४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तेह्र वर्षमा पनि तिरेनन् सहिद परिवारको पैँचाे रकम

लहानस्थित सहिद चोक तस्बिरःमिथिलेश/नागरिक

लहान - माघ ५ गते पहिलो मधेस विद्रोहले तेह्र वर्ष पार गरेको छ। तर मधेस आन्दोलनमा सहिद भएकाहरूको सालिक निर्माणका लागि सहिद परिवारबाट लिएको सापटी रकम अझै मधेसी दलले फिर्ता गरेका छैनन्। जनआन्दोलन ०६२/६३ अघि लहानको मुख्य चोकमा पूर्वराजा महेन्द्रको सालिक थियो। यो चोक महेन्द्र चोकको नामले परिचित थियो। जनआन्दोलनको सफलतासँगै आन्दोलनकारीले महेन्द्रको सालिक आन्दोलनकारीले तोडेर हटाए।

त्यसपछि सालिकबिहीन यो चोकको नाम लोकतान्त्रिक चोक राखियो। लोकतान्त्रित चोकको परिचय धेरै दिन टिक्न पाएन। अन्तरिम संविधान ०६३ जारी भएपछि त्यसमा असन्तुष्टि राखेर सुरु भयो मधेस विद्रोह ०६३। पहिलो मधेस विद्रोहको क्रममा लहानमा ५ जनाले सहादत पाए। सरकारसँग सम्झौतापछि सहादत प्राप्त पाँचैजनालाई सहिद घोषणा गरियो। सहिद परिवारलाई सरकारबाट १० लाख क्षतिपूर्ति प्रदान गरियो। लहानको लोकतान्त्रिकचोकमा पाँचै जना सहिदहरूको प्रतिमा राखेर चोकलाई सहिद चोक नामांकन गर्यो। जहाँ सहिद रमेश महतोसँगै, सहिद बेचन यादव, सहिद विजय सहनी, सहिद मोहम्मद अनिश र सहिद प्रमोद सदायको सालिक स्थापना गरिएको छ।

सहिदको सालिक बनाउन तत्कालीन मधेसी जनअधिकार फोरमका नेताले सहिद परिवारसँग रकम सापटी लिएका थिए। सरकारबाट पाएको क्षतिपूर्ति रकमबाट मधेसी नेताले पाँचैजना सहिद परिवारसँग एक लाखको दरले रकम पैचो लिएका थिए। पाँच जना सहिद परिवारबाट ५ लाख रुपैयाँ पैचो लिएर स्थापना गरेको सहिदको सालिकको रंग खुइलिसक्यो तर, सहिद परिवारले पैचो रकम अझै फिर्ता पाएका छैनन्।

सहिद प्रमोद सदायका बुवा बालेश्वरले छोरा सहिद भएपछि सरकारले दिएको १० लाख रुपैयाँमध्ये सलिक बनाउन एक लाख रुपैयाँ लिएको थियो। जसमध्ये ७० हजार अझै फिर्ता नपाएको बताउँछन् । तत्कालीन फोरमका जिल्ला नेताहरूले सालिक बनाउन लिएको एक लाख रुपैयाँमध्ये ०६५ सालमा मधेस बलिदानी दिवसको अवसरमा ३० हजार रुपैयाँ फिर्ता गरे पनि बाँकी रकम फिर्ता गरेका छैनन्, उनले भने । सदायको मात्र नभई पाँचै जना सहिद परिवारसँग लिएको सापटी(पैचो) रकम अझै फिर्ता नहुनुु बिडम्बना भएको पहिलो मधेस आन्दोलनका अगुवा कृष्णबहादुर यादवले बताए।

सहिद परिवारको गुनसो
माघ ५ गते पहिलो मधेस विद्रोहले तेह्र वर्ष पार गरेको छ। यो दिनलाई मधेस केन्द्रित दलले मधेस बलिदानी दिवसको रूपमा मनाउँदै आएका छन्। यही दिन (०६३) मधेस आन्दोलनको क्रममा लहानमा रमेश महतोले सहादत पाएका थिए। राज्यले महतोलाई मधेस आन्दोलनको पहिलो सहिद घोषणा गरिसकेको छ।

यो दिन लहानको सहिद रमेश चोकमा मधेसी नेता र सहिद परिवारको जमघट हुँदै आएको छ। तर, यस वर्ष प्रदेश २ सरकारले मधेस बलिदानी दिवस विरगञ्जमा आयोजना गरेको छ। जसकारण लहानको सहिद पार्क यो वर्ष सुनसान छ। सहिदहरुको प्रतिमामा माल्यार्पण गरी उनीहरुको योगदानलाई सम्झना गरिने सहिद बलिदानी दिवसको स्थान परिवर्तनले मधेस आन्दोलनका अगुवासँगै सहिद परिवार पनि निरास बनेका छन्।

सहिद रमेशका पिता रवि महतोले मधेसी नेताले सहिदलाई समेत बिर्सिन थालेकोमा दुःख व्यक्त गरे। ‘छोराको बलिदानी खेर गएजस्तो लाग्छ,’ उनले नागरिकसँग भने, ‘सहिदको सम्झनामा लहानमा मनाइने दिवसका लागि समेत मधेसी नेतालाई समय अभाव हुन थाल्यो,’ ०६३ को मधेस आन्दोलन सम्झँदै उनले भने, ‘म जस्ता धेरै पिताले पुत्र गुमाउँदा पनि अधिकार स्थापित भएन।’ मधेसी चेहराको सरकार गठन हुँदा पनि सहिद परिवारले परिवर्तन अनुभूति गर्न नपाएको उनको दुखेसो छ।

मधेस आन्दोलनको क्रममा ०६३ माघ ५ गते लाहानमा तत्कालीन नेकपा माओवादी कार्यकर्ताले चलाएको गोलीबाट रमेशको निधनको भएको थियो। त्यससँगै मधेस आन्दोलन उठेको थियो। ‘आन्दोलनबाट धेरै मधेसी नेताको उदय भयो उनीहरु स्थापित पनि भए, धेरै मन्त्री भए,’ रमेशका आमा रानोले गुनासो गर्दै भनिन्, ‘हम सब कि पौलियै, बौआके बलिदानी दुइर गेल बुजहाइय (खै त मधेसी जनताले के पाए त, रमेशको बलिदानी खेर गयो।’ मधेसी जनता अधिकारो ने पौलकै, आउर बेहाल बइनगेलै सुइन क दुःख लागैय (मधेसी जनताले अधिकार पाएका छैनन् झन बेहाल भएको सन्दा दुःख लाग्छ, उनले भनिन्।

‘जेना मुद्दाके सामाधान मधेस स दूर भेल जाइछै तहिना मधेसी नेता सेहो हमरा सब स दूर भेल जारहल छै (जसरी मधेस मुद्दाको सामाधान धकेलिदै गइरहेको छ त्यसैगरी मधेसी नेता हामीबाट टाढा गइरहेका छन्)’ सहिद प्रमोद सदायका पिता बालेश्वर सदायले सुनाए। बालेश्वर दम्पति प्रत्येक वर्ष माघ ५ गते आयोजना हुने बलिदानी दिवसमा लहान पुगेर छोरा(प्रमोद)को प्रतिमामा माल्यार्पण गरी आँसुको भारी बिसाएर मन हल्का गर्दै अएका छन्।

प्रकाशित: ५ माघ २०७६ ०१:५८ आइतबार

सहिद_परिवार मधेस_विद्रोह