१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कारबाहीका लागि निर्देशन

अम्बिकादेवी सामुदायिक वनमा जथाभावी काटिएका रुख । तस्बिरः गणेश/नागरिक

वीरेन्द्रनगर- वीरेन्द्रनगर–११ स्थित धोद्रेसालदेखि नाराढिकसम्मको चक्रपथ खण्डमा जथाभावी रुख काट्नेलाई कारबाही गर्न डिभिजन वन कार्यालय सुर्खेतले निर्देशन दिएको छ। सवडिभिजन कार्यालय वीरेन्द्रनगरलाई कारबाहीका लागि निर्देशन दिइएको हो।

एकसाता अघि अम्बिकादेवी सामुदायिक वनका करिब पचासभन्दा बढी रुखहरू जथाभावी कटान गरिएको थियो। अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले सडक छेउका मसिना, थोत्रा र कुहिन लागेका काठ काटेको दाबी गरेको छ। तर ती काटिएका रुखका ठेली हेर्दा रुख मसिना र थोत्रा नभई राम्रा रुख भएका देखिन्छन्। रुख कटानी भएको समाचार नागरिक दैनिकको नेपालगन्ज संस्करण र नागरिक दैनिकको अनलाइनमा प्रकाशित भएपछि डिभिजन वन कार्यालय सुर्खेतले अनुसन्धान गर्न सवडिभिजन कार्यालय वीरेन्द्रनगरलाई निर्देशन दिएको थियो।

सवडिभिजन कार्यालय वीरेन्द्रनगरले अनुसन्धान प्रतिवेदन बुझाए पछि थप कारबाहीका लागि विस्तृत अध्ययन गर्न पनि डिभिजन वन कार्यालयले निर्देशन दिएको छ। विस्तृत अनुसन्धान भएपछि कसलाई कस्तो प्रकारको कारबाही हुने डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द दाहालले बताए। उपभोक्ता समितिले भने यो नियतवस नभई रिङरोड निर्माणका लागि सडक छेउछाउका थोत्रा, पुराना र साना झाडी काटेको बताएको छ।

२०५२ सालमा स्थापना भएको उक्त सामुदायिक वन उपभोक्ता समूहमा ६ सय १० जना सदस्य छन्। उक्त वन क्षेत्र एक सय ३९ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

 

प्रकाशित: ४ माघ २०७६ ०८:२० शनिबार

रुख_कटानी_प्रकरण कारबाही