२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

वुहानबाट ल्याइने विद्यार्थीलाई राख्न १ सय ९९ बेडसहितको क्वारेन्टाइन तयार

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरुलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको काम सकिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले १ सय ९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको बताएका हुन्।

भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ बेड तयार गरिएको र महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको उनले बताए। कुनै व्यक्तिमा भोलीबाटै संक्रमण देखिएको अवस्थामा पनि उसलाई राख्ने र क्वारेन्टाइन गर्ने कुरामा समस्या नहुने उल्लेख गर्दै मन्त्री ढकालले चीनमा विद्यार्थीहरुलाई लिन जाने डाक्टर, नर्स र पाइलटहरुलाई समेत १४ दिन क्वारेन्टाइन्मा राखिने र त्यसको सम्पूर्ण तयारी भएको बताए।

चीनबाट संक्रमितहरुलाई स्वदेश ल्याइन लागेको भन्ने भ्रमहरु हटाउनुपर्ने उल्लेख गर्दै ढकालले कुनै एकजनामा मात्रै पनि लक्षण देखिए चीनले नपठाउने र नेपाल ल्याएपछि १४ दिन नियमित परीक्षण गरिने बताए। क्वारेन्टाइन्मा परीक्षणका क्रममा कुनै व्यक्तिमा संक्रमणको लक्षण देखिएमा तत्काल राख्नका लागि विभिन्न अस्पतालहरुमा ४३ वटा आइसोलेसन बेडको व्यवस्था गरिएको उल्लेख गरे।

त्यसका लागि २४ घण्टा नै एम्बुलेन्स र आइसोलेसन बेड उपलब्ध रहेको उनले बताए। मन्त्री ढकालले सबै अस्पतालका प्रतिनिधिहरुलाई बोलाएर आ-आफ्नो अस्पतालमा आइसोलेसन सहितको ठाउँ छुट्याउनुपर्ने र कुनै व्यक्तिमा आशंका देखिएमा अर्को अस्पताल रिफर नगरी त्यही राखेर उपचार गर्नुपर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको बताए।

विश्वका विभिन्न मुलुकमा ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएपनि चीनमा रहेका नेपालीमध्ये एकजनामा पनि यसको लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चीनमा रहेका १ सय ८० जना विद्यार्थीहरुले स्वदेश फर्किनका लागि त्यहाँस्थित नेपाली दूतावासमा फारम बुझाएका छन्। सरकारले सम्पूर्ण तयारी पुरा भएको बताए पनि कहिले फर्काउने भन्ने मिति भने तय गरेको छैन्।

प्रकाशित: २८ माघ २०७६ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App