५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

आत्म–समर्पणपछि झुम्का कारागारमा सिद्धबाबा

इटहरी – जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीले मंगलबार जिल्ला अदालत सुनसरीमा आत्म–समर्पण गरेलगतै उनलाई झुम्का कारागार चलान गरिएको छ।

उच्चअदालत विराटनगरले माघ ९ गते गिरीलार्ई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो। तर आदेश आउनुअघि नै गिरी भारततिर फरार भएका थिए। फरार भएको एक महिनापछि गिरीले जिल्ला अदालतमा आत्म–समर्पण गरेका हुन्।

उच्चअदालत विराटनगरको आदेशअनुसार मंगलबार जिल्ला अदालतमा उपस्थित भएपछि कृष्णदासलाई झुम्का कारागार पठाइएको निमित्त स्रेस्तेदार निधिराम दाहालले बताए। ‘उपचारका लागि बाहिर गएको थिएँ, उपचारपछि आज हाजिर हुन आएँ भन्दै आएपछि कारागार पठायौं,’ दाहालले नागरिकसँग भने।

गिरीलाई झुम्का कारागारको ब्लक नम्बर १ मा राखिएको छ। निमित्त जेलर सूर्यमान बानियाँले गिरी केही अनुनायीसहित थुनुवा पुर्जी लिएर आएको जानकारी दिए।

जिल्ला अदालत सुनसरीले पुस १४ गते तीन लाख रुपैयाँ धरौटी लिएर छाडेकोमा त्यसप्रति चित नबुझेपछि जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले उच्चअदालतमा निवेदन दर्ता गरेका थिए। सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले तीन लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएपछि न्यायाधिवक्ता निरौलाले उच्चअदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसार पुनरावेदन निवेदन दर्ता गरेका थिए।

जिल्ला अदालतको आदेश बदर गर्दै माघ ९ गते बिहीबार उच्चअदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको इजालसले थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो। मुद्दामा बुझिएका व्यक्तिहरूले दिएको बयान, प्रतिवादी गिरी, उनकै आश्रमका अनुयायी, पीडितका पति, कागत ब्यहोरालगायत अनुसन्धान र मिसिल कागजातहरू रहेको सन्दर्भमा धर्मगुरुबाट पर्ने अनुचित प्रभाव, डर–त्रासले तत्काल गिरी कसुरदार होइनन् भन्ने प्रमाण नपुगेको उच्चअदालतको ठहर थियो। उच्चले जिल्ला अदालतको आदेश बदर गर्दै अब बुझिएको प्रमाणबाट पछि ठहर हुनेगरी थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो।

गिरीले एक अनुयायीलाई चतरा आश्रममा बोलाई जबरजस्ती करणी गरेको भनी मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी परेको थियो। जाहेरी परेको सूचना पाएलगत्तै उनी उपचारका लागि भन्दै विराट नर्सिङ होममा भर्ना भएका थिए। प्रहरीले मंसिर १६ गते नर्सिंङ होमबाटै लिए पनि गिरी अनुसन्धान अवधिभर नर्सिंङ होममै बसेका थिए।

गिरीले बलात्कार गरेको भन्दै काठमाडौं प्रहरी परिसरमा उजुरी दिन जाँदा प्रहरीले लिन अस्वीकार गरेको थियो। पछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइभी) ले घटनाबारे अनुसन्धान गरी मुद्दाको काम अघि बढाउने जिम्मा जिल्ला प्रहरी कार्यालय सुनसरीलाई दिएको थियो।

सप्तकोसी किनारस्थित चतरालाई धार्मिक तीर्थस्थलको रूपमा विकास गर्दै हरित क्रान्ति, गौपालन, आयुर्वेद विश्वविद्यालय, योग केन्द्र, जडीबुटी प्रशोधन र उत्पादन गर्ने योजनासहित आश्रम बनाई बस्दै आएका गिरीले कात्तिक ४ गते काठमाडौं बस्दै आएकी अनुयायीलाई आश्रममा बोलाएर जबरजस्ती करणी गरेको अभियोग लागेको छ।

केही महिनाअघि वैष्णव कृष्णदास महाराज भनेर चिनिँदै आएका उनी पछिल्लो समय सिद्धबाबा, जगतगुरु कृष्णदासजी महाराजको रूपमा चिनिँदै आएका थिए। तर उनको आधिकारिक योग्यता र पहिचान के हो ? भन्ने नजिकका अनुयायीले पनि बताउन सक्दैनन्। कुनै पनि विषयमा आधिकारिक रूपमा अध्ययन गरेको प्रमाणपत्र उनले सार्वजनिक गर्न सकेका छैनन्।

प्रकाशित: २१ फाल्गुन २०७६ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App