१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आँगनमै पानी आएपछि पञ्चेबाजा बजाएर नाचे स्थानीय

खानेपानी आयोजनाको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । पञ्चेबाजा बजाएर नाच्दै स्थानीय ।

दुलेगौँडा(तनहुँ)- राममाया आले मगरले ७७ वर्षको उमेरमा बल्ल आफ्नै आँगनको छेउमा रहेको धारोबाट पानी भरेर पिउन पाइन्। डोकोमा गांग्री बोकेर बुढेसकालमा खुट्टा कमाउँदै धोवीखोलाको उकाली ओराली गर्नुपर्ने बाध्यताको अन्त्य हुँदा उनी औधी खुसी छन्।

‘एक ग्रांगी पानी ल्याउन डेढ घण्टा समय लाग्ने, पानी कसरी पुर्‍याउने होला त भन्ने चिन्ता हुन्थ्यो। सुत्ने बेला भोलि बिहान सबैभन्दा पहिला खोल्सा, पधेरोमा पुग्छु भन्ने लाग्थ्यो। बिहान चार बजेको झिसमिसेमै सबै काम छाडेर ढोल बोकेर कुद्ने। जहिले त्यही पिरलो’, उनले भनिन्, ‘आजकल त चाहिएको बेला आफ्नै घरको धारामा भर्न पाइन्छ। हाइसुख्ख भाछ। सात बजेसम्म सुतेर बस्छौँ।’

राममायाले पानीको सहजता भएपछि घरको सरसफाईमा ध्यान दिन थालेको बताउँछिन्। पानीको लोभलालच छैन। पानी लिन जाने ध्याउन्नमा घरायसी काम नसकिने पिर हुँदैन’, उनी भन्छिन्,‘बेलामै घरको काम सकिन्छ। सरसफाईमा लाग्न पाएका छौँ।’  

राममायालाई जस्तै हाइसुख्ख छ, भिमाद नगरपालिका–४ बरेनडाँडाका महिलालाई। धोविखोलाको पानी लिफ्टिङ गरेर यहाँको प्रत्येक घरका  धारा झर्न थालेकाले गाउँले हर्षित भएका छन्। लामो समयदेखि गाउँमा खानेपानी ल्याउने पहल भईरहेको थियो। यसपाली घरघरै पानी आएको खुसीयालीमा बाजागाजासहित स्थानीयले उत्सव नै मनाए।

खानेपानी आयोजनाको उद्घाटन गर्न पुगेका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङलाई भव्य स्वागत गरे। उनै मन्त्री गुरुङले आयोजनाका निम्ति पहल गरेका हुन्। मन्त्रकिो स्वागतार्थ गाउँमा पञ्चेबाजा घन्कियो। बुढाबुढी पञ्चेबाजामा रमाउदै नाचे। युवापुस्ताले खैजेडीको तालमा कौराहा गाउँदै कम्मर मर्काएर। खुसीयाली मनाउन कार्यक्रममा अधिकांश महिला सारिक थिए। किनकी खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्ता सदैव उनीहरुलाई नै थियो। अब सधैका लागि हाइसन्चो भएको छ।

एक हजार ५० मिटर तल पर्ने धोवीखोलाको पानी सोलार लिफ्टिङमार्फत डाँडामा तानेर घरघरै वितरण गरिएको हो। ‘खोल्साको पानी गाउँमा ल्याउने भन्दा पत्यार लागेन’, ६१ वर्षया हरिसरा आलले मुस्कुराउँदै भनिन्, ‘आँगमा पानी आउँछ भन्दा तलको पानीमाथि कसरी आउँछ र भन्थ्यौँ हामीले। यसरी ल्याउँछ भन्ने कहाँ चाल पाथे र? आउने रैछ त।’

खानेपानी तथा सरसफाई डिभिजन कार्यलय तनहुँका डिभिजन प्रमुख हरिप्रसाद तिम्लसिनाका अनुसार ९५ लाख ३० हजार ६ सय ८ रुपैयाँको लागतमा उक्त आयोजना सम्पन्न भएको हो। कार्यालयको ७३ लाख ४ हजार रुपैयाँ लगानी छ भने उपभोक्ताले २२ लाख २५ हजार रुपैयाँ बराबरको जनश्रमदान गरेका थिए।

खानेपानी ल्याउन एक सय दिन जनश्रमदान गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तिलबहादुर थापाले बताए। ‘आँगनमै खानेपानी आउँछ भनेसी सबै काम छाडेर नि श्रमदान गरियो’, उनले भने, ‘पानी ल्याउन सफल भयौँ। गाउँमा खुसीयाली छाएको छ।’

तीन वर्षको अवधिमा काम सकिएको हो। धोवीखोलामा ४० हजार लिटर क्षमताको ट्याङीमा पानी संकलन हुन्छ। १ हजार ५० मिटरमाथि चिहानडाँडामा लिफ्टिङ गरी तानेको पानी २० हजार र १० हजारको दुईवटा ट्याङकीबाट वितरण गरिएको छ।

७४ घर र एउटा सामुदायिक भवनमा धारा जडान गरिएको अध्यक्ष रानाले जनाए। आयोजनाले बरनडाँडा, बराहापानी र बेलभञ्जयाङ गाउँका स्थानीय लाभान्वित बनेका छन्। सोलार लिफ्टिङमा समस्या आउन सक्ने भएकाले बिजुलीबाट तान्ने व्यवस्था मिलाइदिन गाउँलेको माग छ।

 

 

प्रकाशित: १७ फाल्गुन २०७६ १०:४८ शनिबार

धोवीखोला_खानेपानी_आयोजना पञ्चेबाजा