६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अपांगता भएका व्यक्तिलाई परिचयपत्र

अपांगता भएका व्यक्तिलाई परिचय पत्र प्रदान गर्दै दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्य। तस्बिर:नागरिक

नुवाकोट – सामाजिक न्याय दिवसको अवसरमा सम्बोधन परियोजनासँग सहकार्य गरेर दुप्चेश्वर गाउँपालिकाले अपांगता परिचय पत्र वितरण तथा नवीकरण सम्बन्धी शिविर गरेको छ। सो शिविरबाट १ सय २३ अपांगता भएका व्यक्तिले सेवा लिएका छन्। जसमध्ये ७५ जनालाई अपांगता परिचय पत्र प्रदान गरिएको छ भने ४८ जनाको परिचयपत्र नवीकरण गरिएको छ। शिविरबाट २ जनालाई रातो, ४० जनालाई निलो, २४ जनालाई पहेँलो र ९ जनालाई सेतो रङको परिचय पत्र प्रदान गरिएको छ।

यस्तै यसअघि नै रातो कार्ड पाएका १७, निलो कार्ड पाएका २२, पहेँलो कार्ड पाएका ३ र सेतो कार्ड पाएका २२ जनाको अपांगता परिचय पत्र नवीकरण गरिएको छ।

अपांगता भएका व्यक्तिको हितको संरक्षण र संवद्र्धन गर्न, तिनको स्वास्थ्य, शिक्षा, रोजगारी, तालिम, पुनस्र्थापना तथा अवसर समानीकरण गराउँदै विकास प्रक्रियामा समावेशीकरण गराउन गाउँपालिकाले पहल गरिरहेको उपाध्यक्ष अञ्जु आचार्यले बताइन्। विभिन्न प्रकारका अपांगता भएका गाउँपालिकाभित्रका नागरिकको पहिचान गरी हरेक महिनाको २७ गते परिचय पत्र वितरणका साथै नवीकरण गर्ने कार्य गाउँपालिकाले गर्दै आएको छ। गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई आयआर्जनको बाटो देखाउन विभिन्न संघसस्थासँग सहकार्य गरेर जीविकोपार्जन हुने खालका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उपाध्यक्ष आचार्यले बताइन्। ‘अपांगता भएका व्यक्तिलाई क्षमताको आधारमा जीविकोपार्जनका लागि विभिन्न खाले कार्यक्रममा सहभागी गराइरहेका छौं। उनीहरूको आवश्यकता र मागको आधारमा बाख्रा पालन, कुखुरा पालन सिलाइकटाइका साथै सुधारिएको आरनमा काम गर्ने वातावरण बनाएका छौं,’ उपाध्यक्ष आचार्यले भनिन्, ‘अब हामी छिट्टै अपांगता भएका व्यक्तिका लागि सहायता सामग्री वितरण गर्नेछौं।’

बिहीबार आएको सो शिविर स्थलमा अपांगता भएका व्यक्तिलाई सहभागी गराउन गाउँपालिका र सम्बोधन परियोजनाले आवतजावतका लागि यातायातको व्यवस्थासमेत गरेको थियो।

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App