१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना त्रास: अपूरो संरचनामा पूर्व तयारी

पोखरा – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएपछि पोखरामा सतर्कता अपनाउँदै पूर्वतयारी थालिएको छ। पूर्वतयारी थाले पनि पूर्वाधार र उपचारार्थ चाहिने सावधानीका सामग्री भने अभाव रहेको स्वास्थ्यकर्मीले बताएका छन्। बिरामीको उपचारार्थ आवश्यक सामग्रीको जोहाप्रयास भइरहेको उनीहरुको भनाइ छ।

अहिलेसम्म पोखरामा कोरोना संक्रमण नदेखिए पनि विभिन्न मुलुकका पर्यटक भित्रिने गन्तव्य भएकोले पोखरा कोरोनाको उच्च जोखिममा रहेको सहर भएको स्वास्थ्यकर्मीले बताएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्मामा अनुसार यहाँका चारवटा अस्पतालमा ६० शड्ढयाको आइसोलेसन वार्ड तयार पारे पनि उपचारार्थ चाहिने अरू पूर्वाधार र सामग्री भने अभाव रहेको बताए।

शर्मामा अनुसार पोखराको चरक मेमोरियल अस्पतालमा २७, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा १५÷१५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (क्षेत्रीय अस्पताल) मा तीन गरी ६० शड्ढयाको आइसोलेसन वार्ड तयार भएको छ। पोखराका ६० शड्ढयाको आइसोलेसन वार्डले अपुग भएमा आइएनएफको ५० शड्ढया र त्यसले पनि थेग्न नसकेमा टेन्ट राखेर भए पनि उपचारको व्यवस्था मिलाइएको छ। संक्रमण अझै फैलिएमा पोखरासहित बागलुङका अस्पताललाई पनि उपयोग गर्ने तयारी भएको उनले जानकारी दिए। त्यस्तै प्रदेशभित्र २७ वटा स्वास्थ्य संस्थालाई स्याटेलाइट अस्पतालको रूपमा विकास गर्ने पनि जानकारी दिए।

संक्रमण बढ्दै गएर क्वारेन्टाइन आवश्यक परेमा पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कुनै खण्ड उपयोग गर्न सकिने गरी छलफल भइरहेको शर्माले जानकारी दिए। क्वारेन्टाइनमा रहँदा अरूलाई असर नपर्ने भएकाले पनि पूर्वाधार आवश्यक ठानिएको शर्माले बताए। ‘कोरोना भाइरसले विश्वव्यापी प्रभाव देखाउँदा चिन्ताको विषय बनेको हो,’ उनले भने, ‘जंगलमा लागेको डढेलोजस्तो तीव्र गतिमा भाइरस फैलिएकाले सचेतना अपनाउन जरुरी परेको हो।’

उपचारार्थ सामान छैनन्
कोरोना भाइरस उपचारमा खटिने स्वास्थ्यकर्मीले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिइ) लगाउनुपर्छ। कोरोना भाइरस फैलन सुरु हुँदा यो सेट पोखरामा एउटा पनि थिएन। अहिले २४ सेटमात्र गण्डकी प्रदेशका लागि छुट्याइएको छ। तर २४ सेटले मात्र अपुग हुने स्वास्थ्यकर्मीको भनाइ छ। ‘सुरुमा एक सेट किन्न खोज्दा दुई हजार दुई सय रुपैयाँ मूल्य सुनियो, भोलिपल्ट अर्कै ठाउँमा ६ सय रुपैयाँमा पाउने थाहा पायौं,’ निर्देशनालयका निर्देशक शर्माले भने, ‘सस्तोमा पाएर किन्न खोज्दा त झनै मूल्य बढाएर आठ हजार दुई सय रुपैयाँ तोकियो। त्यसपछि प्रक्रिया अघि बढेको छैन। उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि चाहिने सामान नै अभाव छ।’ उपचारका सामग्री किन्न पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको पनि उनले बताए।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले पनि पिपिइ सामग्री नै अभाव भएको बताए। ‘उपचारार्थ खटिने स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षित पोशाकसहितका उपकरणको अभाव छ। कहाँ र कति मूल्यमा खरिद गर्न पाइन्छ भन्ने नै यकिन भएन,’ शर्माले भने, ‘बजारमा माक्स र स्यानिटाइजरजस्ता सामान पनि अभाव हुन थालेको छ। ती सामानको मूल्य वृद्धि भइसकेको छ।’ बिरामीलाई ओसारपसार गर्न सुविधासम्पन्न एम्बुलेन्स (टाइप–ए) चाहिने भए पनि पोखरामा अहिले टाइप–ए एम्बुलेन्स नै नभएको पनि शर्माले बताए। ‘संक्रमण नफैलिए त केही आवश्यक परेन। तर संक्रमणले डरलाग्दो रूप लिने हो कि भन्ने मात्र त्रास हो,’ उनले भने, ‘अपुरो तयारीमा हामी छौं। तर सकेसम्मको प्रयास हुनेछ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले उपचारमा खटिने चिकित्सकको सुरक्षाका लागि विशेष ध्यान दिनुपर्ने बताए। भविष्यमा संक्रमण फैलिएको अवस्थामा स्वास्थ्यकर्मी नै उपचारार्थ खटिन डराउने भएकाले विशेष ध्यान दिनुपर्ने बताए। ‘उपचारमा खटिने स्वाथ्यकर्मी नै जोखिममा हुने भएकाले झनै बढी सचेत हुनुपर्छ,’ उनले भने। आचार्यले आवश्यक परेको खण्डमा प्रतिष्ठानमा चालु अवस्थामा रहेका चार सय शड्ढया नै उपयोग गर्न सकिने बताए।

विशिष्ट अस्पताल आवश्यक
अघिल्लो वर्ष पोखरामा डेंगीको संक्रमण फैलियो। यो पटक फेरि कोरोनाको त्रास उस्तै छ। यस्तै सरुवा रोग बर्सेनि फैलिन थालेपछि पोखरामा एउटा सुविधासम्पन्न विशिष्टकृत अस्पतालको महसुस गरिएको छ। त्यही अभाव पूर्ति गर्न पोखरामा सय शड्ढयाको विशिष्टकृति र दुई सय शड्ढयाको क्वारेन्टाइन अस्पताल बनाउने प्रस्ताव प्रदेश सरकारले अघि सारेको छ। एक अर्ब ३४ करोड रुपैयाँ लागत अनुमान गरिएको अस्पताल बनाउन प्रदेश सरकारसँग छलफल चलाइरहेको निर्देशक शर्माको भनाइ छ।

प्रकाशित: २२ फाल्गुन २०७६ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App