१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौंबाट सुर्खेत गएका एकजनालाई आइसोलेसनमा राखियो

वीरेन्द्रनगर- काठमाडौंबाट सुर्खेत आएका एक जनामा उच्च ज्वरो देखिएपछि उनलाई आइसोलेसनमा राखिएको छ। उनमा १०५ डिग्री ज्वरो देखिएको थियो। १०४ डिग्रीभन्दा बढी ज्वरो देखिएकालाई आइसोलेसनमा राखिने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले जानकारी दिइन्। ‘आइसोलेसनमा राखिएकोलाई कोरोना भाइरसको शंका गरिएको छैन,’ उनले भनिन्, ‘बनाएको मापदण्डभन्दा बढी ज्वरो देखिएपछि उनलाई निगरानीमा राखिएको हो।’

विश्वभरि फैलिएको उक्त भारइस कर्णालीलगायत नेपालमा नदेखिएको उनको भनाइ छ। कर्णालीमा तत्काल कोरोना नदेखिए पनि जोखिम भने उस्तै छ। कोरोनाको उत्पत्ति भएको स्थान चीनसँग सिमाना जोडिनु, कर्णालीका बढी मानिस रोजगारीका लागि जाने भारतमा पनि कोरोना देखा पर्नुले पनि कर्णाली जोखिममा छ।

कोरोना भाइरस भित्रिन नदिन कर्णाली प्रदेश सरकारले चीनको स्वसासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको हुम्लाको हिल्सा र सुर्खेत विमानस्थलमा चेकजाँच सुरु गरेको छ। कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार रत्न राजमार्गको बबई र राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोटमा पनि हेल्थडेस्क स्थापनाका लागि आवश्यक पहल भइ रहेको सामाजिक विकास मन्त्रालयका निमित्त प्रदेश सचिव विष्णुप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार सामाजिक विकास मन्त्रालयले कोरोना भाइरससम्बन्धि चेतना दिने खालका पोस्टर, पम्पलेट वितरण गरेको छ।

सुर्खेत विमानस्थलमा पहिलो दिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत ३७ जनाको चेकजाँच गरिएको छ। उनीहरू सबैमा सामान्य देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। ‘आवश्यक कदम चालिरहेका छौं,’ स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले भने, ‘कर्णालीमा आत्तिनु पर्ने अवस्था छैन।’ यसका साथै संघीय सरकारले पठाएका चिकित्सकको टोली कर्णालीमा पुगेको छ। उक्त टोलीले आफ्नो काम कारबाही थालनी गरिसकेको वरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले बताए।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक बस्ने र आवश्यक कदमहरू चाल्ने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। तयारीस्वरूप कर्णालीमा सात सदस्यीय कार्यदल पनि गठन भएको छ। स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीको अध्यक्षतामा अन्य स्वास्थ्यकर्मी, स्वास्थ्यसँग सम्बन्धित कर्मचारी सम्मेलित सात सदस्यीय उक्त समितिले कोरोना भाइरसको लक्षण देखिए वा शंका माने तत्काल त्यसको उद्दार गरी उपचारमा सघाउने छ।

स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक जोशीका अनुसार हिँडडुल गर्दा मास्कको प्रयोग गर्ने र धेरै मान्छे जम्मा हुने भेला, महोत्सवजस्ता कार्यक्रम नगर्न, साथी–साथीबीच हात मिलाउनुभन्दा नमस्कार गर्न अनुरोध गरेकी छिन्। चीनभन्दा भारतमा कोरोना देखिएपछि कर्णालीमा सहजै भित्रिन सक्ने आकलन गरिएको छ।
 

प्रकाशित: २३ फाल्गुन २०७६ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App