खोटाङ – रावाबेंसी गाउँपालिका–३ लामीडाँडाको रभुँवा माझीगाउँमा कोसी पूजा गरेका छन्। ‘सबैको फलिफाप होस्, चिताएको पुगोस्’ भन्ने कामना गर्दै रभुँवाका अल्पसंख्यक माझी समुदायले दूधकोसीमा पुगेर पूजा गरेका हुन्। पाठी, कुखुराको भाले, परेवा, हाँस र अण्डाको बली दिएर कोसी पूजा गरिएको रावाबेंसी–३ का वडासदस्य सोमबहादुर माझीले बताए।
नेपाल माझी उत्थान संघ जिल्ला समितिको अगुवाइमा रभुँवाका माझी समुदायले हरेक वर्ष फागुन तेस्रो साता कोसी पूजा गर्दै आएका छन्। बाजेबराजुका पालादेखि चल्दै आएको कोसी पूजा सकेपछि गाउँमा भेला भएर खानपिनसहित रमाइलो गर्ने प्रचलन छ। पाँच किसिमका बलि दिइने भएकाले कोसी पूजालाई पञ्चौली पूजा पनि भन्ने चलन रहेको स्थानीय शम्भु माझीले बताए। कोसी पूजापछि स्थानीय रावा प्राविमा युवा नेता खेमराज देउसालीको प्रमुख आतिथ्यमा कोसी पूजाको औपचारिक कार्यक्रम गरियो।
लामीडाँडामा ८७ घर माझी समुदाय छन्। रभुँवाको माझीगाउँमा ६२ घर माझी छन्। कोसी पूजाका लागि गाउँ छाडेर काठमाडौंलगायत सहरमा बसिरहेका माझीसमेत गाउँमा आएका छन्। पूजामा सोलुखुम्बु र ओखलढुंगाका माझीसमेत आउने नेपाल माझी उत्थान संघ जिल्ला समिति खोटाङले जनाएको छ। कोसी पूजालाई आफन्तबीचमा भेला हुने अवसरका रूपमा समेत लिने गरिएको छ। पूजाका दिन माछाको परिकार र जाँडलाई सगुन (प्रसाद) का रूपमा बाँड्ने गरिन्छ। पाहुनाका रूपमा बोलाइएका अतिथिलाई सुरुमा सगुन दिएर सम्मान गर्ने माझी समुदायको प्रचलन छ। कोसी पूजाका दिन कोही नदीमा जाल हान्न व्यस्त रहन्छन् भने कोही पूजाआजामा व्यास्त रहन्छन्।
रभुँवाका माझी समुदायले दूधकोसीसँगै रावाखोलाको पनि पूजा गर्छन्। रावाखोलाको पनि पूजा गर्नुपर्ने भएकाले उनीहरू दूधकोसी र रावा खोलाको संगमस्थल रावा दोभानमा पुगेर कोसी पूजा गर्छन्। वर्षौंदेखि हरेक वर्षको फागु पूर्णिमाका दिन कोसी पूजा, देवी पूजा र डुंगा पूजा गर्ने प्रचलन रहिआएकोमा २०७४ सालदेखि पञ्चौली पूजा सुरु गरिएको माझीले बताए। तर, पुल बनेसँगै डुंगा चलाउने पेसा हराएकाले हाल डुंगा पूजा भने गर्न छाडिएको छ। रभुँवाका माझी समुदायले आफू वर्षौंदेखि सो स्थानमा बस्दै आएको बताउँछन्। हालसम्म उनीहरू आफ्नो भाषा, रहनसहन र संस्कार जोगाउन सफल छन्। जिल्लाकै घोपाटार, जयराम, बतासेघाट, गोडुलीघाट, रसुवाघाटमा पनि माझी समुदायको बसोबास छ।
प्रकाशित: २३ फाल्गुन २०७६ ०२:५४ शुक्रबार