४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अपूरो पढाइमा वार्षिक परीक्षा

नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयका विद्यार्थी। तस्बिरःदिनेश/नागरिक

रोल्पा - नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगाम रोल्पामा हिजोआज ‘ट्युसन’ पढाउन भ्याई नभ्याई छ। यहाँ एसईई दिने कक्षा १० का विद्यार्थीको अंग्रेजी र सामाजिक विषयको कोर्ष आधा मात्रै सकिएको छ। त्यही पनि विद्यार्थीहरु बुझ्दै नबुझेको बताउँछन्। त्यसो त कक्षा ९ का विद्यार्थीको पनि कतिपय विषयको आधा कोर्ष मात्रै सकिएको छ। विद्यार्थीका अनुसार दुई सय २ पेज रहेको अंग्रेजी किताबको एक सय २४ पेजसम्म मात्र पढाई भएको छ।

यहि फाल्गुन २२ गतेदेखि हुने बार्षिक परीक्षा र चैत ६ गते देखि सुरु हुने एसईईका विद्यार्र्थीले कतिपय बिषयको कोर्ष पूरा नगरेरै परीक्षामा सहभागिता जनाउने भएका छन्। ‘गाउँ तिर शैक्षिक बाताबरण नै छैन। यो बर्ष मात्रै करिब २० जनाले बिद्यालय छोडे।’ बिद्यालयका प्रअ धनबहादुर पुनले भने ‘शिक्षक अभावले पनि पठनपाठनमा समस्या आएको हो। अभिभावकलाई पनि चासो छैन। कोर्ष समयमा नसकिनुमा शिक्षक अभाव हुनु मुख्य कारण हो।’

अभिभावकबाट चन्दा उठाएर माध्यामिक तह चलाएको बताउने बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष हेमन्त पुन सामाजिक जागरण नभएको बताउँछन्। ‘घरमा पढ्ने बाताबरण हुँुदैन। बिद्यालयमा प्रयाप्त दरबन्दी छैन। अनि कसरी कोर्ष सकियोस।’ अध्यक्षका अनुसार कतिपय कक्षामा ७०–८० जना विद्यार्थी एउटै कोठामा राखिन्छन्। ‘दरबन्दी नभए जस्तै भौतिक समस्या पनि उत्तिकै छ।’

वडा अध्यक्ष अमरजीत पुन चाहि प्रअ र विद्यालय ब्यबस्थापन समितिका अध्यक्षले भने जस्तो मात्र समस्या नभएको बताउँछन्। ‘निजी श्रोतका भए पनि शिक्षक त छन नि। यहाँ शिक्षकले राजनीति सुरु गरेपछि पढाई अस्त ब्यस्त बनेको हो।’ उनि भन्छन् ‘शिक्षक दरबन्दी नहुनु र पढ्नु पर्छ भन्ने सस्कार नहुनु त छदै छ तर शिक्षकहरुले पनि पढाउने जागर कम गर्छन्।’ आफ्नो क्षेत्रको शैक्षिक अवस्था खस्किदै गएकोप्रति दिक्क बनेका वडा अध्यक्ष पुन आगामी शैक्षिक सत्रमा पढाई सुधार गर्न थप केहि गर्ने सोचमा रहेको बताउछन्।

नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय जस्तै रोल्पाका धेरै विद्यालयमा कोर्ष अपुरो छ। कोर्ष सकिएका ठाउँमा पनि जबरजस्त पढाइएको छ। विद्यार्थीहरु कक्षा कोठामा पाठ नबुझेरै माथिल्लो कक्षामा प्रवेश गर्नेहुदा भोलिका दिनमा नतिजा गतिलो नआउने समस्या दोहोरिने गरेको हो। ‘हाम्रोमा साझ बिहान पढाएर भए पनि कोर्ष सकाउन थालेका छन्। यसले विद्यार्थिलाई चाप भने पर्छ।’ दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका शिक्षा शाखाका कुलराज आचार्यले भने।

शैक्षिक नतिजा सुधार  हुन नसकेको बिषयमा स्थानीय तहले खासै चासो राख्ने गरेका छैनन। ‘बार्षिक परीक्षाका लागि तयारी भइरहेको छ। एकाध बिषय बाहेक अरुको कोर्ष सकिएको जानकारी आएको छ। डिटेलमा भने बुझिएको छैन।’ थवाङ गाउँपालिका अध्यक्ष बिरबहादुर घर्तीले भने ‘सके सम्म परिक्षा सुरु हुनु भन्दा अगाडी कोर्ष सकाउने भनेर छलफल भएको थियो।’

जिम्मेवारीमा चुकेका विद्यार्थी संगठन
विद्यार्थीको अधिकारको लागि भन्दै गठन भएका विद्यार्थी संगठनहरुले पनि यसमा खासै केही गर्न सकेका छैनन्। जिल्लामा कृयाशिल रहेका कुनै पनि विद्यार्र्थी संगठनले आजसम्म पठनपाठनका बिषयमा बैठक वा छलफल समेत गरेका छैनन्।

रोल्पाका कति विद्यालयमा पढाई कहाँ पुग्यो, पढाईको अबस्था कस्तो छ भन्ने हेक्का नराखेका विद्यार्थी संगठनहरु माउ पार्टी भन्दा पनि गैर जिम्मेवार भएपछि शैक्षिक क्षेत्र सुधारमा टेवा नपुगेको हो। सधै राजनीतिज्ञको अघिपछि हिड्ने विद्यार्थी नेतृत्वले आफ्नो कर्तब्य पुरा नगरेपछि उनिहरुको भूमिका र आबस्यकतामाथि नै प्रश्न उठ्न थालेको छ।

प्रत्येक माध्यमिक बिद्यालयमा आफ्नो संगठन रहेको दाबी गर्ने यि विद्यार्थी नेतृत्वहरुले हिजोका बर्षहरुमा जस्तै यो बर्ष पनि कति बिद्यालयमा कति प्रतिसत कोर्ष पढाई भयो भन्ने जानकारी पनि राखेका छैनन्। आधा कोर्ष मात्र पढेर बार्षिक परीक्षामा सहभागी हुने विद्यार्र्थीको मर्काको बारेमा छलफल समेत चलाउदैनन्।

सरकारी नेकपाको भातृ संगठन अनेरास्ववियूका जिल्ला संयोजक भीम सुनार पूर्वी रोल्पाको एक दुई ठाउँबाट गुनासो आएको बताउछन्। ‘खासै गुनासो आएको छैन। हामी आफैले शैक्षिक अबस्था बुझ्नु पर्ने हो तर यहाँ नेर संगठन चुकेको छ। अबका दिनहरुमा हेर्नु पर्ला।’

सुनार जस्तै कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्र्थी संघ रोल्पाका अध्यक्ष शेरबहादुर थापाले भने ‘विद्यार्थी संगठनका तर्फबाट शैक्षिक अबस्थाको अनुगमन भएको छैन। धेरै ठाउँमा कोर्ष नसकिएको थाहा भने छ तर योजना बनाएर हेरिएको छैन। अनुगमनका बिषयमा हामीले गर्नु पर्ने ठाउँमा चुकेका छौ।’ संगठनको दुबै प्रमुखहरु शैक्षिक अबस्था सुधार गर्न विद्यार्थी संगठनले पनि भूमिका बढाउनु पर्ने बताउँछन्।

गैर जिम्मेवार शिक्षक संगठन
त्यसो त आफ्नो अधिकारका लागि भन्दै राजनीतिक दलको सुभेच्छुक संस्थाका रुपमा गठन गरिएका शिक्षकका बिभिन्न संगठनहरुले पनि कर्तब्य भने भुलेका छन्। आफ्नो सरुवा, दरबन्दी मिलान, जबरजस्त स्थायी लगायतका मुद्धामा हड्ताल समेत गर्ने उनिहरुले बिद्यालयको शैक्षिक सुधारका बिषयमा आवाज उठाउने गर्दैनन्। ठूला दल भनिएका पार्टीका ति संगठनहरुले कहिल्यै पनि विद्यार्थीको पठनपाठनका बारेमा छलफल गरेका छैनन्।

आफ्नो संगठन अन्र्तगतका सबै शिक्षकलाई अनिबार्य कोर्ष सकाउन सर्कुलर गरेको बताउने सरकारी नेकपाका शिक्षक संगठनका अध्यक्ष मधुसुदन पोख्रेलले भने ‘बिगतमा भन्दा सुधार भएको छ तर सोचे जस्तो भएको छैन।’ उनका अनुसार शिक्षक संगठनहरुले कोर्ष सके नसकिएको बिषयमा छलफल भने गरेका छैनन्।

पोख्रेल जस्तै कांग्रेस निकट शिक्षक संघका अध्यक्ष मिलन मल्ल कतैबाट गुनासो नआएको बताउछन्। ‘कतै कतै नसकिएको होला। हामीले पनि बुझेका भने छैनौ। सबै ठाउँमा त कोर्ष नसकिएको होला जे भए पनि सक्नु पर्छ भन्ने मान्यता भने हो।’

प्रकाशित: २२ फाल्गुन २०७६ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App