२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पुनर्निर्माणकाे अन्तिम चरणमा सिन्धुपाल्चोक

सिन्धुपाल्चोक, जुगल गाउँपालिका–१ मा भूकम्प पीडितको लागि बनेको १९ घरधुरीको एकीकृत बस्ती । तस्बिर: ध्रुव/नागरिक

सिन्धुपाल्चोक- बिनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा निजी आवास निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पपछिका चार वर्ष आठ महिनामा झण्डै ८७ प्रतिशत आवास पुनर्निर्माण सम्पन्न भएको हो।

पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) का व्यवस्थापक लक्ष्मण सेठले आगामी आर्थिक वर्षको असारमा निजी आवास पुनर्निर्माण सक्ने लक्ष्य लिइएको बताए। ‘अहिलेकै गतिमा पुनर्निर्माणले तीव्रता पाए बाँकी १३ प्रतिशत आवास पुनर्निर्माण आउँदो असारभित्र सकिने देखिन्छ,’ उनले नागरिकसँग भने।

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) को तथ्यांकअनुसार पुस मसान्तसम्म ७७ हजार नौ सय ४२ घरको पुनर्निर्माण भएको छ। यो भूकम्प प्रभावित लाभग्राही संख्याको ८६.७४ प्रतिशत हो। पुननिर्माण सम्पन्न गरेका झण्डै दुई हजार आठ सय पीडित तेस्रो किस्ता अनुदान पाउने प्रक्रियामा छन्। आठ हजार आठ सय ४१ घरको पुनर्निर्माण जारी छ। त्यसमध्ये सात हजार आठ सय १६ आवास पुनर्निर्माण अन्तिम चरणमा पुग्दा झण्डै एक हजार घर भर्खरै बनाउन सुरु गरिएको छ।

सिन्धुपाल्चोकमा हाल ८९ हजार आठ सय ५४ लाभग्राही कायम छन्। यसमा रेट्रोफिट (मर्मत) गरिनुपर्ने ६ सय ५० घर समेटिएका छन्। ८६ हजार सात सय ८३ ले पहिलो र ८३ हजार दुई सय ७३ ले दोस्रो र ७५ हजार एक सय ७४ ले अनुदानको तेस्रो किस्ता लिइसकेका जिमालीको तथ्यांक छ। पहिलो किस्ता अनुदान पाउने प्रक्रियामा रहेका तीन हजार ७१ आवासको मात्र पुनर्निर्माण सुरु हुन बाँकी देखिन्छ।

भूमिहीन, विस्थापित र जग्गा किचलो भएका पीडितले आवास पुनर्निर्माण थाल्न नसकेको जिल्ला आयोजना व्यवस्थापक सेठ बताउँछन्। जिल्लामा एक सय ९७ परिवार भूमिहीन लाभग्राही रहेकोमा ३६ को मात्र कायम भएको छ। त्यसमध्ये एक परिवारले मात्र जग्गा प्राप्ति गरेका छन्। त्यस्तै नौ सय १३ परिवार बिस्थापितमध्ये तीन सय तीनले मात्र जग्गा प्राप्ति गरेर आवास पुनर्निर्माण गरिरहेका छन्। ६ सय १० बिस्थापित जग्गा प्राप्तिको प्रक्रियामा छन्। उनीहरुले आवास निर्माण थाल्न सकेका छैनन्।

बिनासकारी भूकम्पको एक वर्षपछि २०७३ वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट निजी आवास पुनर्निर्माण अभियानको थालनी गरेका थिए। त्यसपछिका तीन वर्ष आठ महिनामै दुई तिहाईभन्दा बढी आवास पुनर्निर्माण भएका हुन्।

११ सय लाभग्राही थपिए
पुनर्निर्माण प्राधिकरणको पछिल्लो निर्णयबाट जिल्लामा एक हजार एक सय १ लाभग्राही थपिएका छन्। पुनःसर्वे र छुट सर्वेबाट लाभग्राही थपिएका हुन्। प्राधिकरणले पछिल्लो पटक गएको जेठमा छुट र पुनःसर्वे गरेको थियो। सर्वे गरिएका १८ हजार सात सय २० ले गुनासामध्ये प्राधिकरणले १२ हजारको पछ्यौट गर्दै लाभग्राही कायम गरेको व्यवस्थापक सेठले जानकारी दिए। अझै ६ हजारभन्दा बढी गुनासाको निर्णय गर्न बाँकी रहेकाले लाभग्राही अझै केही थपिन सक्ने उनको अनुमान छ।

 

 

प्रकाशित: ४ माघ २०७६ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App