५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

छुई प्रथा हटाउन महायज्ञ

जुम्ला- महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा जुम्लामा छुई प्रथा हटाउन महायज्ञ आयोजना गरिएको छ। मन्त्रीपरिषदको बैठकले कुरीतिको रुपमा घोषणा गरिसकेको छुई प्रथालाई जरैदेखि उन्मुलन गर्न महायज्ञ आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन्। उनका अनुसार प्रशासन कार्यालय जुम्ला सहआयोजकको भूमिकामा रहेको छ।

जुम्लामा छाउपडी(छुई) लगायत कुरीति, कुसंस्कारविरुद्ध महायज्ञ गरिएको छ, उनले भनिन्,‘ यसले ग्रामिण क्षेत्रसम्म निकै राम्रो सन्देश गइरहेको छ। र जुम्लाको नेपाली सेनाको खेल मैदान टुडिखेलमा गरिएको थियो। हिमपात र अत्यधिक चिसोकाबीच पनि जुम्लाबासी महायज्ञमा सामेल भएका थिए।
प्रायः धार्मिक गतिविधि सञ्चालन, चन्दा संकलनलगायत गतिविधिमा महायज्ञ आयोजना हुँदै आएको छ।

प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भनिन्,‘कथित छुवाछुत प्रथा उन्मुलनमा पहिलो पटक जुम्लामा महायज्ञ सञ्चालन भएको हो। महायज्ञमा जुम्लास्थित एक नगरपालिकासहित ७ वटा गाउँपालिकामा नियुक्त भएका सद्भावना दुत सहभागी थिए। धामीझाँक्री, पुरोहितले छुई प्रथा उन्मुलन गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिइएका थिए।

महिनावारी चक्रलाई लिएर घरभित्र पस्न नहुने सामाजिक अन्धविश्वास, कुरीति र कुसंस्कार हटाउन गरिएको महायज्ञले मानसिकता परिवर्तनमा भूमिका खेल्ने विश्वास लिएकी छु,’ उनले भनिन्,‘अब कुनै पनि हालतमा महिला दिदिबहिनी पशुवस्तुसंगै गोठमा बस्ने दिन नआओस्। यसका लागि यो महायज्ञ गरिएको हो।’

वाचक रमानन्द आचार्यले छाउपडीलगायत कुरीति, कुसंस्कारलाई महायज्ञमार्फत स्वाहा गरिएको बताए।’ लाखौं दान दिएर पुण्य कमाउनु भन्दा आम नागरिकको जीवनमा सुधार ल्याउनका लागि साझा संकल्प गर्नु नै ठूलो पुण्य हो,’ उनले भने,’ महायज्ञले महिला दिदीबहिनीहरुको मानसिकता परिवर्तन गर्न भूमिका खेल्नेछ, कसैले पनि कुरीति मान्नु हुँदैन भन्ने सन्देश फैलाउन सफल हुनेछ।’

कर्णाली प्रदेश सांसद पदमबहादुर रोकाया छुई स्वभाविक मासिक चक्र भएको र यसको धर्मसँग कुनै सरोकार नभएको बताउँछन्। अब पनि कुरीति बचाइराख्दा निकै ढिलो हुने उनी बताउँछन्। सांसद रोकायाले गोठ भत्काउने अभियान भन्दा मानिसहरुको मनभित्रकोे गोठ भत्काउने अभियानमा लागेको प्रति स्थानीय प्रशासनलाई धन्यवाद प्रकट गरे।

चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले छाउपडी अन्त्यका लागि महायज्ञ सञ्चालन हुनुले ठूलो महत्व राखेको बताइन्।’ मैले कहिले पनि छुई मानिन। अब मेरो संकल्प नगरपालिकालाई छुईमुक्त बनाउने रहेको छ,’ उनले भनिन्,‘छुई मानेर विभेद सिर्जना गर्नेलाइ कानुनी कारबाही गर्ने तर्फ  उद्धत रहने छौँ।’

महायज्ञमा जिल्लाका आठवटै स्थानीय तहबाट सहभागिता रहेको थियो। प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे ८ वटै स्थानीय तहमा पुगेर सद्भावना दुत नियुक्त गरेकी हुन्। उनले सद्भावना दुत मार्फत स्थानीय तहमा छुई प्रथा हटाउन सचेतनाका क्रियाकलाप अघि बढाउन लगाइन्।

महायज्ञमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, प्रतिनिधि सभा संसाद गजेन्द्र महत, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललगायतको सहभागी हुने भनिए पनि प्रतिकुल मौसमका कारण सहभागी नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
महिलाको प्रत्यक्ष जीवनसँग जोडिएको महिनावारीलाई लिएर सामाजिक अन्धविश्वासका कारण गरिएको भेदभावलाई अन्त्य गर्न, महिला हिंसा, बालविवाह, बहुविवाह, घरेलु हिंसा मान्दैनौ भन्ने संकल्प महायज्ञमा सांसददेखि जुम्लाका आठै स्थानीय तहका जनप्रतिनिधि गरेका हुन्।

सुदूरपश्चिम तथा कर्णालीमा चलेको छाउपडी प्रथा उन्मुलनको महाअभियान अन्तर्गत जु्म्लामा गरिएको महायज्ञले सुधारका लागि ठूलो मद्दत गरेको ब्राह्मण रमान्नद आर्चायले बताउँछन्। उनले महायज्ञमार्फत छाउपडीलगायत कुरीतिलाई नष्ट गर्न खोजेकाले यसको सकारात्मक सन्देश जाने बताए।
 

 

प्रकाशित: १० फाल्गुन २०७६ १०:२१ शनिबार

छुई_प्रथा महायज्ञ