१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चिनी उद्योग अगाडि उपमेयर र वडाध्यक्ष नै धर्नामा

ईन्दुशंकर चिनी उद्योगको प्रशासन अगाडिनाराबाजीसहित धर्नामा बसेकी उपमेयर रेणुका पौडेल एवं बाँया छेउमै रहेका वडाध्यक्ष शेष मेहबुब रेजा (कालो टोपी लगाएका) सहितका स्थानीयबासिन्दा। तस्बिर ः टंक/नागरिक)

सर्लाही - ईन्दशंकर चिनी उद्योग हरिवनले प्रदुषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका छन्। स्थानीयबासीले आइतबार दिउँसो चिनी उद्योगलाई तीन दिने अल्टिेमेटम दिँदै ज्ञापन पत्र बझुाएका हुन्। तीन दिनभित्र उद्योगबाट भइरहेको धुलो धुँवा तथा छेउमै रहेको अमरावती डिष्टिलरीको गन्हाउने पानी नियन्त्रण नगरिए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिइएको छ।

चिनी उद्योगको प्रदुषण नियन्त्रणका लागि दबाव दिने उद्धेश्यले शनिबार दिउँसो स्थानीयबासीले संघर्ष समिति नै गठन गरेका थिए। आइतबार संघर्ष समितिको आव्हानमा हरिवन बजारमा विभिन्न नाराबाजीसहित -याली पश्चात हरिवन नगरपालिका कार्यालयमा पुगेको स्थानीयको जुलुसले उपमेयर रेणुका पौडेललाई ज्ञापन पत्रको बोधार्थ दियो। लगतै उपमेयर पौडेलकै नेतृत्वमा स्थानीयको जुलुसले ईन्दुशंकर चिनी उद्योग पुगेर धुलो धुवाँ एवं वातावरणीय प्रदुषण नियन्त्रणका लागि ज्ञापन पत्र बुझायो।

उद्योगका प्रशासन प्रमुखसहितका कर्मचारीहरुको खाना खाने समय परेकाले उद्योग प्रशासन कार्यालय अगाडि झण्डै एकघण्टा उपमेयर पौडेल, हरिवन वडा नं. ११ का वडाध्यक्ष शेष मेहबुब रेजा, वडा सदस्य सुकदेव कार्की, संघर्ष समितिका संयोजक सुरेश राज भट्टराईसहित स्थानीय बासिन्दा नाराबाजीसहित धनार्मा बसेका थिए।

उपमेयर पौडेलले उद्योगको प्रदुषण नियन्त्रणका लागि नगरपालिकाको तर्पmबाट पटक–पटक ताकेता गरिएको र आइतबार स्थानीयले ज्ञापन पत्र नै बुझाएपछि आफू पनि उद्योग सम्मै पुगेर ध्यानाकर्षण गराएको बताइन्। ‘चिनी उद्योगको धुलो र धुँवा अनि डिष्टिलरीको दुर्गन्धबाट वर्षौंदेखि स्थानीय बासिन्दा आजित भएका छन्’, उपमेयर पौडेलले भनिन्, ‘स्थानीयले तीन दिनको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका छन्, उक्त समय भित्र उद्योगले समस्या समाधानमा कुनै पहल नगरे, नगरपालिकाको तर्फबाट थप एक्सन सुरु गर्नेछौं।’

संघर्ष समितिले ईलाका प्रशासन कार्यालयमा समेत ज्ञापन पत्रको बोधार्थ बुझाएको प्रचार प्रसार समितिका संयोजक विनय न्यौपानेले जानकारी दिए। संघर्ष समितिका संयोजक भट्टराईका अनुसार चिनीमेल वरिपरी हनुमानचोक, बाँसाटोल, पाख्रीन टोल लगायतका बासिन्दा चिनी उद्योगको प्रदुषणबाट बढी पीडित हुँदै आएका छन्।

चिनी उद्योग चलेको समयमा चिम्नीबाट उड्ने धुलोले आजित बनाएको समितिका संयोजक भट्टराईले गुनासो गरे। ‘जति भन्दा पनि उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो दिएन’, संयोजक भट्टराईले गुनासो गरे, ‘अब कडा संघर्षमा उत्रनुको विकल्प रहेन।’ धुलो धुँवा नियन्त्रणका लागि पटक–पटक ज्ञापन पत्र बुझाएपनि चिनी उद्योग व्यवस्थापनले कुनै सुनुवाई नगरेको भट्टराईको गुनासो थियो।

चिम्नीबाट उड्ने कालो धुलोले धोएर सुकाएको सेतो लुगा कालाम्मे हुने, घरभरी कालो धुलाले छपक्कै बनाउने गरेको तथा घरभित्रै बसेर खाना खाँदा समेत भागभरी कालो धुलोले छपक्कै पार्ने गरेको संघर्ष समितिका प्रचार प्रसार समिति संयोजक विनय न्यौपानेले गुनासो गरे।

धुलो, धुवाँको प्रदुषण अनि चिनी उद्योग अन्तर्गतकै अमरावती डिष्ट्रिलरीबाट बाहिरिने फोहोर पानीको दुर्गन्धले स्थानीयमा स्वाशप्रस्वाश लगायत विभिन्न स्वास्थ्य समस्या देखिएको समितिका संयोजक भट्टराईको दाबी छ। ‘चिनी उद्योगले उत्पादन गर्ने मलको प्लाण्ट तथा डिष्ट्रिलरीबाट बाहिरिने फोहोर पानी गनाएर वरिपरीका गाउँमा बसिनसक्नु भईरहेको छ’, भट्टराइले भने, ‘अनि चिम्नीबाट उड्ने धुलो र धुवाँले सास फेर्नै गाह्रो भइरहेको छ।’

ईन्दुशंकर चिनी उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले स्थानीय बासिन्दाले प्रदुषण नियन्त्रणका लागि ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको बताए। ‘स्थानीयको मागप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘समस्या समाधानका लागि सक्दो प्रयासरत छौं।’

प्रकाशित: १९ माघ २०७६ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App