१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

डिप्रेसनको विरामी भएको आफन्तको भनाई

धरान- कोरियाबाट नेपाल आएपछि उपचार गर्न टेकु अस्पताल पुगेका एक व्यक्तिलाई अस्पतालबाटै भागेपछि सनसनी मच्चिएको थियो। ती व्यक्ति टेकुबाट भागेर बिहीबार आफ्नो घर धरान आएका थिए।

घर आएपछि उनलाई परिवारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्न लगेका थिए। त्यहाँबाट पनि उनी राति भागेर गए पनि केही समयपछि प्रहरीले पुनः फेला पारेर अस्पतालमै लगेका थिए। उनी कोरियाबाट मंगलबार नेपाल आएका थिए भने बुधबार आफूलाई कोरोना भएको भन्दै टेकु अस्पताल पुगेका थिए। वीपी प्रतिष्ठानका चिकित्सकहरुले भने ती व्यक्तिमा कोरोनाको कुनै पनि लक्षण नभएको प्रष्ट गरेको छ। यद्यपी, उनको थ्रोट स्वाब जाँच गर्न बिहीबार नै टेकु अस्पताल पठाइएको पनि प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए।

डा.ऐरका अनुसार उनलाई प्रतिष्ठानले आइसोलेसन वार्डमा राखिएको छ। उनलाई ज्वरो पनि आएको छैन भने कोरोना हुँदा हुनुपर्ने कुनै लक्षणहरु पनि देखिएको छैन। ‘उहाँमा कोरोना सम्बन्धि कुनै लक्षण केही पनि देखिएको छैन। सुरुमा स्क्रिनिङ गर्दा पनि प्रारम्भिक लक्षणहरु ज्वरो आउनेलगायत केही पनि छैन। उहाँको गतिविधिले गर्दा मानिसहरु त्रसित भएको अवस्था छ,’प्रतिष्ठानका सहप्रवक्ता डा.ऐरले भने,‘उहाँलाई विरामी नै भनिहाल्नु पर्ने जरुरी  पनि छैन। शंका लागेको मात्र हो, शंका त जसलाई पनि लाग्नसक्छ।’

ती व्यक्तिका आफन्तहरुले भने चिकित्सकहरुले कोठामा मात्र राखेको र उपचार नगरेको गुनासो गरेका छन्। तर, सहप्रवक्ता ऐरले भने विरामी नै नभएको व्यक्तिलाई उपचार गर्नुपर्ने आवश्यकता  नभएको बताए। ‘आइसोलेसनको लागि मात्र राखेको हो। विरामी भएर होइन। विरामी नै नभएको व्यक्तिलाई के उपचार गर्ने? रिपोर्टमा नेगेटिभ आयो भने घर गइहाल्नुहुन्छ, पोजेटिभ आयो भने मात्र थप उपचार हुन्छ,’उनले भने।

पहिल्यैदेखि डिप्रेसनको विरामी
टेकुबाट भागेर धरान घर आएका ती व्यक्ति पहिलादेखि नै डिप्रेसनको शिकार भएको आफन्तहरुले बताएका छन्। करिब अढाई वर्षअघि आमाको मृत्यु भएदेखि उनमा केही मानसिक समस्या देखा परेको उनका जेठानले बताए। अहिले कोरियामा पनि कोरोना देखा परेपछि उनी थप भयभित हुन पुगेको र ३१ महिनामै घर फर्किएको उनको भनाई छ।

जेठानी दिदीले पनि कोरियाबाट काठमाडौं फर्केपछि घाँटीमा केही समस्या आएपछि टेकुमा उपचार गराउन गएको र आइसोलेसनमा राखेपछि थप मानसिक त्रासमा परेर भागेर घर आएको बताइन्। प्रतिष्ठानका सहप्रवक्ता डा.ऐरले भने डिप्रेसनलगायत समस्याहरुबारे सम्बन्धित विभागका बिशेषज्ञ चिकित्सकहरुबाट उपचार तथा परामर्श भइरहेको जानकारी दिए।

‘वीपीमा कोरोनाको टिम नै छ, अरु समस्या, शंकाहरुबारे पनि विभिन्न विभागको डाक्टरहरुबाट पनि परामर्श भइरहेको छ,’उनले भने,‘उनको अवस्था हेर्दा डरले अस्थिर स्वभाव, व्यवहार देखा परेको छ। भूकम्पको बेला मानिसहरुलाई भएको डरजस्तै देखा परेको हुनसक्छ। बिशेषज्ञबाट परामर्श भइरहेको छ।’

प्रकाशित: २३ फाल्गुन २०७६ १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App