१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

रातो मच्छिन्द्रनाथ उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिने

ललितपुर – २०७२ सालको गोरखा भूकम्प गएको पाँच वर्ष हुन लाग्दा ललितपुर महानगरपालिका–२२ बुंमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको अझै पुनर्निर्माण हुनसकेको छैन। मन्दिर पुनर्निर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलंका सरकारले विगतका तीन ठेकेदार थेगिस, पेरा र तुलसी कन्स्ट्रक्सन जेभीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि मन्दिर पुनर्निर्माणका लागि ठ्याक्कै हात झिकिसकेको छ। श्रीलंका सरकारले हात झिकेको दुई महिना भइसक्दा पनि मन्दिर पुनर्निर्माणका लागि कसले कदम अघि बढाउँछ भन्ने अन्योल कायम छ।

सार्वजनिक खरीद ऐन, २०६३ बमोजिम मन्दिर पुनर्निर्माणका लागि ठेक्कापट्टा गर्दा चाहेको गुणस्तर पाउन नसकिने महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए। ‘हामीले उपभोक्ता समिति गठन गरी यस मन्दिरको पुनर्निर्माण गर्ने निर्णय गरिसकेका छौँ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउन तत्पर भइसकेको छ,’ उनले भने। महानगर प्रमुख महर्जनकाअनुसार मन्दिर पुनर्निर्माणका लागि अब ठेक्कापट्टा नगरिने कुरा अघि बढेको छ। मन्दिर पुनर्निर्माणका लागि पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दुवैबाट महानगरपालिकामा हालसम्म समिति गठन गर्नु भनी पत्र नआएको उनले बताए।

‘यदि प्राधिकरणले विभागलाई लेखेबमोजिम महानगरपालिकामा उपभोक्ता समिति गठन गर भनेर पत्र आयो भने छिट्टै समिति गठन गरी काम अघि बढाउने छाँै,’ उनले भने। प्राधिकरणले विभागलाई समितिमार्फत मन्दिर पुनर्निर्माण गर्ने सल्लाहसहित पत्र पठाएको थाहा पाएर आफू खोज्न गए पनि विभाग र प्राधिकरण दुवैबाट महानगरपालिकामा समिति गठन गर्नु भनेर हालसम्म कुनै पत्र नआएको महानगर प्रमुख महर्जनले बताए।

श्रीलंका सरकारअन्तर्गत मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको काम ४० प्रतिशत सम्पन्न भइसकेको छ। श्रीलंका सरकारले सहयोग गर्ने भनेको रकममा लगभग तीन करोडको काम गर्न अझै बाँकी नै रहेको हुँदा महानगरपालिकाले चासो देखाए छिट्टै काम अघि बढाउने बताइएको छ। विभागसँग अर्बौ रकम रहेको हुँदा मच्छिन्द्रनाथ पुनर्निर्माणका लागि समिति गठन भएर आएपछि छिट्टै काम अघि बढाइने भएको छ।

विगतमा समझदारी भएको तीन ठेकेदार कम्पनीबीचमा आपसी विवादका कारण मन्दिर पुनर्निर्माणको काम समयमै गर्न नसकिएको पाटन दरबार संग्रहालयका प्रमुख सन्दीप खनालले बताए। ‘मन्दिरमा रहेका १३ देखि १४ सय वर्ष पुराना वस्तुको पुनःप्रयोग गरी पुनर्निर्माणको काम अघि बढाउने छौँ। मन्दिर पुनर्निर्माणका लागि अघि नै खरिद गरेर राखिएका ४० लाख बराबरको सामग्री त्यसै थन्किएका छन्।’

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुंमतीमा राख्ने गरिन्छ। रातो मच्छिन्द्रनाथको जात्रालाई उपत्यकाको लामो जात्राको रूपमा मनाउने गरिन्छ। प्रत्येक वर्ष जावलाखेलमा भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई बुंमतीको सोही मन्दिरमा लगेर राखिन्थ्यो। भूकम्पपछि मच्छिन्द्रनाथलाई बुंमतीको एक गुठीको घरमा राखिँदै आएको छ।

विभागले अब मन्दिर पुनर्निर्माणको काम अघि बढाउन तीन करोड रुपैयाँ लाग्ने अनुमान गरिसकेको छ। काम अघि बढाएको एकदेखि डेढ वर्षमा काम सक्ने योजनामा विभाग छ। समिति गठन भएर आएपछि विगतका ठेकेदार कम्पनीले सो कामको जिम्मा पाउने छैनन्। शिखरशैलीको ढाँचामा रहेको मन्दिर निर्माणमा ३६ फिट लामो काठको प्रयोग गरिने मन्दिरका पानेजु सूूर्यमान डंगोलले जानकारी दिए।

मन्दिर पुनर्निर्माणमा पुरानै मौलिकता झल्काउन स्थानीयवासीले पटकपटक सम्बन्धित निकायलाई आग्रह गरिरहेका छन्। मन्दिर पुनर्निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई विभिन्न चाडपर्वमा असर पर्ने गरेको महानगरपालिका–२२ का वडाध्यक्ष अम्बिरराज शाक्यले बताए। रातो मच्छिन्द्रनाथ जात्रा मनाउन उपत्यकाको तीनै जिल्लाका मानिसका साथै विभिन्न विदेशी मुलुकका मानिस पनि पाटन आउने गर्दछन्।रासस

प्रकाशित: २१ फाल्गुन २०७६ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App