बैतडी – मरेको चित्तल लैजाँदै गरेको अवस्थामा बैतडीको डिलासैनी गाउँपालिकाको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ। दार्चुला प्रहरीले आइतबार करिब १ बजे शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वर बजारबाट सो एम्बुलेन्स नियन्त्रणमा लिएको हो।
डिलासैनी गाउँपालिकाले चलाउँदै आइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१झ ३४६ नम्बरको एम्बुलेसलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बैतडीको डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याएको सो एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गरेको पाइएको छ। कञ्चनपुरबाट फर्किंदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी ब्यारेकनजिकबाट चित्तल मारेर ल्याएको एम्बुलेन्सचालक महेश बोहराले प्रहरीसमक्ष बयान दिएका छन्। एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। सो चित्तल वन कार्यालयलाई बुझाउने र चालकलाई कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: २७ माघ २०७६ ०२:०६ सोमबार