काठमाडौं - पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै काठमाडौंको माइतीघरमा कचौरा जुलुस गरिएको छ।
शनिबार कचौरामा पश्चिम सेतीको पानी राखेर ‘पश्चिम सेतीका लागि नागरिक अभियान 'बोलन्या थली' धनगढी’ले विरोध प्रदर्शन गरेको हो।
‘आश्वासन अति भो, धैर्य गर्ने कति हो?, आश्वासनका २२ वर्ष पश्चिम सेती कहिले बन्छ?, हिजो आशा मर्यो, आज जवानी मर्दैछ, भोलि सपना मर्नेछलगायत नारासहित कचौरा लिएर माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो।
दशकौँदेखि चर्चामा रहेको आयोजना निर्माणमा सरकार उदासिन भएको भन्दै कचौरा राखेर पश्चिम सेती निर्माणको माग गरिएको 'बोलन्या थली' धनगढीका संयोजक यादव जोशीले बताए। वर्षैदेखि आश्वासन मात्रै दिने काम भएको भन्दै आफूहरुले कचौरा लिएर आन्दोलन गर्नुपरेको जोशीले बताए। उनले भने, ‘‘आज कचौरा लिएर आन्दोलन गर्यौं। भोलि झोला लिएर आउँछौं। तर बडिम्बना नहोस कि त्यो झोलीमा हामीले बारुद लिएर आउन परोस्। पश्चिम सेतीको नाममा वर्षैदेखि राजनीति भयो। सुदूरपश्चिममा राष्ट्रिय गौरवको आयोजना नबन्ने किन?' प्रश्न गर्दै उनले थपे, 'यसको जवाफ सरकारले दिनुपर्छ।'
उर्जामन्त्री र प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइने उनले जानकारी दिए। त्यस्तै सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद, राष्ट्रिय सभा सदस्य र योजना आयोगका सदस्यहरु, नागरिक समाजका अभियन्ताहरुको उपस्थितिमा काठमाडौंमा ठूलो आम सभा गर्ने तयार समेत रहेको उनले बताए। सात सय ५० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने २२ वर्ष अघि निर्णय भए पनि अहिलेसम्म काम अघि बढेको छैन।
प्रकाशित: ११ माघ २०७६ १०:१५ शनिबार