९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बुटवलमा डिजिटल घर नम्बरिङ सुरु

'मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गर्दै नगर प्रमुख र उपप्रमुख ।

रुपन्देही- बुटवल उपमहानगरले डिजिटल नगरको अवधारणा अनुसार घर नम्बरिङ सुरु गरेको छ। भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घरका विवरणलाई डिजिटल प्रविधिमा समावेश गर्ने गरि घरमा नम्बर टाँस्ने काम सुरु गरिएको हो।

बुटवल उपमहानगरको ६१ औं स्थापना दिवसका अवसरमा ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गर्न थालेको बुटवल उपमहानगरले जनाएको छ। बुटवल वडा नं. ८ राजमार्ग चौरस्थित प्रहरी सपिङ कम्प्लेक्समा ‘ए००२’ २०५६ नम्बरको निलो टिनको नम्बर कार्ड टाँस्दै नगर प्रमुख शिवराज सुवेदीले घर नम्बरिङको शुभारम्भ गरे।

सेवाग्राहीलाई प्रवाह गरिने सेवा, उपमहानगरका सेवाकेन्द्रहरु, सार्वजनिक क्षेत्र, सडक, विद्यालदेखि वन क्षेत्र र ती स्थानदेखि आफ्नो घर कहाँनिर पर्छ भनेर हेर्न मिल्नेगरि ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको प्रमुख सुवेदीले बताए। नीति तथा कार्यक्रममै यसलाई समावेश गरेर व्यवस्थित रुपमा कार्यसम्पादन गर्नेमा पनि बुटवल मै मुलुकमा पहिलो मानिएको छ।

मोबाइल एपमार्फत उपमहानगरका सेवाप्रवाहको जानकारी लिने र ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गर्ने निर्णय भएको थियो। भौगोलिक अध्ययनका विज्ञहरु सम्मिलित परामर्शदाता छनौट गर्दै १ देखि ११ वडाका सबै घरको ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ पूरा गरिएको हो। अहिले काम पूरा भएका वडाहरु उपमहानगरमा सबैभन्दा धेरैजनसंख्या रहेका हुन्। अब दोस्रो चरणमा वडा नं. १२ देखि १९ मा ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ सुरु गरिने बुटवल उपमहानगरका उपप्रमुख गोमा आचार्यले बताइन्। बुटवल उपमहानगरपालिकाको वडानम्बर ६, ७ र ८ नम्बर वडाका घरहरुमा नम्बर प्लेट टाँसिएको छ।

अहिलेसम्मकै आधुनिक वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ गरिएपछि अब कुन घर कुन रोडको कति नम्बरमा पर्छ भन्ने जानकारी जीपीआरएस सिस्टमबाट थाहा पाउन सकिने छ। डिजिटल नम्बरिङपछि बारुण यन्त्र, एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका कामहरुमा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्नेगरि भौगोलिक सूचना प्रणालीको विकास गरिएको उपमहानगरले जनाएको छ।
 

प्रकाशित: ४ फाल्गुन २०७६ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App