१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

टीकापुर नाकामा अत्यन्त फितलो व्यवस्थापन

बुधबार भारतबाट नेपालतर्फ आइरहेकाहरू। तस्बिर: योगेश/नागरिक

टीकापुर – टीकापुर नगरपालिका–९ खक्रौलास्थित सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास निकै फितलो देखिएको छ। त्यहाँ दिनहुँ ओहोरदोहोर गर्ने करिब दुई हजारजति मानिसमा कसैलाई पनि कोरोना भाइरस भए/नभएकोबारे जाँच गरिँदैन। दुई देशका नागरिक सीमाक्षेत्रमा निर्बाध ओहोरदोहोर गर्छन्। यसरी ओहोरदोहोर गर्नेमा नेपाली धेरै छन्। उनीहरू भारतीय सीमावर्ती बजार तिकुनियाँमा दैनिक उपभोग्य सामग्री खरिद गर्न जाने गरेको पाइएको छ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले टीकापुर नगरपालिकासँगको समन्वयमा त्यहाँ स्थापना गरेको ‘हेल्थ डेस्क’मा कार्यरत स्वास्थ्यकर्मीले केवल लामो समय भारतमा बसेर घर फर्किएकाहरूको मात्रै स्वास्थ्य अवस्था जाँच्ने गरेका छन्। उनीहरू सीमाक्षेत्रमा ओहोरदोहोर गर्ने सबैको स्वास्थ्य जाँच सम्भव नभएको बताउँछन्। अहेव मकेन्द्र रोकायाले भने, ‘भारतमा बसेर फर्किएकाहरूको मात्रै जाँच गर्ने गरेका छौं।’

स्वास्थ्यकर्मीले कुन व्यक्ति दिनहुँ ओहोरदोहोर गर्ने र कुन लामो समय भारतमा बसेर फर्किएको हो भन्ने कुरा अनुमानका भरमा छुट्ट्याउँछन्। उनीहरू सामान बोकेका र सार्वजनिक सवारीसाधनमा आएकालाई लामो समय भारतमा बसेर फर्किएको मान्छन्। सामान नबोकेका र पैदलयात्रुलाई दिनहुँ ओहोरदोहोर गर्ने मानी कोरोना भाइरस भित्र्याउने सम्भावना नरहेको बुझाइ उनीहरूको छ।

भारतका सीमावर्ती क्षेत्रमा कोरोना नदेखिएका कारण दैनिक ओहोरदोहोर गर्ने व्यक्तिको स्वास्थ्य जाँच नगरिएको टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए। उनले त्यस्ता व्यक्तिलाई सामान्य सोधपुछ मात्रै गर्ने गरिएको जानकारी दिए। ‘सामान्य सोधपुछ गर्छौ,’ उनले भने, ‘हाम्रो लक्ष्य लामो समय भारतमा बसेर फर्किएकाहरू मात्रै हुन्।’ उनले सीमाक्षेत्रमा कोरोना नियन्त्रणबारे भइरहेको प्रयास प्रभावकारी नभएको स्विकारे। उनले जुन रूपमा चेकजाँचको व्यवस्था हुनुपर्ने हो, त्यसो हुन नसकेका कारण गम्भीर अवस्था आउन सक्ने सम्भावना रहेको बताए।

खक्रौलास्थित सीमा नाकाको ‘हेल्थ डेस्क’मा चारजना मात्रै स्वास्थ्यकर्मी छन्। उनीहरूमध्ये दुईजनालाई सुदूरपश्चिम प्रदेश सरकार र दुईजनालाई नगरपालिकाले काजमा खटाएको छ। त्यहाँ कोरोना जाँचका लागि आवश्यक सामग्रीको समेत अभाव छ। स्वास्थ्यकर्मीका अनुसार ज्वरो नाप्ने ‘स्क्यानर गन’ बाहेक अन्य कुनै सामग्री छैन। स्वास्थ्यकर्मीको अनुमानका भरमा सीमाक्षेत्रमा हुने कोरोनासम्बन्धी चेकजाँचले ठूलो दुर्घटना निम्त्याउने त्रास फैलिएको छ। सीमाक्षेत्रका बासिन्दा कुनै पनि बेला कोरोना भित्रिने सम्भावना रहेको बताउँछन्। उनीहरू सीमाक्षेत्रको जाँचलाई प्रभावकारी बनाउनुपर्ने माग गर्छन्।

भारतका विभिन्न ठाउँमा कोरोना संक्रमित व्यक्ति भेटिन थालेपछि त्यसको असर नेपालका सीमावर्ती क्षेत्रमा परेको छ। त्यहाँका बासिन्दा सीमा नाकामा भइरहेको ओहोरदोहोर र कमजोर स्वास्थ्य जाँचको अवस्थाले झन् त्रसित छन्।

प्रकाशित: ६ चैत्र २०७६ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App