१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शिक्षण–संस्थाका ३५ हजारभन्दा बढी सुविधायुक्त कोठा क्वारेन्टाइनलाई

काठमाडौं - कोरोना भाइरसको जोखिमबाट नेपालीलाई सुरक्षित राख्न सरकारले आइतबारदेखि नागरिकलाई अनिवार्य रूपमा घरमै क्वारेन्टाइनअनुरोध गरेलगत्तै निजी शैक्षिक संस्थाहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र उच्च शैक्षिक संस्था तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले मातहतका स्कुलहरूका ३५ हजारभन्दा बढी कक्षाकोठा र सुविधासम्पन्न भवन सरकारलाई क्वारेन्टाइनका रूपमा उपलब्ध गराउने निर्णय गरेका छन्। त्यस्तै, एन–प्याब्सनले पनि मातहतका स्कुलहरूको कक्षाकोठाको उपयोगिताबारे अध्ययन तथा उपयुक्त कोठाहरूको सूची तयार गरिरहेको छ।

सरकारले निजी शैक्षिक संस्थाहरूलाई उपयुक्त कक्षाकोठा तथा विद्यालय भवनहरूको सूची माग गरे अनुसार प्याब्सन र हिसानले सोमबार सरकारलाई लिस्ट बुझाएको बताएको छ। प्याब्सनका अध्यक्ष टीका पुरीले देशभरि प्याब्सनअन्र्तगतका ६ हजार स्कुल सञ्चालनमा रहेको र त्यसअन्तर्गतका उपयुक्त हुने कोठाहरूको सूची तयार पार्दा १५ हजार कोठाहरू क्वारेन्टाइन वा आइसोलेसनका लागि उपयुक्त रहेको बताउँदै सबैको सूची तयार पारेर सरकारलाई बुझाइसकेको जनाए। उनले सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा स्थापना गरेको कोरोनालक्षित सहयोग कोषमा कम्तीमा एक करोड रकम उपलब्ध गराउन प्याब्सनले स्थागत रूपमा रकमसमेत संकलन कार्य अघि बढाइसकेको बताए।

‘स्कुलको भौतिक पूर्वाधार राम्रो भएकाले सातै प्रदेशमा हुने गरी प्याब्सनले १५ हजार कोठा सरकारलाई क्वारेन्टाइन वा आइसोलेसनका रूपमा प्रयोग गर्न उपलब्ध गराउने निर्णय गरी सोमबार लिस्ट बुझाइएको छ। ‘अब पर्यटन मन्त्रीको टोलीले मंगलबारदेखि अनुगमन गरी निर्णय गर्छ,’ ’ उनले नागरिकसँग भने, ‘प्याब्सन सदस्यहरूबाट सहयोग रकम संकलन गरी कम्तीमा एक करोड पु-याउने लक्ष्य छ। संकलित रकम हामी छिट्टै राष्ट्रिय सहयोग कोषमा दाखिला गर्नेछौं।’

हिसानका अध्यक्ष रमेश सिलवालले हिसानअन्तर्गतका १० हजार कोठाहरू उपलब्ध गराउने तयारी रहेको बताए। उनले उपत्यकाभित्र पाँच हजार र उपत्यकाबाहिरका पाँच हजार माध्यमिक तथा उच्च शिक्षाका भवनहरू सरकारलाई क्वारेन्टाइनका रूपमा उपलब्ध गराउने निर्णय भएको बताए। यसका साथै देशमा सञ्चालित मेडिकल र इन्जिनियरिङका सुविधासम्पन्न भवनहरूसमेत उपलब्ध गराउन हिसानले निर्णय गरेको जनाए।

‘हिसान माध्यमिक शिक्षा तथा उच्च शिक्षा शैक्षिक संस्थाहरूको साझा संगठन भएकाले मेडिकल र इन्जिनियरिङलगायत विषय सञ्चालिन शैक्षिक संस्थाका भवन पनि हामीले उपलब्ध गराउने निर्णय गरेका छौं,’ अध्यक्ष सिलवालले भने, ‘कोरोना त्रासका कारण शिक्षक र विद्यार्थी सबै गाउँ फर्केका छन्। छात्रावासहरू सबै खाली नै छन्। सुविधासम्पन्न बेडसहितको भवनसमेत आवश्यक परे आइसोलेसन वा क्वारेन्टाइनका रूपमा सरकारले प्रयोग गर्न सक्नेछ।’ साथै हिसानले एक करोड रुपैयाँ संकलन गरिरहेको समेत उनले जनाए। सिलवारको गोल्डेन गेट कलेजमा पाँच सय जना अट्ने छात्राबासमा स्थान खाली अवस्थामा छ।

यसैगरी, राष्ट्रिय आवासीय तथा निजी विद्यालय अर्गनाइजेसन नेपाल (एन–प्याब्सन) का पूर्व केन्द्र्र्रीय वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारीले एन–प्याब्सनले उपयुक्त कोठाहरू उपलब्ध गराउन सदस्य स्कुलहरूको सूची संकलन कार्य अघि बढाएको बताए। आर्थिक सहयोगका लागि रकमसमेत संकलन कार्य अघि बढाएको उल्लेख गर्दे उनले भने, ‘एन–प्याब्सनका सदस्य स्कुलहरू दुई हजार दुई सयभन्दा बढी छन्, जसमध्ये करिब पाँच सय छात्रावासहितका छन्। हामीले क्वारेन्टाइका लागि खुला ठाउँ, पानी तथा शौचालय व्यवस्थित भएको स्कुललाई प्राथमिकतामा राखेर तथ्यांक संकलन गरी सरकारलाई बुझाउने तयारी गर्दैछौं। ’

प्रकाशित: ११ चैत्र २०७६ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App