७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ऋण तिर्न नसक्दा आत्महत्या

नदीमा हेलिनुअघि खोला किनारमा छाडेको झोला।

धादिङ – ऋणले अत्तालिएपछि काठमाडौं थानकोटका विनय लामिछानेको चारजनाको परिवार बिहीबार साँझ त्रिशूली नदीमा हेलिएको छ। सामूहिक आत्महत्या गर्न लामिछाने दम्पती दुई छोरासहित धादिङ बेनिघाटबाट त्रिशूली नदीमा हेलिएका थिए। नदीमा हाम फालेका विनयको स्थानीयले उद्धार गरेका छन् भने उनकी पत्नी २७ वर्षीय जमुना रेग्मी लामिछानेको मृत्यु भएको छ। दुई वर्ष र ६ महिनाका दुई छोरा बेपत्ता छन्।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटस्थित विनयको घरबाट प्रहरीले ‘सुसाड नोट’ फेला पारेको छ। ऋणका कारण परिवारसहित आत्महत्या गर्ने निर्णय गरेको सुसाइड नोटमा लेखिएको प्रहरीले जनाएको छ। मिटरब्याजमा लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेपछि दुई छोरासहित पति–पत्नी त्रिशूलीमा हेलिएको प्रहरीको भनाइ छ।

पतिको उद्धार, पत्नीको मृत्यु, दुई छोरा बेपत्ता

मकवानपुरको चित्लाङमा जन्मेका विनय थानकोटमा बस्दै आएका थिए। लामिछानेले ऋण लिएर काठमाडौं तीनकुनेस्थित कमोडिटी अनलाइन व्यापारमा सेयर लगानी गरेको खुल्न आएको छ। सेयर लगानी गर्न विभिन्न व्यक्तिबाट मिटर ब्याजमा करिब दुई करोड रुपैयाँ ऋण लिएको सुसाइड नोटबाट पत्ता लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहीबार सुसाइड नोटमा ऋण दिने व्यक्तिहरूको नाम र तिर्नुपर्ने रकम उल्लेख छ। सुसाइड नोट घरमा छाडेर लामिछाने दम्पती छोराहरू लिएर धादिङ आएका थिए।

आफन्तका अनुसार सानो छोराको शुक्रबार भात खुवाइ (पास्नी) थियो। घरमा सुत्केरो परेकाले जमुनाको माइतीमा पास्नी गर्ने योजना अनुरुप उनीहरु बिहीबार नै धादिङतर्फ हिँडेका थिए। आदमघाट बजारस्थित माइती घर नझरीकन उनीहरु बेनिघाट रोराङ गाउँपालिका–४, बाँदरेमोड भन्ने ठाउँमा ओर्लिएका थिए। खोला किनारमा प्रहरीले भेटेको झोलामा पास्नीका लागि ल्याइएका कपडा र हातमा लगाउने वाला छन्।

जमुनाको शव फेला परेको ठाउँमा मुचुल्का गर्दै इलाका प्रहरी कार्यालय गजुरीको टोली।

त्रिशूलीमा हेलिनुअघि लामिछाने दम्पतीलाई देखेकी बाँदरेमोडमा होटल चलाउने बदनकुमारी श्रेष्ठका अनुुसार सिमसिम पानीमा बच्चा बोकेर उनीहरू यताउता गरिरहेका थिए। ‘मेरी बहिनीको घरमा उनीहरुले दूध तताएर सानो छोरालाई खुवाए। दूध उनीहरूले नै ल्याएका थिए। छोरालाई दूध खुवाएपछि झोलुंगे पुल तरेर उनीहरु त्रिशूली पारी गएका थिए’, उनले भनिन्, ‘एकै छिनमा त्रिशूलीले मान्छे बगायो–बगायो भन्ने हल्ला आयो, हत्तपत्त स्थानीय कायक लिएर दगुरे, खोलामा तीनै दम्पती पो छोराछोरीसहित हेलिएका रहेछन्।’

स्थानीयले जीवितै उद्धार गरेका विनयलाई धादिङ प्रहरीले नियन्त्रण लिएर अनुसन्धान थालेको छ। विनयले बेनीघाट र गोरखा जोड्ने त्रिशूलीमाथिको झोलुंगे पुल तरिसकेपछि सपरिवार त्रिशुलीमा हेलिएको बताएको जानकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए। ‘विनयले व्यवसायमा घाटा र धेरै ऋण लागेपछि आत्महत्याका लागि परिवारसहित नदीमा हेलिएको बयान दिएका छन्’, रेग्मीले भने, ‘विनय इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।’

विनयकी पत्नी जमुनाले फेसबुकमा पुस १९ गते आफ्नो नाम अंग्रेजीमा उल्टो बनाएर लेखेको स्टाटसमा मिटर ब्याजमा लिएको ऋण र त्यसको ब्याज भुक्तानी गर्न साहुले दबाब दिएको उल्लेख गरेकी छन्। जमुनाले चलाएको ‘इम्गिर अनुमाज’ नामक फेसबुक एकाउन्टमा जनवरी ४ मा मिटर व्याजमा पैसा लगाउने, ऋणीले भनेको समयमा तिर्न नसके दोब्बर, तेब्बर बनाउने अनि ऋणीलाई मर्न बाध्य बनाउने गिरोहलाई कारबाही गर्न फेसबुकमार्फत थानकोट प्रहरीलाई आग्रह गरेकी थिइन्।

विनयलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताए। प्रहरीका अनुसार नदीमा बेपत्ता दुई बालकको खोजी कार्य जारी छ। त्रिशूलीको पानी धमिलो भएको र वर्षा भइरहेकाले खोजीमा कठिनाइ भएको छ।

प्रकाशित: ४ माघ २०७६ ०१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App