरेर यहाँका गरिब, विपन्न र ज्यालादारी गरी खाने वर्गलाई राहत वितरण गर्न कोषमा नीजि क्षेत्र, विभिन्न सङ्घ, संस्था र निकायबाट सहयोग उपलब्ध भइरहेको बताए। रासस

प्रकाशित: २४ चैत्र २०७६ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App