२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बसपार्कमा हेल्थ डेक्स, अस्पतालमा हात धोएर मात्रै प्रवेश

सिन्धुलीको बसपार्कमा हेल्थ डेक्स स्थापना गरि यात्रुहरुको स्वास्थ्य परिक्षण गरिदै । तस्बिर: अनिल/नागरिक

सिन्धुली- सिन्धुलीमा कोरोना भाइरस नियन्त्रणका लागि पूर्व तयारी थालिएको छ। कोरोना संक्रमणको खतरालाई मध्यनजर गरेर सिन्धुलीको बसपार्कमा हेल्थ डेक्स स्थापना भएको छ। चौतर्फी सवारी आवातजावत हुने बसपार्कमा आउने यात्रुहरुको सामान्य स्वास्थ्य जाँच गर्ने र ज्वरो तथा रुघाखोकी र ब्लडप्रेसरको समस्या देखिए तुरुन्त अस्पताल पठाउन हेल्थ डेक्स स्थापना गरि स्वास्थ्य जाँच सुरु भएको सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल सिन्धुली र जिल्ला अस्पतालको सयुक्त सहकार्यमा सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित बसपार्कमा हेल्थ डेक्स स्थापना गरिएको हो। डेक्समा विरामीको ज्वरो चेकजाँच गर्ने, ब्लड प्रेसर जाँच गर्ने जस्ता गतिविधि गरिएको हेल्थ डेस्कमा खटिएकी प्रहरी जवान दुर्गा ढुङगेलले बताइन्।

उनले भनिन्, बसमार्फत आवतजावत गरेका यात्रुहरुलाई हामीले बोलाएर नै चेकजाँच गर्ने गरेका छौ, हालसम्म त्यस्तो समस्या केहि देखिएको छैन, समस्या देखिएमा तत्कालै अस्पताल पठाउछौ। विश्वभर फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको र सिन्धुली पनि जोखिममा रहेकाले प्रशस्तै पूर्व तयारी गर्नुपर्ने स्थानीयले बताएका छन्। राष्ट्रिय सडक सञ्जालले घेरिएको जिल्ला सिन्धुली भएकाले उच्च जोखिम रहेकाले तयारीलाई तीव्र पार्नुपर्ने स्थानीयको भनाई छ।

जिल्ला अस्पताल सिन्धुलीले अस्पतालमा प्रवेश गर्ने सेवाग्राही वा अन्य सबैलाई हात धोएर मात्रै प्रवेश गर्ने व्यवस्था गरेको छ। कोरोनाको संक्रमणलाई कम गर्नका लागि अस्पतालमा यस्तो व्यवस्था गरिएको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ। अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले अस्पताल प्रबेश गर्ने सबैले हात धोएर मात्रै प्रवेश गरिदिन आग्रह गरे। यो हामी सबैले सचेत हुन जरुरी छ, उनले भने, अस्पतालले हात धुने व्यवस्था मिलाएको छ, एक मिनेट राम्रोसँग हात धोएर प्रवेश गर्न अनुरोध गर्दछौ। उनले सम्भावना भएसम्म सचेतनाका कार्यक्रमहरु अस्पतालले गरेको बताए। सचेतनामुलक पर्चाहरु वितरण गर्ने काम समेत गरेको स्थानीयले बताए।

तीन बेडको आइसोलेसन वार्ड
सिन्धुली अस्पतलामा ३ बेडको सुविधा सम्पन्न आइसोलेसन वार्ड स्थापना गरिएको छ। कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला त्यस्ता शंकास्पद लक्षण भएका बिरामीका लागि आइसोलेसन वार्ड स्थापना गरिएको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ।

अस्पताल परिसरभित्रै स्थापना गरिएको वार्डमा शंकास्पद बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा, बिरामीको उपचारमा आवश्यक पर्ने उपकरणसमेत व्यवस्थापन गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिए। ‘कोरोना भाइरस संक्रमण भएका शंकास्पद बिमारीलाई भेटी पहिलो चरणमा उनीहरूलाई सुरक्षित राखेर पहिचान गर्ने, ल्याब परीक्षण गर्ने र थप उपचारका लागि सुविधा सम्पन्न ठाउँमा पुर्‍याउन आइसोलेसन कक्षले सहयोग पुग्ने उनले जनाए।

 

प्रकाशित: ४ चैत्र २०७६ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App