९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

धनुषामा अझै खुलेआम मदिरा बेचिँदै

जनकपुरधाम - धनुषामा घरेलु मदिरा सेवनबाट २१ जनाको मृत्यु हुँदा पनि घरेलु मदिरा बिक्री रोकिएको छैन। चैत १ यता प्रहरीले जिल्लाभर भट्टी नष्ट गर्ने अभियान चलाए पनि ग्रामीण क्षेत्रका हाटबजार र होटलमा घरेलु मदिरा किक्री–वितरण भइरहेको हो। ‘वर्षौंदेखि घरेलु मदिरा भट्टी चलिरहेकै छ।

कहिल्यै बन्द हुँदैन। कसैले केही भनेका पनि छैनन्,’ धनुषाको उत्तरी भेगमा पर्ने बटेश्वर गाउँपालिका–१ चित्रपुरका स्थानीय विजय महतोले भने। उनका अनुसार ४० देखि ६० रुपैयाँमै प्रतिबोतल घरेलु मदिरा बिक्री भइरहेकाले धनुषा र महोत्तरीका विभिन्न गाउँबाट मदिरा सेवन गर्नेको त्यहाँ भीड नै लाग्छ। स्थानीय होटेल व्यवसायीका अनुसार धनुषाका विभिन्न गाउँका साथै महोत्तरीका बर्दिबास र भंगहा नगरपालिकाबाट सेवाग्राहीले मदिरा खरिद गरेर लैजानेसमेत गरेका छन्। बटेश्वर–३ कटानी टोलमा पनि खुलेआम मदिरा उत्पादन र बेचबिखन भइरहेको छ। धनुषाकै बडहरी, लालगढ, ढल्केवर, बेंगाडावर, किसानपुर, वीरेन्द्रबजार, धारापानी, सबैला बजारलगायत ठाउँमा अझै घरेलु मदिरा बिक्री रोकिएको छैन।

धनुषा प्रहरीले जिल्लाभर ४९ भट्टी नष्ट गरेको र बाँकीको खोजी भइरहेको जनाएको छ। विषाक्त घरेलु मदिरा सेवनबाट एकैपटक धेरैजनाको मृत्यु भएको खबर बाहिर आए पनि वर्षभरिमा त्यसरी कतिको र्मत्यु हुन्छ भन्ने कुनै लेखाजोखा नरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी जयराज सापकोटाले बताए। ‘मदिरा पिएकै कारण धेरैको मृत्यु हुन्छ। यसपालि एकैपटक धेरैको मृत्यु भएकाले मात्र प्रहरीमा जानकारी आयो,’ उनले भने, ‘घटनापछि हामी स्थानीय मदिरा भट्टी सञ्चालन र बिक्रिमा कडाइ गर्न प्रत्येक प्रहरीलाई कडा निर्देशन दिएका छौँ।’ उनका अनुसार यस आर्थिक वर्षमा प्रदेश २ मा चार सय १३ वटा मदिरा भट्टी नष्ट गरिएको छ भने तीन लाख ३५ हजार कच्चा पदार्थ र ५६ हजार आठ सय ७५ लिटर तयारी मदिरा नष्ट गरिएको छ।

आर्थिक लेनदेन गरी प्रहरीकै संरक्षणमा घरेलु मदिरा भट्टी चलेको जनस्तरका साथै प्रदेश २ को प्रदेशसभामै सांसदहरूले आरोप लगाएपछि प्रहरीले भट्टी नष्ट गर्ने अभियान चलाएको हो। प्रहरीले धनुषामा मदिरा सेवनले २१ जनाको मृत्यु भएको घटनायता घरेलु मदिरा उत्पादन र बिक्रिमा कडाइ गरेपछि बजार क्षेत्रमा त्यसको प्रभाव देखिए पनि गाउँको अवस्था उस्तै रहेको स्थानीयको भनाइ छ।

धनुषामा होली पर्वको अवसरमा घरेलु मदिरा सेवनबाट २१ जनाको मृत्यु भएको दाबी गरिए पनि प्रहरीले भने १६ जनाको मृत्यु भएको मात्र पुष्टि गरेको छ। प्रहरीका अनुसार मदिरा सेवन गरेका रमदैयाका सातजनाको उपचार भइरहेको छ। त्यसैगरी विषाक्त घरेलु मदिरा सेवनकै कारण महोत्तरमा पाँचजनाको मृत्यु भएको जनाइएको छ। तर उनीहरूको घरेलु मदिरा सेवनभन्दा पनि अन्य कुनै कारणले मृत्यु भएको हुन सक्ने महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको भनाइ छ। धनुषामा मदिराबाट मृत्युु भएका प्रत्येक परिवारलाई प्रदेश २ सरकारले तीन लाख रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेपछि स्थानीयले मदिराकै कारण मृत्यु भएको दाबी गर्न थालेको उनको भनाइ छ।

प्रकाशित: ८ चैत्र २०७६ ०३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App