२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

एक्साभेटर र ट्र्याक्टर नियन्त्रणमा

सर्लाही – उत्तरी चुरेक्षेत्रस्थित पटौंना खोलामा उत्खनन गरिरहेको अवस्थामा जिल्ला अनुगमन समितिको टोलीले दुईवटा एक्साभेटर र दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। टोलीले हरिवन नगपालिका–१ अत्रौलीस्थित पटौंना खोलाबाटै मंगलबार ती सवारीसाधन नियन्त्रणमा लिएको हो।

खोलामा अनधिकृत उत्खनन भइरहेको सूचनाका आधारमा खनिरहेको अवस्थामा नियन्त्रणमा लिइएका ती सवारीसाधनलाई कारबाहीका लागि हरिवन नगरपालिका कार्यालयमा बुझाइएको जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला अनुगमन समितिका संयोजक मेथुर चौधरीले बताए।

‘प्रचलित कानुनअनुसार प्राकृतिक स्रोत अवैध उत्खनन सम्बन्धमा स्थानीय सरकारले कारबाही गर्ने व्यवस्था भएकाले हरिवन नगरपालिकामा बुझाएका छौं,’ अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भने।

अनुगमनमा जिल्ला समन्वय समितिका संयोजक चौधरी, प्रजिअ जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक दिलिपकुमार सिंह, सशस्त्र प्रहरी नायब उपरीक्षक दामोदर ढोडारीलगायत सदस्य छन्।

हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले घटनाबारे छानबिन गरिरहेको बताए। ‘मापदण्डअनुसार उत्खनन गरिएको छ/छैन भन्नेबारे बुझिरहेका छौं,’ उनले भने, ‘नियमविपरीत भएको पाइए कानुनअनुसार दण्ड–जरिवाना गर्नेछौं।’

राष्ट्रपति चुरे–तराई संरक्षण कार्यक्रमअन्तर्गत पर्ने उक्त क्षेत्रमा ‘वाटर हार्भेस्टिङ’ (पानी संकलन कार्य) र सोही कामका लागि पोखरी, बाँध, तटबन्धलगायत निर्माण भइरहेको छ। सो क्षेत्रमा जिल्ला अनुगमन समितिले केही दिनअघि अनुगमन गरेको थियो। त्यस क्रममा नौवटा क्रसर उद्योग मापदण्डविपरीत रहेको पाइएको थियो। समितिले मापदण्डविपरीत सञ्चालित उद्योगलाई बन्द गर्न निर्देशन दिइसकेको छ।

प्रकाशित: २५ माघ २०७६ ०२:२४ शनिबार

चुरेक्षेत्र उत्खनन एक्साभेटर नियन्त्रण