५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

फलामभित्र राखेर सुन तस्करी

काठमाडौं – सोमबार बिहानै काठमाडौंबाट वीरगन्ज जाँदै गरेको यात्रुबाहक बस हेटौंडाको रातामाटेमा जाँचका क्रममा शंका लागेर बरामद गरिएको फलामे पाताभित्र ६ किलो सुन बेरेर तस्करी गर्न लागिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। बसका यात्रु भारत, कर्नाटकका ४२ वर्षीय अब्दुल मजिद अनेकलले बेरिङका टुक्रा बनाएर झोलाभित्र राखेर ६ किलो सुन वीरगन्जतर्फ लैजाँदै थिए।

मकवानपुरका एसपी सुशीलसिंह राठौरका अनुसार अब्दुलले मोटर पार्टस्को बेरिका चार थान, मिट बेरिङ दुई थान गरी आठ थान र फलामको पाताको बेरिङ दुई थान आफ्नो झोलामा बोकेका थिए। टल्कने फलामका पाता देखेपछि प्रहरीले त्यसलाई उचालेको थियो। हेर्दा खोक्रोजस्तै देखिए पनि तौल बढी भएको पाइएपछि प्रहरीले अब्दुललाई नियन्त्रणमा लिएको थियो।

‘अहिले अपराधीको मानसिकता तौलनै मुस्किल छ, फरक–फरक तरिका अपनाएर तस्करी तथा अन्य अपराध भइरहेको छ,’ एसपी राठौरले भने। फलामको बेरिङभित्र रहेको सुनको तौल ६ किलो दुई सय ८९ ग्राम रहेको छ, जसको बजार मूल्य चार करोड, २७ लाख, ५८ हजार रुपैयाँभन्दा बढी पर्छ।

प्रहरीले पक्राउ परेका अब्दुललाई सुनसहित कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पथलैया बारा पठाइएको छ। अवैध निकासी र पैठारीसम्बन्धी कारबाही प्रहरीले गर्न नमिल्ने भएकाले राजस्व कार्यालय पठाइएको एसपी राठौरले बताए। उनले राजस्व कार्यालयले धरौटी लिएर अब्दुललाई छाड्ने जानकारी पनि दिए।

यद्यपि ६ किलो सुन काठमाडौं हुँदै कसरी हेटौंडा पु-याइयो भन्ने विषयमा महानगरीय प्रहरी परिसर रानीपोखरीसँगको समन्वयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीसँग बयानका क्रममा अब्दुलले कलंकीका एक व्यापारीले वीरगन्जसम्म पु-याउन लागि भाडा दिएर आफूलाई पठाएको बताएका छन्। तर प्रहरीले सो विवरण काल्पनिक रहेको आशंकामा विशेष अनुसन्धान थालेको हो। रानीपोखरीका एसएसपी श्याम ज्ञवालीका अनुसार यतिधेरै सुन किनबेच गर्न पाइँदैन। सरकारले तोकेकोभन्दा बढी सुनको कारोबार वा ओसारपसार भइरहेको छ भने त्यसलाई तस्करी भएको मानिन्छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App