४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आठ करोड लिई फरार सहकारीकर्मी समातिएनन्

वीरगन्ज – वीरगन्ज बजारबाट सर्वसाधारण बचतकर्ताका करिब आठ करोड रुपैयाँ लिएर ‘प्राइम बचत तथा ऋण सहकारी संस्था’ का सञ्चालकहरू फरार भएको ११ महिना बितिसक्दा पनि पक्राउ पर्न सकेका छैनन्।

पतिको मृत्युपछि एकल जीवन गुजारा गरिरहेकी वीरगन्ज–२ छप्कैयाकी ५० वर्षीया सैनाहा खातुन भिक्षावृत्ति गरेर बिहान–बेलुकाको छाक टार्ने गर्छिन्। ‘बचत गर्नू, भैपरी आउँदा पैसाको समस्या हुँदैन,’ भनी गैरुल नेसाले उनलाई प्रेरित गरेपछि प्राइम सहकारीमा खाता खोलेर उनले दैनिक बचत थालिन्। समयअन्तरमा करिब १३ हजार रुपैयाँ बचत पुगेको उनको पासबुकमा देखिन्छ। तर त्यौ पैसाको जबाफदेही यतिबेला कोही छैनन्।

वीरगन्ज, छपकैयाकै देवनारायण भँडेलको परिवारमा तीन जनाको नाममा रहेको बचत खातामा डेढ करोड रुपैयाँ जम्मा भएको थियो, सोही सहकारीमा। तर सो पैसा अब कहाँ गएर लिने, कोसँग माग्ने ? केही अत्तोपत्तो छैन। सहकारीका सञ्चालक अलप हुँदा उनीहरूजस्तै वीरगन्ज क्षेत्रका सयौं सर्वसाधारण समस्या छन्।

आफूहरूको लाखौं रुपैयाँ ठगी हुँदा पनि प्रहरी–प्रशासनले साथ नदिएको सहकारीपीडितहरूको दुखेसो छ। ११ महिनाअघि २०७५ चैत २० मा सहकारीको लिंकरोडस्थित कार्यालयमा ताला लगाएर अध्यक्ष राजेशकुमार पटेल, कोषाध्यक्ष राजेशकै पत्नी रिता पोखरेल तथा अन्य पदाधिकारी र कर्मचारीहरू सम्पर्कविहीन भए। सो घटनापछि पीडितले २०७५ चैत २८ गते जिल्ला प्रशासन कार्यालय पर्सामा संयुक्त उजुरी दिए। लगत्तै उनीहरूले जिल्ला प्रहरी कार्यालयमा पनि जाहेरी दिए। तर ठगहरूविरुद्धको कारबाही प्रक्रिया अपेक्षित रूपमा अघि बढ्न सकेको छैन। जिल्ला प्रशासन र जिल्ला प्रहरीबाट आफूहरूलाई असहयोग भइरहेको पीडितहरूको आरोप छ।

मुद्दा शाखाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक असरफ अली अन्सारीले ‘अब पैसाको आस मार्नुभए हुन्छ,’ समेत भनेको पीडितको भनाइ छ। केही दिनअघि जिल्ला प्रहरी कार्यालय जाँदा प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले यसबारे बुझेर बताउने भनेका थिए। ‘पुरानो केस हो, उहाँहरू मकहाँ आएको बेला मुद्दा फाँटमा जिम्मा लगाइदिएको थिएँ, जिल्ला अदालतमा मुद्दा गइसकेको रहेछ,’ शाहीले नागरिकलाई भने, ‘आरोपितहरू किन पक्राउ परेनन भन्ने उहाँहरूको सवाल थियो, मैले मुद्दाको वास्तविक अवस्था, क–कसलाई समात्नुपर्ने हो र किन समातिएन भन्ने जानकारी मुद्दाबाट मागेको छु।’

सो सहकारीमा एक हजार चार सय बचतकर्ता सदस्यका करिब आठ करोड रुपैयाँ ठगी भएको बताइएको छ। वीरगन्ज–६ भित्री बाइपासका विन्देश्वरी कुशवाहाले आफूले जम्मा गरेका ३८ हजार रुपैयाँ झिक्न पाहोर चैत २१ मा पुग्दा सहकारीको कार्यालयमा ताला लागेको देखे। दुई दिनपछि आइतबार पुनः कार्यालयमा जाँदा ताला खुलेको थिएन। उनको घरमा दैनिक बचत संकलन गर्न पुग्ने प्रतिनिधि ओमप्रकाश रौनियारको मोबाइलमा फोन लगाउँदा स्विच अफ थियो।’

त्यसपछि सहकारी सञ्चालकहरू फरार भएको खबर फैलियो। त्यसयता पीडित बचतकर्ताले जिल्ला प्रशासन र प्रहरी कार्यालय धाइरहेका छन्। सञ्चालक समितिका अध्यक्ष पटेल रौतहटको वृन्दावन गाउँपालिका, हर्साहाका बासिन्दा हुन्। उनकी पत्नी पोखरेल काठमाडौं निवासी हुन्। २०६६ साल वैशाख २ मा वीरगन्जमा संस्थाको प्रधान कार्यालय उद्घाटन भएको थियो। आफनै पत्नीलाई कोषाध्यक्ष बनाएर पटेल आठ करोड रुपैयाँ लिएर फरार भएका हुन्। पटेल वीरगन्ज जेसिजका पूर्वअध्यक्ष पनि हुन्। यस प्रकरणमा सहकारीबाहिरका केही व्यक्तिहरूको पनि संलग्नता रहेको आशंका गरिएको छ।

पीडितमध्येका एक राजदेव महतो अहिरले इनर्वास्थित दुई कट्ठा जग्गा धितो राखी प्राइम सहकारीबाट २५ लाख रुपैयाँ ऋण लिएका थिए। सोही जग्गा प्राइम सहकारीले राष्ट्रिय सहकारी बैंकमा धरौटी राखी ४५ लाख रुपैयाँ ऋण निकालेको छ। प्राइम सहकारी सञ्चालक फरार भएपछि आफूले लिएको ऋण फिर्ता गरेमा पनि करोडौं मूल्यको सो जग्गा फुकुवा नहुने भएपछि उनी चिन्तित छन्। त्यस्तै उमेशकुमार गुप्ताले सो सहकारीले आफ्नो २३ लाख रुपैयाँ ठगेको बताए। बिहान–बेलुका चिया पसल र दिउँसो मजदुरी गर्ने खैरूल नेसाले आफ्नो ५३ हजार रुपैयाँ लिएर सहकारी सञ्चालक फरार भएको बताइन्।

प्राइम बचत तथा ऋण सहकारी संस्था ठूलो सहकारी संस्थाको श्रेणीमा रहेको तथा स्थानीय तह त्यसको नियमन गर्ने निकाय नभएको वीरगन्ज महानगरपालिकाका अधिकृत रामदयाल यादव बताउँछन्। सर्वसाधारण बचतकर्ताको आठ करोड रुपैयाँ लिएर सहकारी सञ्चालकहरू फरार भएको उजुरी परेपछि फरार सञ्चालकहरूको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

संस्थाका सञ्चालक समितिका पदाधिकारी निरन्तर सम्पर्कविहीन छन्। प्राइम सहकारी सञ्चालकहरूको मोबाइल स्विच अफ मात्र छैन, फेसबुक अकाउन्ट पनि ‘डि–एक्टिभ’ भएका कारण प्रशासनले यसलाई संगठित अपराधका रूपमा लिएको छ। अध्यक्ष पटेल यस संस्थाको प्रमुख हर्ताकर्ता थिए। कोषाध्यक्ष रहेकी पटेल पत्नी पोखरेल, संस्थाका वरिष्ठ उपाध्यक्ष भारती गुरुङ, उपाध्यक्ष रामलक्षन तिवारी, महासचिव रूपेशकुमार गुप्ता, सचिव शिक्षा थापा र सदस्य सुमितकुमार शर्माको खोजी भइरहेको प्रहरीले बताउँदै आएको छ।

उक्त सहकारीमा तरकारी बेच्ने, फलफूल बेच्ने, दैनिक ज्यालादारी गर्ने, ठेला–रिक्सा चलाउने, टेम्पु चलाउनेजस्ता श्रमिक नागरिकले छाक काटेर बचत गर्ने गरेका थिए। ती सबै बिचल्लीमा परेका छन्। बचतसँगै कयौं पारिवारिक योजना र सपना पनि जोडिएका हुन्छन्। प्राइमका सञ्चालक फरार भएपछि बचतकर्ता सर्वसाधारणको छोरीको बिहे गर्नेदेखि साहुको ऋण चुक्ता गर्नेसम्मका योजना तुहिएका छन्।

प्रकाशित: २५ माघ २०७६ ०२:१९ शनिबार

सहकारीकर्मी फरार