१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जनता जगाउँदै थारू गाउँका भलमन्सा, घरभित्रै बस्न उर्दी

कैलाली – देश लक डाउनमा रहेका बेला मानिसहरू लकडाउन तोड्दै घुमफिर गर्न थालेपछि गाउँका भलमन्साहरूले कठोर निर्णय लिएका छन्। उनीहरूले आफ्ना मातहतमा रहेका जनतालाई घर बाहिर ननिस्कन उर्दी जारी गरेका छन्।

कोरोना संक्रमणबाट जोगिन सबै मानिस घरभित्रै बस्नु पर्ने सरकारको निर्णयलाई केही व्यक्तिले अटेरी गर्न थालेपछि गाउँका भलमन्साहरू गाउँले नियम बनाई स्थानीयलाई घर बाहिर ननिस्कन उर्दी गर्न थालेका हुन्। विषम परिस्थितिमा सबैले मिलेर कोरोनालाई जित्नुपर्ने बताउँदै गौरीगंगा नगरपालिका–७, कैलाशपुरका भलमन्सा तुलाराम जोगीले भने,‘सरकारले नै लक डाउन गरेका बेला मानिस घर बाहिर निस्कँदा कोरोनाले संक्रमण गर्न सक्ने भएकाले मैले मेरो मातहतका सबै गाउँलेलाई घर बाहिर ननिस्कने भनेको छु।’

उनको मातहतमा गाउँका ६० घरधुरी छन्। ‘गाउँको चौकीदारलाई सबैको घरमा गएर अति आवश्यक कामबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन भन्दै सूचना पठाएको छु,’ भलमन्सा जोगीले भने,‘सरकारले गरेको सूचना मैले पनि आफ्नो गाउँका जनता समक्ष पु¥याएँ।’ थारू समुदायमा गाउँमा भलमन्सा (मुखिया) छान्ने गरिन्छ। भलमन्साकै आदेशमा गाउँघरको मुद्धा मामिला तथा कुनै पनि नयाँ निर्णय लिने गरिन्छ।

भलमन्साको अन्तिम आदेश गाउँका सबैले मान्नु पर्ने हुन्छ। अहिले पनि कोरोनाको संक्रमणले विश्व नै त्रासमा बाचिरहेका बेला गाउँका सबैलाई घरभित्र रहन आदेश दिएको उनले बताए। गाउँका कसैलाई बाहिर जानु पर्ने नै भए भलमन्साको सहयोगमा प्रहरी चौकीसँग समन्वय गराएर जनतालाई पठाउन सकिने वातावरण बनाएको बताउँदै उनले भने,‘औषधिमूलो गर्न तथा अति आवश्यक काम परेमा बाहिर पठाउन हामीले यस्तो व्यवस्था गरेका छौँ।’

लक डाउनका बेला मसुरियामा रहेको प्रहरी चौकीबाट प्रहरी आएर भलमन्साहरुलाई भेटी स्थानीयलाई घर बाहिर ननिस्कन सूचना गरिदिन भनेको उनले बताए। ‘प्रहरीहरु म कहाँ आएर सबैलाई घरभित्रै बसिदिन भनिदिनु प-यो भने,’ उनले भने,‘प्रहरीको सूचनालाई मैले पनि गाउँलेलाई सुनाइदिएको हुँ।’ 

उनी मात्रै हैनन् अहिले थारू गाउँका भलमन्साहरूले आफ्ना मातहतमा रहेका जनतालाई घर बाहिर ननिस्कन आदेश दिएका छन्। उनीजस्तै मट्कौना गाउँका भलमन्सा रामकृष्ण चौधरीले पनि आफ्नो गाउँका ७० घरपरिवारलाई घरबाहिर ननिस्कन आदेश दिएका छन्।

‘अहिले गहुँ स्याहार्ने समय हो, यसमा पनि हामीले दूरी कायम गरेर स्याहार्न भनेका छौँ,’ उनले भने,‘आफू सचेत रहेर काम गर्न भनेका छौँ।’ गहुँ नपाकेका किसानलाई भने घरभित्रै बसिरहने पनि खबर गरेको उनले बताए। ‘अनावश्यक घरबाहिर ननिस्कने भनेका छौँ,’ उनले भने,‘खेतीपाती स्याहार्न बाहेक अन्य बेला घरमै बस्न आदेश दिएको छु।’ गाउँमा भारतबाट आएकाहरुको घर पहिचान गरेर उनीहरुलाई घरभित्रै अलग्गै कोठामा बस्न समेत सुझाएको बताउँदै उनले भने,‘हामीले भारतबाट आएकाहरुको घरमा गएर उनीहरुलाई घरभित्रै अलग्गै कोठामा बस्न भनेका छौँ।’ 

मनकापुर गाउँका भलमन्सा बहादुर चौधरी पनि गाउँमा कोरोना सम्बन्धी जागरण फैलाइरहेका छन्। ‘गाउँका सबैलाई साबुन पानीले हात धुन र घरभित्रै बस्न अह्राएको छु,’ उनले भने,‘अहिले सबैको घरका धारामा साबुन राखिएको छ।’ सबैले साबुन पानीले हात धुने गरेको उनले बताए।

भलमन्साले पनि गाउँघरमा सन्देश पु-याएको बताउँदै गौरीगंगा नगरपालिकाका मेयर भीम देउवाले भने,‘गाउँमा भलमन्साको आदेश सबैले पालना गर्ने भएकाले पनि भलमन्साद्वारा जारी गरिएको सन्देशले राम्रो काम गरिरहेको छ।’

प्रकाशित: २२ चैत्र २०७६ १४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App