१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रुघाखोकी र ज्वरोले एकै गाउँका ८० जना ओछ्यानमै थला परे

रुवाखोकी र ज्वरोले प्रभावित बनेको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने करेलीकाँडा गाउँ।

डोल्पा - डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने विकट गाउँ करेलीकाँडामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। रुवाखोकी र ज्वरोले ८० जना ओछ्यानमै थला परेपछि कोरोना भाइरसको आशंकाले सिँगो गाउँ नै आतंकित बनेको छ। जाडो छल्न काठमाण्डौ गएकी करेलीकाँडाकै ३७ वर्षीया सुक बोहरा गाउँमा फर्केसंगै रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको हो।

रुघाखोकी र ज्वरोले थलिएपछि उपचारको लागि मनिश मेडिकलमा आएका विष्णु बुढाले नागरिकलाई भने “बोहरा काठमाण्डौबाट आएलगतै उनी आफू विमारीले थलिन त्यसपछि उनको घरपरिवार नै रुघाखोकी र ज्वरोले थला परेको केहि दिनमै सिँगो गाउँ नै रुघाखोकी र ज्वरोले थला परेको छ।

शुरुमा टाउँको दुख्ने रुघाखोकी लाग्ने त्यसपछि ज्वरोले काम्ने खाना नरुच्ने लगायतका लक्षण भएको अर्का बालकृष्ण बोहराले बताए। छिमेकी मुलुक चाइनामा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको लक्षण र आफ्नो गाउँमा फैलिएको रुघाखोकी र ज्वरोको लक्षण पनि एउटै भएकाले कतै कोरोना नै त होइन भन्ने आशंकाले सिँगो गाउँ आतंकित बनेको अर्का विमारी झलक बुढाले बताए।

पचास घरधुरी रहेको करेलीकाँडा गाउँमा झण्डै ४० घरका ८० जना परिवार रुघाखोकी र ज्वरोले ओछ्यानमै थला परेका छन। करेलीकाँडा गाउँ नै रुघाखोकी र ज्वरोले थला परेको खवर आएपछि आवश्यक औषधी सहित चिकित्सकको टोली रुघाखोकी र ज्वरो प्रभावित गाउँमा पठाइएको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख प्रशासकिए अधिकृत प्रितीभक्त गिरीले जानकारी दिए।

रुघाखोकी र ज्वरोले धेरै मानिस थला परेको खबर आएको छ ,बास्तविकता के हो कुन रोग हो भन्ने बारे चिकित्सकको टोली फर्केपछि थाहा हुने पनि प्रमुख प्रशासकिय अधिकृत गिरीले बताए। त्रिपुरासुन्दरी नगरपालिकाकी स्वास्थ्य संयोजक जुनकुमारी बोहरले मौसम परिवर्तनको कारणले पनि सामान्य रुवाखोकी र ज्वरो आउने भएकाले पनि अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको बताइन्।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताइरहेका बेला कोरोना भाइरस प्रभावित छिमेकीमुलुक चिनसंगको सिमासंग जोडिएको हिमाली जिल्ला डोल्पामा अहिले सम्म यसबारे कुनै पनि पक्षबाट जनचेतना फैलाउने र उच्च सर्तकता अपनाइएको पाइदैन।

प्रकाशित: १९ फाल्गुन २०७६ ०९:०९ सोमबार

कोरोना_भाइरस रुवाखोकी ज्वरो