६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लाका हरेक स्थानीय तहमा सामुदायिक विपद् कार्य अभ्यास

सामुदायिक विपद कार्य अभ्यास गराउँदै नेपाली सेना । तस्बिर : नागरिक

जुम्ला- जुम्लास्थित नेपाली सेनाले हरेक स्थानीय तहमा सामुदायिक विपद् कार्य अभ्यास गर्दै आएकाे छ। स्थानीयबासीको प्रत्यक्ष सहभागितामा विपद् अभ्यास भइरहेको नन्दबक्स गण जुम्लाका गणपति दिवाकर रायमाझीले जानकारी दिए। उनका अनुसार गुठिचौर गाउँपालिकालमा चार दिनदेखि सामुदायिक विपद् अभ्यास भइरहेको छ। आगलागी, भूकम्प, बाढी, डुबान जस्ता विपद्को अवस्थामा, विपद्को दौरान र विपद् पश्चात कसरी सर्वसाधारणको उद्धार गर्ने भन्ने विषयमा अभ्यास भइरहेको उनले बताए।

नेपाली सेनाले स्थानीय सरकार र गुठीचौर गाउँबासीका लागि तालिमको आयोजना गरेको हो। जुनसुकै विपद्मा पनि नेपाली सेना अग्रस्थानमा हुनुपर्ने विषयलाई मध्येनजर गर्दै गाउँगाउँमा अभ्यास थालिएको गणपति रायमाझी बताउँछन्। सो अभ्यासले विपद्मा परेका नागरिकको जीउँधनको सुरक्षामा ठूलो मद्दत पुर्‍याउने छ, उनले भने,‘विपद् कसैलाई सोधेर नआउने भएकाले सबैले सावधानी अपनाउन जरुरी छ। त्यसैका लागि यो अभ्यास गरिएको हो।’

गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिलाई नेपाली सेनाले सिकेको ज्ञान र सीप प्रदान गरिएको छ। गाउँमा घट्ने विपद्का घटनामा स्थानीय सरकार सबै भन्दा पहिले खट्नुपर्ने भएकाले तालिम र आवश्यक पर्ने स्रोत साधनका बारेमा जानकारी गराउन खोजिएको गणपति रायमाझीले बताउँछन्। यसअघि जुम्लाको सिञ्जा र तिला गाउँपालिकामा स्थानीयलाई सचेत गर्नको लागि अभ्यास भइसकेको छ।

विपद् परेको अवस्थामा समुदायमा रहेका साधारण जनतालाई प्रयोग गरी घाइतेको उद्धार गर्न दक्ष बनाउने उद्देश्यले विपद् प्रतिकार्य तालिमको प्रत्येक स्थानीय तहमा आयोजना हुँदै आइरहेको छ।  नन्दबक्स गणले चार वटा विपद्का घटनालाई प्राथमिकतामा राखेर सामुदायिक विपद् प्रतिकार्य तालिम दिँदै आएको छ।

गुठीचौर गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारी विपद्का बारेमा स्थानीय सरकारले गर्न सक्ने कामको बारेमा नेपाली सेनाले जानकारी गराएकोमा खुसी व्यक्त गर्छन्। सरकारले विपद्का घटनालाई न्यूनिकरण गर्नको लागि स्रोत साधन जुटाएको छ, उनले भने,‘ आवश्यक पर्ने सीप सेनाले दिएको छ। आगामी दिनमा हुने जुनसुकै विपद् न्यूनिकरण गर्न यो अभ्यासले सघाउ पुर्‍याउनेमा दुईमत छैन।’

विपद्का घटना न्यूनिकरणका लागि मानसिकतादेखि नै तयार रहनुपर्ने अहिलेको मुख्य आवश्यकता रहेकोमा जोड दिँदै अध्यक्ष भण्डारीले विपद्को पूर्व तयारीका लागि सरकार तयार रहेको जानकारी दिए। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज शर्माले विपद्का बेला स्थानीय स्रोत साधनबाट सामाग्री निर्माण गरि उद्धार गर्न सक्ने सीप सेनाले प्रदान गरिरहेको बताए।

विपद् व्यवस्थापन तथा न्यूनिकरणको लागि स्थानीय सरकार सचेत छ, उनले भने,‘ विपद्को समयमा आवश्यक पर्ने सामाग्री खरीद गरेर राखिएको छ। यो अभ्यासले प्रभावकारी प्रयोग गर्न राहत मिलेको छ।’ सडक दुर्घटना, आगलागी, भूकम्प र बाढी पहिरोबाट हुन सक्ने विपद्का घटनामा उद्धारका लागि उद्धारकर्ता तयार गर्न आयोजना गरिएको उक्त अभ्यास प्रभावकारी भएको उनी बताउँछन्।

बाढीपहिरो, आगलागी, सडक दुर्घटना र भूकम्पमा नागरिकहरुलाई कसरी जोगाउने, खोज तथा उद्धार कसरी गर्ने, प्राथमिक उपचार, घाइते तथा मृतकहरुको व्यवस्थापनका विषयमा जानकारी कसरी प्राप्त गर्ने विषयमा गम्भीर छलफल हुने गरेको छ। गुठिचौर गाउँपालिकाको प्राकृतिक बनाटवलाई मध्येनजर गरेर चार वटा प्याकेजमा अभ्यास सञ्चालन गरिएको नन्दबक्स गण जुम्लाले जनाएको छ।

पहिलो दिन सडक दुर्घटनाका घाइतेलाई उद्धार, दोस्रो दिन आगलागी नियन्त्रण, तेस्रो दिन भूकम्पका घाइतेको उद्धार, खोँचमा खसेका घाइतेको उद्धार र चौथो दिन बाढी पहिरोबाट बगाएका घाइतेलाई उद्धारका बारेमा अभ्यास गराउने कार्य नेपाली सेनाले गरिरहेको छ।

 

प्रकाशित: २१ माघ २०७६ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App