६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश १: हल्ला धेरै, काम कम

विराटनगर – सर्वसाधारणलाई कोरोना त्रासमा नपर्न आह्वान गर्दै विभिन्न कार्ययोजना सार्वजनिक गरेका प्रदेश र संघीय सरकारले अस्पतालमा गर्नैपर्ने तयारीमा भने पटक्कै चासो दिएका छैनन्। सातायता प्रदेश र संघीय सरकारले उच्च सतर्कता र तयारी गरेको दाबी गरिरहे पनि व्यवहारमा त्यस्तो छैन।

भाषण र हल्ला जोडतोडले गर्ने तर स्वास्थ्य संस्थामा गर्ने तयारीमा ध्यान नदिने सरकारी शैलीले जुनसुकै बेला जोखिम निम्त्याउने चिकित्सक बताउँछन्। प्रदेश १ का ठूला अस्पतालमा सुविधासम्पन्न आइसोलेसन कक्ष तत्कालै बनाइने, स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री बन्दोबस्त गरिने, सीमानाकाहरुमा पर्याप्त स्वास्थ्यकर्मी र एम्बुलेन्स परिचालन गर्नेसहितको कार्ययोजना चार दिनअघि नै प्रदेश सरकारले सार्वजनिक गरेको थियो। तर नाकाहरुमा सतर्कताको त कुरै छाडौं, धरानको बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानबाहेक अन्य अस्पतालमा स्वास्थ्यकर्मीका लागि सुरक्षाका कुनै सामग्री पठाइएको छैन।

प्रदेश १ स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले सामग्री सबै अस्पतालमा पठाएको र उनीहरुले पाइसकेको दाबी गरे। तर कोसी अस्पताल प्रमुख संगीता मिश्रबाहेक अस्पतालका चिकित्सकले त्यस्ता सामग्री नपाएको बताएका छन्। उल्टै चिकित्सकले सरकारले भनेअनुसार तयारीमा ध्यान नदिएको गुनासो गरेका छन्। ‘हामीलाई आइसोलेसन कक्ष बनाउन कुनै समस्या छैन, यहाँ जति पनि बेड उपलब्ध हुन सक्छ’, नोबेल मेडिकल कलेज विराटनगरका निर्देशक डा. राजेश नेपालले भने, ‘तर अहिलेसम्म स्वास्थ्यकर्मीको सुरक्षाका लागि सरकारबाट कुनै सामग्री आएको छैन। संक्रमित फेला परिहालेमा स्वास्थ्यकर्मी कसरी उपचारमा खटिने भन्ने समस्या छ।’ डा. नेपालका अनुसार उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि खुट्टादेखि टाउकोसम्म छोपिने खालको सुरक्षा सामग्री, विशेष खालको मास्क तथा अन्य उपकरण चाहिन्छ। तर आइतबार साँझसम्म नोबेल अस्पतालमा यी कुनै सामग्री उपलब्ध छैनन्।

भाषण र हल्ला जोडतोडले गर्ने तर स्वास्थ्य संस्थामा गर्ने तयारीमा ध्यान नदिने सरकारी शैलीले जुनसुकै बेला जोखिम निम्त्याउने चिकित्सक बताउँछन्।

डा. नेपालका अनुसार कोरोना संक्रमितको उपचारका लागि प्राथमिक सर्त नै स्वास्थ्यकर्मीको सुरक्षा हो। तर आधारभूत विषयमै सरकारले ध्यान दिएको छैन। उनले बिरामीको अत्यधिक चाप हुने अस्पतालमा भन्दा अलग्गै भवन भएका स्वास्थ्य संस्थामा आइसोलेसन कक्ष प्रबन्ध गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रदेश सरकारले झापाको बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजलाई पनि आइसोलेसनका लागि तयारी थाल्न पत्र पठाएको एक साता बितेको छ। तर त्यसका लागि आवश्यक कुनै सामग्री भने पठाइएको छैन। ‘कि सरकारले हामीलाई किन्ने ठाउँ देखाइदिनुप¥यो, हामी आफैं व्यवस्था गर्छौं’, अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिस गिरीले भने, ‘होइन भने सरकारले नै उपलब्ध गराइदिनुप-यो। अहिलेसम्म कुनै सामग्री प्राप्त भएको छैन।’ उनका अनुसार प्रदेश सरकारले अस्पतालमा पाँचवटा मास्कमात्रै पठाएको छ। ‘संक्रमित आएमा त्यो मास्कले मात्रै उपचारमा खटिन कसरी सकिन्छ,’ उनले भने, ‘त्यसैले तयारीमा सरकारले गम्भीरता देखाउन आवश्यक छ।’

प्रदेश सरकारले सुरक्षण सामग्री पठाउन ढिला गरेकै कारण उपचारका लागि चिकित्सक हच्किने गरेका छन्। केही दिनअघि अत्यधिक ज्वरोले ग्रस्त भएर प्रदेश १ का सांसद पूर्णसिंह राजवंशी बी एन्ड सी अस्पताल पुगेका थिए। तर त्यहाँका चिकित्सकले एम्बुलेन्सबाटै उनलाई धरान जान सुझाए। ‘हामीसँग सुरक्षा सामग्री, रोग पत्ता लगाउने प्रविधि केही उपलब्ध छैन’, गिरीले भने, ‘त्यसैले हामीले जोखिम लिनुभन्दा धरान जान सुझाव दिएका हौं।’ अहिले राजवंशी झापाकै अर्को अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्। उनलाई कोरोना संक्रमण भएको थिएन। यसले सरकारले आइसोलेसन कक्ष तयार गर्न भनेकै अस्पताल आफैं कोरोना आतंकको छायामा रहेको देखाउँछ।

भद्रपुरको मेची अस्पतालमा पनि आइसोलेसन कक्ष बनाइने प्रदेश सरकारको कार्ययोजनामा उल्लेख छ। तर त्यहाँ पनि तयारी केही पनि भएको छैन। अस्पतालका प्रमुख डा. पिताम्बर ठाकुरले ‘आइसोलेसन कक्ष तयार नभएको तर तयारी भइरहेको’ बताए। कोसी अस्पताल प्रमुख डा. मिश्रले पनि तयारी सुरु भएको बताइन्। उनले चाहिँ सरकारले १० थान सुरक्षा सामग्री प्रदान गरेको बताइन्।

गत बिहीबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शेरधन राईले २३बुँदे कार्ययोजना सार्वजनिक गरेका थिए। पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का सबै सदस्य उपस्थित भएर प्रदेश सरकार यो मामिलामा गम्भीर रहेको सन्देश पनि दिइएको थियो। सरकारले हरेक नाकामा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरेको त्यहाँ बताइएको थियो। तर सरकारको दाबी गलत साबित हुने घटना भोलिपल्टै विराटनगरमा भयो। एक बिरामीलाई चिकित्सकले कोरोना संक्रमण भएको आशंका गरे। ती व्यक्ति घरैमा ‘सेल्फ क्वारेन्टाइनमा बस्ने’ भन्दै विराटनगरबाट स्वास्थ्यकर्मीको घेराबाट उम्किए। यो शुक्रबारको घटना थियो। शनिबार बिहान उनी पत्नीसहित सार्वजनिक बस चढेर धरान पुगे। त्यहाँका चिकित्सकले यसबारे चिन्ता प्रकट गरेका छन्। यसले पनि एम्बुलेन्सको प्रबन्ध गरिएको, स्वास्थ्यकर्मी परिचालन गरिएको प्रदेश सरकारको दाबीलाई गिज्याउँछ।

सरकारले तोकेका अस्पतालको तयारी निकै फितलो छ। सीमानाकामा झनै समस्याग्रस्त स्थिति छ। झापाको काँकडभिट्टा नाकाबाट दैनिक कम्तीमा १५ हजार ओहोरदोहर गर्छन्। तर हेल्थ डेस्कमा जम्मा ६ जना स्वास्थ्यकर्मी परिचालित छन्। नाकामा भरपर्दो तयारी नभएको विषयमा प्रदेश संसद्मा पनि कुरा उठेको छ। सत्तारुढ नेकपाका सांसद गोपाल बुढाथोकीले आइतबारको संसद् बैठकमा विशेष समय लिएर नाकामा तयारी चित्तबुझ्दो नभएको बताए। ‘पूर्वी नाका काँकडभिट्टाबाट दैनिक १५ हजारभन्दा बढीको ओहोरदोहोर गर्छन्’, उनले भने, ‘त्यसबाहेक नाकाबाट पनि आउनेजाने हुन्छ। त्यहाँ कसले जाँच गर्छ ? कसरी सुरक्षित रहेको अनुभव गर्ने ? यसरी कोरोनामा सतर्कता सम्भव छ ?’

प्रकाशित: ३ चैत्र २०७६ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App