२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

जनगणना २०७८ को तयारी थालियो

खोटाङ– खोटाङमा राष्ट्रिय जनगणना २०७८ को तयारी थालिएको छ। ‘मेरो जनगणना–मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन गरिने जनगणनालाई सफल र प्रभावकारी बनाउनका लागि तथ्यांक कार्यालय उदयपुरले पूर्व तयारी थालेको हो।

‘कोही नछुटुन् र कोही नदोहोरिउन्’ भन्ने मान्यता अनुसार जनगणनालाई सफल पार्नका लागि शुक्रबार दिक्तेलमा राष्ट्रिय जनगणनाको तयारीका सन्दर्भमा जिल्ला स्तरिय अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ। पारिवारिक र व्यक्तिगत विवरणलाई प्राथमिकतामा राखेर जनगणनाको काम गरिने तथ्यांक कार्यालय उदयपुरका तथ्यांक अधिकृत शिवनारायण महतोले बताए।

महतोका अनुसार बैशाख २५ गतेदेखि जेठ १५ गतेसम्म घरपरिवार सूचीकरण, जेठ २५ गतेदेखि असार ८ गतेसम्म मुल गणना र जेठ २५ गतेदेखि असार ८ गतेसम्म सामुदायीक प्रश्नावलीको काम हुने छ। जनगणनाकाक्रममा घरको संरचना, घरायसी सुविधा तथा घर परिवार सम्बन्धि विवरण, परिवारमा अनुपस्थित स्वदेश तथा विदेशमा रहेका व्यक्तिको विवरण, मृत्यु तथा मातृमृत्यु, परिवारले चलाएको साना घरेलु व्यवसाय लगायतका पारिवारिक विवरण संकलनको काम गरिने जनाइएको छ। यस्तै, व्यक्तीको शैक्षिक अवस्था, भाषा, प्रजनन, जातजाती, अपांगता, बसाइसराई, बैवाहिक अवस्था, आर्थिक क्रियाकलाप (रोगगारी तथा बेरोजगार) लगायतका तथ्यांक संकलनको काम गरिने महतोले बताए।

जनगणनाले जनसांख्यिक विवरण, लैंगिक, ज्येष्ठ नागरिक, बालबालिका तथा युवा, घरको अवस्था तथा घरपरिवारले उपयोग गर्ने सुविधा, शिक्षा, श्रमशक्ति, जनसंख्या प्रक्षेपण, बसाइसराई र शहरीकरण सम्बन्धि तथ्यांक प्राप्त हुने छ। यसबाहेक मातृ मृत्युदर, अन्य मृत्यु, प्रजनन, अपांगता, जातजाति तथा भाषा सम्बन्धि पनि तथ्यांकीय जानकारी प्राप्त हुने महतोले बताए।

१० वर्षपछि हुन लागेको जनगणनाले स्थानीय तहमा खड्किएको तथ्यांक अभाव पूर्ति गर्ने, एकीकृत तथ्यांक प्रणाली विकास गर्ने, गरिबी दर, बेरोजगार दर, कुलगार्हस्थ उत्पादन, मानव विकास सुचकांक लगायतका सूचक अनुमान गर्न सहयोग पुग्ने, सरकारको तल्लो तहसम्म सूचना र तथ्यांकको प्रयोगले उच्च प्राथमिकता पाउने तथ्यांक कार्यालयले जनाएको छ।

विक्रम सम्बत २०६८ सालमा सम्पन्न जनगणना ११ औं हो। नेपालमा विक्रम सम्बत १९६८ सालदेखि प्रत्येक १० वर्षको अन्तरमा जनगणना हुँदै आएको छ।

कार्यक्रममा सहभागीले विगतमा गरिएको जनगणनामा कैयौं त्रुटी भेटिएकाले आगामी गणनालाई फलदायी बनाउन सुझाव दिएका छन्। प्रमुख अतिथिकारुपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले गणकहरुले घर घरमा गएर तथ्यांक संकलन गरे मात्र वास्तविक तथ्यांक संकलन हुने बताए। कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पालिका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैर–सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, शिक्षक, पत्रकारलगायतको सहभागिता रहेको थियो। कार्यक्रम प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित: २४ फाल्गुन २०७६ १३:४३ शनिबार

जनगणना तयारी