२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

कोरोनाको सन्त्रासले घर फर्किदै नेपाली

हेल्थ डेस्कमा जाँच गरिदै । तस्बिर: योगेश रावल

टीकापुर- कोरोनाको सन्त्रास फैलिएपछि रोजगारीका क्रममा भारतमा रहेका नेपालीहरु घर फर्किन थालेका छन्। विभिन्न सीमा नाकामा घर फर्किने नेपालीहरुको संख्या बढेको छ।

टीकापुर नगरपालिका–९ खक्रौला नाका भएर घर फर्किने नेपालीहरुको संख्या समेत दिनप्रति दिन बढ्न थालेको छ। टीकापुर नगरपालिकाले त्यहाँ स्थापना गरेको ‘हेल्थ डेस्क’ मा स्वास्थ्य जाँच गराउनेहरुको संख्याका आधारमा घर फर्किने नेपालीहरुको संख्या बढेको देख्न सकिन्छ।

कोरोनाको सन्त्रास बढेपछि नगरपालिकाले फागुन २४ गतेबाट खक्रौलामा रहेको ‘हेल्थ डेस्क’ मार्फत भारतबाट आउने नेपालीको स्वास्थ्य जाँच गर्न थालेको छ। ‘हेल्थ डेस्क’ मा कार्यरत अहेव मकेन्द्र रोकायाले चैत ४ गतेसम्म १ हजार नौ सयको स्वास्थ्य जाँच गरिएको जानकारी दिए। उनले ती मध्ये सबै लामो समय भारतका विभिन्न ठाउँमा बसेर फर्किएका नेपाली भएको बताए। उनीहरु मध्ये सबैमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको बताइएको छ। ‘अहिलेसम्म कसैलाई पनि त्यस्तो लक्षण देखिएको छैन’ अहेव रोकायाले भने–‘घर फर्किनेको संख्या भने बढ्दै गएको छ।’

मंगलबार मध्यान्हसम्म मात्रै २४४ जनाको स्वास्थ्य जाँच गरिएको छ। ती सबै रोजगारीका क्रममा भारतका विभिन्न ठाउँमा रहेका नेपाली हुन्। उनीहरु मध्ये धेरैजसोले कोरोनाको सन्त्रासबाट बच्न घर फर्किएको बताउने गरेका छन्। यसरी घर फर्किनेमा कैलाली, बर्दिया, अछाम, सुर्खेत, डोटी, दैलेख, कालिकोट लगायतका जिल्लाका बासिन्दा छन्।

बर्दियाको गेरुवा गाउँपालिकाका तीन जना भारतको हैदरावादबाट घर फर्किएका हुन्। उनीहरु सबैले कोरोना भाइरस फैलिएको हल्ला सुनेर घर फर्किएको बताए। तीन जना मध्येका एक २३ वर्षका गोपाल चौधरीले २ वर्षपछि घर फर्किएको बताए। ‘घर परिवारसँग भेटघाट नभएको पनि धेरै समय भएको थियो। यस्तैमा कोरोनाको हल्ला फैलिएपछि चाँडै फर्किए’ उनले भने–‘हामी जस्तै धेरै व्यक्ति घर फर्किएका छन्।’

भारतमा केही नेपाली कामदारलाई कामबाट निकालिएको छ। ती मध्ये कतिपयलाई फेरी काममा फर्किन भनिएको छ भने कतिपयले रोजगारी नै गुमाएका छन्। उनीहरु कामबाट निकालिए पछि धमाधम घर फर्किन थालेका छन्।

भारतको मुम्बईमा एक होटलमा कार्यरत अछाम कमलबजारका विकास धामीलाई केही समयपछि काममा आउनु भनिएको छ। तर कहिलेसम्म काममा फर्किने भन्ने कुरोको ठेगान छैन। ग्राहकको संख्या घटेसँगै उनी लगायत धेरै कामदारलाई होटल व्यवस्थापनले केही समयका लागि विदा दिएको छ। सो होटलमा कुकमा कार्यरत उनी खाली समयको सदुपयोग गर्न घर फर्किएका छन्। ‘एकातिर विदाको समय अर्कोतिर कोरोनाको हल्ला फैलिन थालेपछि घर फर्किए’ उनले भने–‘म जस्तै धेरैलाई विदा गरिएको छ।’

यसरी घर फर्किनेमा भारतका महाराष्ट्र, मुम्बई, हैदरावाद, गुजरात, लखनउ, सुरत लगायतका शहरबाट धेरै रहेको बताइन्छ। सीमा क्षेत्रमा घर फर्किने नेपालीहरुको संख्या बढेसँगै चुनौती समेत थपिएको छ। उनीहरुलाई भरपर्दो ढंगले स्वास्थ्य जाँच गर्न सकिएको छैन। अहिले सीमा क्षेत्रमा रहेको ‘हेल्थ डेस्क’ ले ‘स्क्यानर गन’ मार्फत ज्वरो नाप्ने र सामान्य सोधपुछ मात्रै गर्दै आएको छ। स्वास्थ्यकर्मीले उनीहरुलाई ज्वरो नाप्नुका साथै रुघाखोकी र स्वास प्रश्वास समस्याका बारेमा सोध्ने गरेको छ।

‘स्क्यानर गन’ ले ज्वरोको मात्रा देखाए पनि रुघाखोकी र स्वास प्रश्वास समस्याका बारेमा सम्बन्धित व्यक्तिले भने पछि मात्रै स्वास्थ्यकर्मीले थाहा पाउने अवस्था छ। स्वास्थ्य जाँच गरिएका व्यक्तिले दिएको जानकारीकै आधारमा उनीहरु स्वस्थ र अस्वस्थ भन्ने कुरो प्रमाणित गर्ने गरिएको छ। ‘१०४ डिग्री भन्दामाथि ज्वरो देखिए मात्रै हामीले शंकास्पद रुपमा लिने हो’ अहेव रोकायाले भने–‘बाँकी कुरो त उनीहरुले भनेकै आधारमा विश्वास गर्नुपर्छ।’

भारतमा रोजगारी गरेर अर्थात केही समय बसोबास गरेर फर्किएका व्यक्तिहरुको मात्रै स्वास्थ्य जाँच गरिन्छ। अन्य सीमावर्ती बजारमा किनमेल गरेर फर्किनेहरुको भने कुनै स्वास्थ्य जाँच गरिदैन। यस सीमा नाकाबाट दैनिक करिब दुई हजारको हाराहारीमा मानिस ओहोर दोहोर गर्छन्। उनीहरु कसैले पनि ‘हेल्थ डेस्क’ मा आफ्नो स्वास्थ्य जाँच गराउँदैनन्।

 

प्रकाशित: ४ चैत्र २०७६ १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App