२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नेपालगन्जको मुख्य सडककै अवस्था बेहाल

नेपालगन्जको धम्बोझीस्थित जीर्ण सडक। तस्बिर: अर्जुन/नागरिक

नेपालगन्ज – नेपालगन्ज उपमहानगरको ‘मुटु’ मानिने धम्बोझी चोकदेखि खजुरा जोड्ने सडक खण्डमा अचेल दिनहुँजसो दुर्घटना भइरहन्छन्। घाम लाग्दा धूलाम्य र पानी पर्दा जलामग्न हुने उक्त सडकको अवस्था बेहाल छ। सडकमा ओहोरदोहोर गर्ने सवारीसाधन तथा पैदलयात्रीले अनेक सास्ती खेप्नु परिरहेको छ।

उपमहानगरको मुटुमै रहेको सडकको यस्तो दुरावस्था देखेर दैनिक रूपमा आवतजावत गर्ने सर्वसाधारण चिन्तित छन्। ‘सडकको अवस्था अत्यन्त बेहाल भइसकेको छ तर सडक मर्मत गर्नेतर्फ कसैले चासो दिएको पाइँदैन,’ धम्बोझीका राजेश कुर्मीले भने, ‘घाम लागेपछि धूलाम्य र वर्षा भएपछि हिलाम्य हुने यो सडकमा दिनहुँजसो दुर्घटना निम्तिरहेको छ। यो सडकले कुनदिन मान्छेको ज्यान लिने बेर छैन।’ धम्बोझी चोकबाट पश्चिमतर्फ करिब एक किलोमिटर दूरीमा जिल्ला प्रहरी कार्यालय रहेको छ। सोही सडक हुँदै खजुरा, बर्दियाको गुलरिया र राजापुरसम्मका सवारीसाधन गुड्छन्।

जिप्रका, खजुरा र बर्दियासम्म आवतजावत गर्ने सर्वसाधारणले यही सडक प्रयोग गर्छन्। सडकमा बस, माइक्रो–बस, म्याजिक, इलेक्ट्रिक, अटोरिक्सा, मोटरसाइकल, साइकललगायत सानाठूला सवारीसाधन गुड्छन्। साघुँरो र जीर्ण सडकमा सवारीसाधनबीच प्रतिस्पर्धा नै चल्छ। यसले गर्दा सानातिना दुर्घटना हुने गर्छन्।

सर्वसाधारणमात्र नभएर शान्ति–सुरक्षामा खटिने प्रहरीले नै यो सडकबाट सास्ती खेपिरहेको छ। जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर ओली जीर्ण सडकका कारण प्रहरीलाई शान्ति–सुरक्षामा खटिन कठिनाइ हुने गरेको दुखेसो पोख्छन्। ‘सडकको अवस्था एकदमै बिग्रिसकेको छ, शान्ति–सुरक्षाका लागि प्रहरीलाई तत्कालै दौड्नुपर्ने हुन्छ,’ उनले भने, ‘सडकमा खाल्डाखुल्डी भएका कारण भनेको समयभित्र पुग्न सकिँदैन।’ सडक मर्मत गरिदिन आफूले सडक डिभिजन कार्यालयलाई अनुरोध गरेको एसपी ओलीले सुनाए।

उक्त सडक नेपालगन्ज उपमहानगरपालिकाभित्र परे पनि कार्यक्षेत्र भने सडक डिभिजन कार्यालयको हो। सडक डिभिजन कार्यालयले समयमै मर्मत प्रक्रिया अगाडि नबढाउँदा सडक जीर्ण बनेको हो। नगरप्रमुख डाक्टर धवलशम्सेर राणाले जीर्ण सडक उपमहानगरपालिकाको कार्यक्षेत्रभित्र नपर्ने स्पष्ट पार्दै आवश्यक मर्मत गर्न सडक डिभिजन कार्यालयले ठेक्का लगाइसकेको जानकारी प्राप्त भएको बताए। ‘सडकमा खाल्डाखुल्डी भएको हुँदा मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ तर मर्मतका लागि सडक डिभिजनले ठेक्का सम्झौता गरिसकेको कुरा सुनेको छु,’ राणाले भने।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख रामकुमार देवले जीर्ण सडक मर्मतका लागि ठेक्का सम्झौता भइसकेको बताए। ‘सडक मर्मतका लागि ठेक्का भइसकेको छ,’ उनले भने, ‘अब केही दिनभित्रै काम सुरु भएको देख्नुहुन्छ।’ डिभिजन प्रमुख देवका अनुसार ठेकेदारले कम्पनीले आगामी असार मसान्तभित्र काम सम्पन्न गर्ने समय पाएको छ तर वैशाखसम्ममा काम सम्पन्न हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २६ फाल्गुन २०७६ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App