१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

होलेरीमा ‘राष्ट्रिय मिडिया सम्मेलन’

राष्ट्रिय मिडिया सम्मेलनमा बोल्दै ऊर्जामन्त्री वर्षमान पुन। तस्बिर: दिनेश/नागरिक

रोल्पा – माओवादी द्वन्द्वको सुरुवाती ठाउँ रोल्पाको होलेरीमा बिहीबारदेखि २ दिने राष्ट्रिय मिडिया सम्मेलन सुरु भएको छ। सम्मेलनमा देशभरका करिब सयजना पत्रकारको उपस्थिति रहेको छ। सो अवसरमा होलेरी प्रहरी चौकी आक्रमण गरिएको स्थानमा तयार गरिएको शान्ति स्मारकको प्रहरी चौकी आक्रमणमध्येका एक कमान्डर ऊर्जामन्त्री वर्षमान पुनले उद्घाटन गरे।

‘उहिले खोला देख्दा एम्बुस थापौं थापौं लाग्ने पात्र म नै हुँ, तर अहिले खोला देख्दा बिजुली निकालौं निकालौं जस्तो लाग्छ,’ राष्ट्रिय मिडिया सम्मेलनमा बोल्दै मन्त्री पुनले भने, ‘कुनै बेला विद्रोहको केन्द्र रोल्पाका समाचार काठमाडौं बसेर लेखिन्थे तर आज उताबाट पत्रकारिताका वरिष्ठ हस्तीहरू रोल्पा आउनुभएको छ। यो शान्तिको सन्देश हो।’

माओवादी जनयुद्धले परिवर्तनमा ठूलो भूमिका खेलेको बताउँदै मन्त्री पुनले शान्ति स्थापना भइसकेकाले अब समृद्धिमा ध्यान दिनुपर्ने बताए। ‘होलेरीलाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन यो कार्यक्रमले सहयोग पु-याउने छ।’ उनले युद्धलाई स्मरण गर्दै भने, ‘अरू देशहरूमा कि सत्ता पक्षले जित्छ कि त विद्रोहीले तर हाम्रोमा दुवैको जित भएर शान्ति प्रक्रियामा पुगिएको हो। यस्ता घटना संसारमै कम हुन्छन्।’

राष्ट्रिय मिडिया सम्मेलनको पहिलो दिन औपचारिक कार्यक्रमपछि विभिन्न व्यक्तिहरूले फरकफरक विषयमा कार्यपत्र प्रस्तुत र प्यानल छलफल गरेका थिए। ‘होलेरी आक्रमणको कथा’ शीर्षकको सत्रमा पत्रकार टीकाराम यात्रीले ऊर्जामन्त्री वर्षमान पुनसँग संवाद गरे। डा. गोविन्द आचार्यले ‘किन आउने होलेरी ?’ शीर्षकको कार्यपत्र प्रस्तुत गरे भने ‘संघीयता, सञ्चार र समृद्धि’ विषयमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, वरिष्ठ पत्रकार नारायण बाग्ले, कान्तिपुर टिभीका सम्पादक प्रशान्त अर्याल, एपि वान टिभीका सम्पादक टीकाराम यात्री, नेपाल लाइभका सम्पादक पत्रकार नारायण अमृत र पत्रकार काशिराम डाँगीसँग पत्रकार दिनेश सुवेदीले छलफल गरेका थिए।

त्यसैगरी ‘राप्ती, रोल्पा, द्वन्द्व र अर्थतन्त्र’ विषयको छलफलमा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा, सुशील गौतम, गंगा बिसी, नवीन विभास, खेम बुढा र घनश्याम आचार्यसँग वसन्त विवशले सहजीकरण गरेका थिए। कार्यक्रममा रोल्पाली पत्रकारिताको नालिबेलीबारे पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए। होलेरीमा सम्पन्न हुने राष्ट्रिय मिडिया सम्मेलनले भ्रमण वर्ष २०२० को मूल मान्यतालाई पच्छ्याउनुका साथै देशैभरका पत्रकारको उपस्थितिले रोल्पाका कथा अनि १० वर्षे द्वन्द्वको नालीबेली पस्किन सजिलो भएको गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताए। ‘सम्मेलनपपछि होलेरीको मात्र नभएर आम पाठकले फेरि एक पटक रोल्पालाई पढ्न र बुझ्न पाउनेछन्। दुई दिने कार्यक्रमको औपचारिक समापन शुक्रबार गरिनेछ।

प्रकाशित: २ फाल्गुन २०७६ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App